कथा : आफ्नै परिभाषाको फटाहा भएँ

~डा. सबिता सुबेदी~

सितल बिहानीमा लट्ठ खुल्न नसकेका आँखा बुढीको किचकिच संगै खुले | “ अरुका बुढा कति जाँगरिला टाईफाईका छन् | आफ्ना बुढा भने केहि न केहीका ल्यांग छन् | यस्ता बुढा पर्नु भन्दा त बुढी कन्ने बस्नु ठिक | ए भगवान ! कस्ता नामर्द संग बिहे गरेछु नि ?”

एस.एल सी. पास गरेको म स्कुलको नेपाली मास्टर थिए | खाना खै ओरि स्कुल तिर लाग्ने तयारी गर्दा सट को कलरमा कालो मैलो काठ देखे तर कलर फर्काउदा चाहीँ नदेखिनेमा ढुक्क थिए | भुड्के कान्छाले सिलाएको पाइन्टको जांग घुंडा घुडा सम्म आउने र हिड्न अप्ठ्यारो भएकोले माथि लगेर बेल्टले कस्न खोज्दा दुब्लो दुब्लो शरीरलाइ बेल्टको प्वालले नपुग्ने भएकोले अर्को प्वाल पनि थपे | अब चाहि पाइन्ट फुस्किने डर लागेन किनकि मेरो पाइन्ट कसिएर फरक जस्तै मुजा मुजा परेको थियो | कपालमा तोरीको तेल लगाएर जानु इच्छा लागेकोले बोत्तलबाट तेल खानाउदा धेरैनै आएको थियो | कालो कपालमा लगाए र काइयोले बीचमा सिउदो बनाए | अगाडीपट्टिको कपाल अलिकति घुम्रिएकोले जति कोरे पनि चट्ट संग मिल्न सकेको थिएन | जति कपाल कोरे पनि सिदा नहुने र जति राम्ररि मिलाएपनी भएपनि बुढीले राम्रो नभन्ने कारणले कपाल त्यत्तिकै छाडिदिए | मोजा किन्छु किन्छु भन्दा भन्दै २४ महिना बितेको थियो | मोजा लगाउदा ठिक्क होलानी भनेर छालाको जुत्ता २ बर्ष अगाडी किनेको मोजा नभएकाले उकाली ओरालीमा फुस्किने समस्याले गर्दा सचेत भएर हिड्थे | अघिल्लो दिन स्कुलबाट हिड्दा हरेक पाइलामा केहि कुराले घोचे जस्तो भएको सम्झिएर जुत्ता टकटकाउदा साना साना गीटिहरु जुत्ताबाट यसरि खसेकी मानौ मेरो जुत्ता तिनै गीटि हरुको संग्रहालय थियो | जुत्तालाइ दाया बाया तल माथि हेरे | काही पनि प्वाल परेको चाही रहेनछ | प्वाल नै परेको भए पनि तत्काल जुत्ता किन्ने मोडमा चाही थिइन | घर बाट बाहिर निस्किने बित्तिकै कलम र छाता बिर्सिएकोले बुढी संग मागे |

बुढी कराउदै आइ “ केहि कुराको ठेगान छैन त्यो छाता माझी कोठाको खोपीमा राख्नु भन्यो | कहिले कता कहिले कता राख्ने | यी हेरत मुसाले काटेछ |”

धन्न मुसाले पनि जानेर छेउमा काटेकोले, पानी पनि नपरेकोले छाता काखीमा च्यापेर म खुसि हुदै स्कुलतिर लागे | बाटोमा रामे सर भेट भयो | जसको लुगालाई र जुत्तालाइ कहिल्यै पनि हेरेको थिइन | तर मेरो बुढीले उसको लगाई र टाठोपनाको बयान सधै गरेको सम्झेर मैले पनि त्यो दिन पुलुक्क उसको पाइन्ट र जुत्ता हेरे | हातले छुदा तिखो कोप्ने जस्तै अगाडी र पछाडी धार बनाएको थियो | जुत्ता पनि घाममा पर्नी बित्तिकै टलक्क टल्केको थियो | पुरै हात हल्लाउदै मस्त संग गफ दिइरहेको थियो | बेलाबेलामा आफ्नो कपाल मिलाउथ्यो | मेरी बुढीलाइ रामे, हिरो भन्दा कम लाग्थेन |

मलाई त्यो दिन कक्षा एकका बिधार्थी हेर्न हतार भएकोले रामेको कक्षाको पालोमा म गए | त्यो दिन कक्षा एकका नानीबाबुका पनि लुगा तिर नजर घुमाए | मेरी बुढीले सधै मेरो दिमाग र लुगालाइ कक्षा एकका सिगाने बच्चा संग तुलाना गर्थी | केहि कुरा ति बच्चा संग मिले पनि म शिक्षक तर तिनीहरु बिधार्थी, यो कुरा चाहि मिल्दैनथ्यो | तर पनि ति बच्चा संग रिस चाहि उठेको थियो | केहि प्रश्न सोधेर नजानेको निहुमा तिनीहरुलाई कुखुरा बनाएर राखिदिउ जस्तो लाग्यो | जहिले एउटा कुरा सपना देख्थे | सपनामा भगवान शिब देख्थे | केटाकेटीको विश्लेषण गर्ने शक्ति हुदैन भनेर मैले भन्दा भगवान भन्नुहुन्थ्यो “ बच्चाले पनि आफ्नै तरिकाबाट विश्लेषण गर्दछ | उनीहरुले मनबाट गर्दछन भने ठुला मान्छेले मन र दिमागबाट गर्दछन | ठुला मान्छेको मन र दिमागबाट विश्लेषण हुने हुदा धेरै दोधारमा पर्न सक्छन | तर बच्चाले मनबाट गर्ने हुदा एक चोटी उनीहरुले सत्य मानेको चिजलाइ हामीले असत्य बनाउन धेरैनै गाह्रो हुन्छ |”

यहि सपना देखेबाट बच्चालाइ धेरै माया गर्नुपर्छ भन्ने सिकेको थिए ताकि उनीहरुले पछी सम्म मलाई माया गर्ने शिक्षक भनुन भन्ने लाग्थ्यो | तर उनीहरु रामेले पढाउने कक्षामा भने शान्त भएर बस्थे भने मेरो कक्षामा हल्ला गरेर मैले कतिपटक प्रध्यानाधापकबाट गालि खानु पर्थ्यो | सधै हिड्ने बेलामा नानीबाबुहरुलाई अनुशाशित ,असल ,ज्ञानी बन्नुपर्छ भनी सिकाउथे | तर त्यो दिन बिहानै बुढीले फटाहा टाठो होउ भनि किचकिच गरेको सम्झेकोले असल ज्ञानी शब्द प्रयोग नगरी कक्षाबाट निस्किए |

घर पुगी भान्छामा छिरेर , चिया बनाइ बुढीलाई बोलाए | बुढीले छिन छिन छुरा बजाई | उसको चुरा हेरे | मेरो अगाडी आएर उभिई | म भने अगाडी बाटो नभएकाले छेउको कुर्चीमा गएर बसे |मैले ९ महिना देखि पुरानो रेडियो बिग्रिएर नयाँ किन्न नसकेको रेडियोको कमि नहुनी गरि बुढी कराई “ अरूका बुढा चाहि जस्ता नराम्रा बुढीको पनि कति राम्री भनेर प्रशंशा गर्छन | आफ्नो त घोइरे बुढो केहि प्रसंशा गरिदिन्छ कि भनेर आश गर्नु बेकार छ |”

म भने उसलाई बनाएको चिया खेर जान्छकी भनेर पुलुक्क बुढी तिर हेरे | ओठमा रातो लिपस्टिक र अनुहारमा पाउडर घसेकि रहिछे |मैले भने “ राम्रो देखेछ |” यति भनेपछि उसले चिया पिई |

बेलुका खाना खाने बेला भयो | काउलीको तरकारीमा झोल हालेको थियो | धेरै जसो मैले बनाउने बेलुकाको खाना आज बुढीले बनाइ | खाना खाने बेलामा बुढी गुनासो गर्दै थिइ “ हेर बुढा धेरै सोझो हुनुहुदैन , सबैले हेप्छन | स्कुलमा पनि तिमीलाई पान्तुरे मास्टर भन्छन | कसैले गालि गर्छन भने बेस्सरी हम्म डम्म गरेर थर्काउ | उ त्यो घरको फिस्टे श्यामेले पनि तिमीलाई हेप्छ | मलाई त ब्यान्ग्रे कि बुढी अरे ! मलाई कति चित्त दुख्यो होला ? जुन श्रीमतीलाईनी बुढाको प्रशंशा सुन्न मन लाग्छनी | तिमीलाई त ससुराली जाँदानी ममीबाबाले अरु भिनाजुलाई जस्तो धेरै परिकार नबनाई झोल हालेर तरकारी र भात खुवाउछन् | यो जमाना फटाहा को हो | सोझा साझा बाच्न नसकिने जमाना आएको छ | अन्याय सहनु हुदैन | हिड्दा पनि लुत्रुक्क परेर नहिड | छिटो छिटो हिड्नुपर्छ बुझेउ | आज देखि बाहिर सबै संग बोलेर टाठो होउ |”

बुढीको परिभाषामा फटाहा चाहि टाठो , अन्याय नसहने र राम्रै लुगा लगाउने भन्नि थियो |तर म नेपाली शिक्षक भएकोले मेरो फटाहा शब्दको अर्थ बुढीको फटाहको अर्थ संग मेल खान्थेन | तर पनि बुढीलाई जित्न नसक्ने भएकोले सुनिरहे |त्यो दिन उसले धेरै कुरा सिकाइ | म पनि भोली बिहानै रामे मास्टर को मा जान लागे जसको बारेमा बुढीले प्रशंशा गर्थी |

बाटोमा जादै थिए मन र दिमाग बीच द्वन्द हुन पुग्यो |

दिमागले भन्थ्यो “ मैले कतै रामले मेरो घरको समस्या भन्दा मलाई नै गिज्ज्ययो भने ? उ त राम्रो पो छ त ? होइन म जान्न |” मेरा पाइला त्यहि अडिए |

मनले बोल्यो “होइन होइन उसले त्यस्तो गर्दैन | उ मेरो साथि हो | |” फेरी मैले २ पाइला अगाडी बढाए |

फेरी दिमाग बोल्न थाल्यो “उसले ल गरेन भनेपनि बुढीलाई बेलुका पक्का सुनाउछ | त्यसकी बुढी दिन भरि घरमा बस्छे | गाउँमा कुरा लाएर गाउँ नै हल्लाउने त्यसकी बुढी छे | भोलिदेखि गाउँमा हाम्रै चर्चा चल्यो भने | चर्चा पनि नराम्रो चर्चा फेरी | भो जान्न |”

मेरा पाइला पुन अडिए |

फेरी मनले भन्यो “ म परिवर्तन हुनु छ | घरमा शान्ति ल्याउनु छ | बुढीको माया पाउनु छ | म जानै पर्छ |”

अन्त्यमा मनले जित्यो र मेरा पाइला रामेको घर तिर बढे |

रामे बाहिर पिंडीमा काम्लो ओछछाएर बुढी संग भलाकुसारी गर्दै थियो | फेरी उसैको कपडा हेरे | तर स्कुल गए जस्तो धार भएको पाइन्ट थिएन | खुट्टामा त जुत्ता त परै जाओस चप्पल पनि लगाएको थिएन |

उसकी बुढी कारिन्दाले मुडा ल्याएर दिई | उसको लुगा र खुट्टा हेरे |खुट्टामा पिटपिटे चप्पल थियो | फरिया चाहि निलो रंगको भुइमा राता गुलाबको बुट्टाहरु थिए | म केहि चिज हेर्यो भने कता कता हराउने मेरो कमजोरी पनि त्यहाँ भएछ | म कारिन्दाको धोतीको बुट्टामा टोलाइरहेको रहेछु | म त्यो बेला झस्के जब रामेले बुढीलाई चिया बनाउन भन्यो र कारिन्दा त्यहाँबाट हिंडी|

कारिन्दा चिया पकाउन भान्छा तिर छिरी | बाटोमा त्यहि बेला नयाँ महिला हाम्रो गाउँमा छिरेका थिए | उनीहरुलाइ देख्दा यस्तो लाग्योकि उनीहरु सहरबाट आएका थिए | छोटा छोटा कपडा र अग्ला जुत्तातिर आँखा गयो | जहिले बुढीले लुगा र जुत्ताको कुरा जो गर्थी | त्यहि कारणले पनि मलाई कोही देख्ने बित्तिकै उसको जुत्ता र कपडा मै ध्यान जान्थ्यो |

एक जना महिलाले प्वाक्क बोली “ए दाजै स्याउलिबांग जाने बाटो कुन हो ?” | अघि सम्म काम्लोमा लडेर सुतिरहेको रामे जुरुक्क उठ्यो | उत्सुकता पुर्बक उनीहरुको प्रश्नको उत्तर यसरी दियोकि महिलाहरुलाइ हाम्रो गाउँका मान्छेले पाहुनाहरुलाइ राम्रो स्वागत गर्छन भनि स्पष्ट संग भन्न मिल्थ्यो |

पुरै हात हल्लाएर हाउभाउका साथ बोलिरहेको रामे मेरी बुढीले खोजेको टाईफाईसंग मिल्न जान्थ्यो | बेला बेला पुलुक्क भान्छा तिर पनि नजर लगाउन भियाउथ्यो | केहि समस्या पर्यो भने र राम्रो सुन्दर ठाउँ घुम्न कतै मन लाग्यो भने उसलाई सम्झिन आग्रह गर्दै थियो | यत्तिकैमा कारिन्दाले चिया लिएर आइ | रामे तुरुन्तै ति महिलाहरुलाई बिदाबादी गरायो |

मैले चिया पिए | चिया मैले बनाएजस्तो कैले चिनी कैले चियापत्ती नआएजस्तो थिएन | हरर लुआंग सुकमेलको जस्तो बास्ना चियाबाट आइरहेको थियो |

रामले बोल्यो “ सुन्दरलाल , तिमीलाई मेरो बुढीले बनाएको चिया मिठो लाग्यो कि आफ्नी बुढीले बनाएको ?”

सुन्दरलाल नाम मेरो हजुरबुबाले राखिदिनुभाकोरे | यही नाम ले गर्दा नाम र मान्छे मिलेन भनेर मलाई धेरैले गिज्याउथे | कुरा रह्यो चियाको | बुढीले बनाएर चिया त कहिल्यै पिउन पाएको थिइन |

मेरो उत्तर नआउदै धेरै बोल्नुपरनी रामे बोल्यो “ हरेक श्रीमानलाइ आफ्नी बुढी को केहि चिज पनि मन पर्दैन भन्छन | कसो सुन्दरलाल ? तिमीलाई पनि आफ्नी बुढीको चिया भन्दा यहि मिठो लाग्यो होला है ?”

मैले उत्तर दिए “ दुबैको मिठो छ |”

मलाई भन्न त मन थियो कारिन्दाले बनाए जस्तो चिया मेरो जिब्रोले चाख्ने पाएको थिएन | तर अर्को अर्थ लाग्ने भएकाले मैले बनाएको खल्लो चियाले पनि मनबाट नभनेनी मेरो मुखबाट चाहि प्रशंशा पायो |

रामेले मेरो घरको चिया पिउन मन लागेको कुरो गर्दै थियो | मैले तुरुन्त कुरा मोड्दै उसलाई केहि पर आउन लगाए | मलाई मेरो दुख रामे संग भन्नु थियो | मलाई पनि बुढीको परिभाषाको फटाहा बन्नु थियो |

सबै कुरा भनेपछि उसले मलाई बैठक कोठामा लग्यो | ढोका लगायो र मलाई बोल्ने तरिका सिकायो | धेरै पटकको प्रयाश पछी रामेको परिक्षा पास गरेको थिए | अलिकति खुसि हुदै म घर तिर लागे |घर पुगेपछि रामेको फोन नम्बरको राम सर भनि राखेको नाम हटाइदिए | केहि बेरमा मेरो फुच्चे मोबाइलमा घन्टी बज्यो | रामेको फोन थियो म दौडिएर बरण्डामा गए | बुढी भैंसीलाई पराल हाल्दै थिइ | म चिच्चाएर बोले | त्यो दिन रामेलाई बेस्सरी गालि गरे मानौकी उसले धर्तिनै भासिने गल्ति गरेको थियो | ठुला ठुला फुर्ति लगाउदै पिट्न बेर नलगाउने धम्कि दिदै तर्साएको थिए | गाली फोनमा दिए पनि मेरो ध्यान बुढी तिर थियो | मेरो सबै गालि बुढीलाई सुनाउनु थियो |

बुढी अचम्म संग मलाई हेरेकी थिइ | पराल दीओरी मेरो नजिक आइ बुढी सोधी “ के भयो बुढा ? बेस्सरी चिच्च्यौता ! कसले क गर्यो ?”

मैले भने “ हेरन नया नम्बर बाट फोन आएको थियो | तेरो बुढी त काम नालाग्नी भन्दै के के भन्दै थियो | अझ नराम्री पनि भनेको थियो |आफ्नो बुढीलाई यस्तो भन्दा कुन बुढाले सहन्छ भनत ? सहन सकिन त्यै भर गालि गरेको |”

रामेले यतिनै सिकाएको थियो | त्यसपछी शब्द आएन र चुप्प लागे |बुढी खुसि हुदै अँगालो यसरी मारीकि मैले त्यस्तो मायाले भरिएको कसिलो अँगालो कहिल्यै देखेको थिइन | उसले भनि “ बुढा तिमि बल्ल केटा मान्छे जस्तो भयौ |”

म खुसि भए र दौडिएर रामेकोमा गए | “राम सर धन्यबाद | कार्यक्रम सफल भयो |“

रामे मुसुक्क हास्यो र ढाडमा हानेर स्याबशी दियो | उसले बेस्सरी खुसि हुदै हानेको दुखेको थियो तर मलाई त्यसले प्रभाब पारेन |

आज मलाई रामे भगवान जस्तै लागेको थियो | उसले गर्दा जिन्दगी भर नपाएको बुढीको माया र मिठो बोली त्यो दिन पाएको थिए |

स्कुल जाने बाटोमा रहेको लुगा सिउने कालेदाइकोमा लग्यो | रामले दमाईलाई राम्रो ड्रेस सिलाउन लगायो | बजार गएर मोजा किने | जुत्तामा लगाउने पालिश पनि किने | त्यो ड्रेस कहिले लगाउ जस्तै भएको थियो |

प्रतिक्षा गर्न बहुत गाह्रो भएको थियो | नभन्दै लुगा पनि तयार भयो | तर त्यो दिन शनिबार थियो |

भोलि आइतबार को प्रतिक्षा गर्दै म निदाए |

भोलि बिहानै सबेरै उठेर दारी फाले ,नुहाए |

बुढीले म नुहाउदा चिसो भयो ठानेर चिया बनाएर ल्याई | उसले बनाएको पहिलो चिया सार्हैनै मिठो लाग्यो | सायद बुढीको माया मिसिएर होला | ल्वांग सुक्बेल बिना पनि कारिन्दा को चिया भन्दानी मिठो लाग्यो |

रामेकै हाउभाउ देखाउदै चट्ट ड्रेस लगाए | म हिजोको सुन्दरलाल को बानी बिस्तार बिस्तार परिवर्तन भैरहेको थियो | बुढीले पनि खुसि हुदै त्यो दिन देखि स्कुल जाने बेलामा गालामा माया गर्थी |

बिस्तारै पोशाक र हाउभाउ परिवर्तन देख्दा स्कुलका बिद्यार्थी र शिक्षक केहि दिन त अलमल्ल परे | तर बिस्तार बिस्तार सबै कुरा सहज हुन थाल्यो | अचम्मको कुरा चाहि के थियो भने हिजो सम्म स्कुलमा हुने गतिबिधि केहि थाहा नहुने मलाई त्यसपछि भने स्कुलका हरेक नया काम गर्दा शिक्षक र बिधार्थीले सुझाब र सल्लाह म बाट लिन थाले |

रामे र मेरो फोन बार्ता भानौकी झगडा भने चलिराख्थ्यो | उसको मोबाइलमा पैसा हालिदिने जिम्मा चाहि मेरो थियो |

तर एक दिनको कुरो हो | रामले मलाई फोन गरेन | पछी थाहा पाएकी रामलाई त महिला दुव्यवहारको केश मा पुलिसले लिएर गएछन | केहि पहिला भेटेका ति सहरिया नानिहरुलाई घुमाउन लैजादा दुर्ब्यबहार गरेको रहेछ | म थानामा गए | एउटा अध्यारो कोठामा बसेको रामे मलाई देख्नी बित्तिकै जुरुक्क उठ्यो | उसले मलाई निकाल्न भन्दै थियो | म धर्मसंकटमा परे | उसले मलाई सहयोग गरेको थियो तर उसले गरेको काम सार्है नै नराम्रो भएकाले त्यहाँबाट नबोली लागे |

घरमा पुग्ने बित्तिकै मेरी बुढी आत्तिदै आएर मलाई अंकमाल गरि | आज उ बेस्सरी डराएकी थिइ |उसको हिरो रामे पुलिस थानामा थियो |

केहि समयपछि बुढी बोलि “ सर मैले हजुरलाई धेरै पटक रामेको उदाहरण दिए | मलाई अहिले डर लागिरहेको छ| तपाइँ जुन पहिला हुनुहुन्थ्योनि त्यस्तै ज्ञानी सोझो हुनु है | मलाई फटाह बुढो चाहिदैन |”

तर म भने बुढीले भनेको फटाहा मात्रै नभैकन मेरो परिभाषाको फटाहा , आफ्नी जिबन संगिनी जो संग पुरै दुख सुख को समय बिताउनु थियो उनैलाई झुट बोल्ने एक नम्बरको फटाहा भैसकेको थिए |

मलाई बुढी संग भलाकुसारी गर्न त मन लागेको थियो | उसलाई सबै सत्य भन्न मन पनि लागेको थियो | तर फेरी बुढी संगबाट पाएको माया प्रेम फुस्किएर घृणा पाउछु कि, शान्ति छाइसकेको घरमा फेरी बिहानै सबेरै देखि किचकिच सुरु हुन्छ कि , यस्तो झुट लुकाएको भनि अर्को लफडा हुन्छ कि भन्ने डरले रामेको र मेरो नाटक बुढी सामु कहिल्यै भन्ने आँट आएन |

– डा. सबिता सुबेदी
चितवन

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.