~ललिता कार्की~
डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला
लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला
बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला
साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला
भत्किएछन् पाटीपौवा मेरो बाटो हेर्दा हेर्दै
लोलाएछन वरपिपल मेरै आश गर्दा गर्दै
सुक्दैछन् पंधेरी र पोखरीका मूल पनि
घट्दैछन् धनको आशमा तन्नेरीका हूल पनि
भन्छन् अरे गाह्रो भयो मलामी-जन्ती जान पनि
फल्दैन रे अन्नपात आधा वर्ष खान पनि
डर लाग्छ कहिलेकाहीँ सराप्छकी आफ्नै गाउँले
के खाने हो ? के लाउने हो ? सीमा नाघ्यो भाउले .
–ललिता कार्की
धुर्कोट बस्तु- ४ गुल्मी
हाल, काठमाण्डौं
(स्रोत : रचनाकारको ब्लगबाट सभार)