~बिभोर बराल~
भिरमा नै फुल्दछ गुराँस साथी
हारमा नै मगमगाउँछ आश साथी
हरेस नखाऊ अघि-अघि बढ्दै जाऊ
रोकिन्छ चाँडै पीडाको बतास साथी
मान्छेले चाहेमा के पो गर्न सक्तैन ?
परिश्रमी सामु झुक्दछ आकाश साथी
लिन जान्नुपर्छ जिन्दगीको स्वाद
दुखमा पनि पाइन्छ मिठास साथी
यस्तो काम गरौं एकबारको जुनीमा
गम्कियोस् सर्वत्र प्रितीको सुवास साथी
भिरमा नै फुल्दछ गुराँस साथी
हारमा नै मगमगाउँछ आश साथी
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)