~पूर्ण ओली~
आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ?
देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ
देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु
मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु ।
कोठा चिन्न कठीन भयो कुन थिए उद्दार गर्नेहरु ?
दर्तावाल खडा छ द्वार नजिकै रोक्ने र सोध्ने बरु
देखेँ, बिन्ति बिसाउँदा चरणमा मुन्टो बटार्नेहरु
हाली कानबुजो निवेदन-वृथा कुल्चेर टार्नेहरु ।
पोल्टोमा परराष्ट्र वा सडक वा प्रोजेक्ट पार्नेहरु
लड्डू ख्वाइ सुमेरु पर्वत घुमी पुस्तौँ सपार्नेहरु
आफ्नै भाग् उछिट्याउला कि जसरी आँखा’ नि तर्नेहरु
देखाए गुणदोष आइ रिसमा आँखै कोपर्नेहरु ।
बारम्बार विदेशको सयरमा पार्ने र पर्नेहरु
खानी रैछ यहीँ पुरस्कृत हुने उम्दा ठहर्नेहरु
होलान् छद्म भेषमा कति यहाँ भण्डार भर्नेहरु
आफ्नै मात्र दुनो ठड्याइ अरुको वास्तै नगर्नेहरु ।
जाँदैजान्न खटाइए पनि भनी झुन्डेर मर्नेहरु
खाँदैखान्न खुवाइए पनि भनी ज्यूज्यान धर्नेहरु
कोही छन् अधिकारखातिर घुँडा धस्ने र लड्नेहरु
इच्छा, माग, दबाब पूर्ण नहुँदै संसार तर्नेहरु ।
जिल्लाराम परेँ, बसौँ कि म उठौँ ? तड्पेँ, कसो के गरुँ ?
देखी मीत भ्रमीत्, निस्वार्थ दिलले साथित्व जोड्नेहरु
आए पङ्ख उचालि भुर्र पुतली माया चहार्नेहरु
भेटी मख्ख परेँ बसी बगलमा मुस्कान छर्नेहरु ।
२०७५।०५।२२ अनामनगर
रचनाकारको ब्लग : www.purnaoli.com.np
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )