स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~

वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— जितेन्द्र बर्देवा ।

इलाम, विसं २०२३ वैशाख बुद्ध पूर्णिको दिन । चौबीसबाट पच्चीस टेक्दै थिए— जितेन्द्र । तरेली परेको चियाबारीको सानो थुम्को, काखमा रहेको जनभवनको खुला आँगन । पन्डाल, सामियाना रङ्गीचङ्गी ध्वजापताकाले सजिएको समारोहस्थल । सारा दर्शकको आँखा केन्द्रित छ मञ्चमा । प्रमुख अतिथि छन् वरिष्ठ कवि एवं मन्त्री केदारमान व्यथित । समारोहमा सम्पूर्ण इलामेको तर्फबाट रु. ५०१ नगद र दोसल्लासहित अभिनन्दित हुँदै थिए— नेपाली शिक्षा, साहित्य र भाषाका शिखर पुरुष महानन्द सापकोटा । र, सँगसँगै सम्मानित हुँदै थिए दार्जिलिङे योद्धा कवि एवं गीतकार अगमसिंह गिरी । (तर दुर्भाग्य, आफ्नो अस्वस्थताका कारण कार्यक्रमअगाडि नै दार्जिलिङ फर्केका थिए अगम ।)

त्यही साँझ, त्यही मञ्च, त्यही माहोलबीच आफ्नो जन्मदिन मनाउँदै थिए जितेन्द्र बर्देवा । हार्मोनियमका रिडहरूमा असला माछा पानीमा बगेसरह सलल बग्ने उनका अभ्यासयुक्त औंलाहरू । मधुरो तर तिखारिएको कर्णप्रिय स्वर । एकपछि अर्को सुनिरहूँझंै लाग्ने, कुनै चलन चल्तीका लोकभाका र शब्दहरू, कुनै भने आधुनिक कविताको झल्को दिने विम्ब भएका काव्यात्मक आधुनिक गीत–सङ्गीत जुन बिल्कुलै भिन्न स्वाद र शैलीका थिए— सङ्गीत स्वादेका लागि । बर्देवाको साङ्गीतिक प्रस्तुतिपछि भने इलामेली सङ्गीतले नयाँ मोड लिएको कुरा अहिले पनि इलामका अग्रज सङ्गीतकार राम दियाली गौरवका साथ सुनाउनुहुन्छ । कार्यक्रममा अम्बर गुरुङ पनि आउने निम्तो थियो । तर, अन्तिम समयमा आउन पाउनुभएन । ‘नौ लाखे तार उदाए’, ‘म अम्बर हुँ ती धरती’, ‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ’ जस्ता गीतहरूले नेपाली गाउँ–सहरमा झ्याली पिटेको त्यो समय अम्बरलाई देख्न–सुन्न नपाउँदा केही खिन्न पनि थिए दर्शक श्रोताहरू । तर, जितेन्द्र बर्देवाको प्रस्तुतिपछि त्यो खिन्नता खुसी र आनन्दमा बदलियो । गायिकामा थिइन् दावा ग्याल्मो, भ्वाइलिनमा गणेश शर्मा, तवलामा सन्तलाल, मेन्डोलियममा निमा र गितार सोनाम छिरिङ थिए भने नृत्यमा देवदत्त ठटाल । बाँकी अरू नामहरू समयको लामो अन्तराल बित्यो, बिर्सिसकियो ।

हो, कहींकतै अभिलेख नरहने त्यो समयगाथा एक दिन मंसँगै समाधिस्थ हुनेछ । समयले छोडेपछि स्वयं आफैंले पनि बिर्सिनुपर्ने हुन्छ । एक दिन आफ्ना लागि आफैं बोझ र विरानो भइन्छ । अहिले म त्यही विरानो हुँदै गएको धमिलो चित्रहरूलाई पल्टाउँदै र छान्दै छापामा उतार्ने प्रयत्न गर्दै छु । धन्य छ, समय क्याबात्!

यसरी आजभन्दा ५२ वर्षअगाडि इलाममा मैले भेटेको थिएँ— जितेन्द्र बर्देवालाई । आफ्नो पनि अल्लारे उमेर कुनै कुरा पनि गम्भीरताका साथ नलिने, उडनदास, भावनामा बग्ने स्वभाव, जे राम्रो देख्यो त्यही हुन, गरिहाल्न र भइहाल्न मन लाग्ने । जितेन्द्र बर्देवाका गीतहरू सुनेपछि त मलाई कथा लेखनसँगै सङ्गीतमा लाग्ने भूत सवार भयो । उहाँसँग उमेर, योगदानका हिसाबले पनि म सानै थिएँ । साधारण बोलचालबाहेक त्यस्तो गहिरो घनिष्ठता वा दोहोरो संवाद हुनै पाएन । तर, उहाँको प्रस्तुति र गायकीले मलाई गहिरो प्रभाव पारेको थियो र नै मभित्र पनि गीत, सङ्गीत सिर्जना गर्न सक्छु भन्ने आत्मविश्वास पलाएर आयो । हुन त मेरा लागि बच्चु कैलाश सङ्गीत आस्थाका सगरमाथा थिए । तैपनि यस घडीमा मैलै स्मरण गर्नैपर्छ— जितेन्द्र बर्देवालाई । जब म पहिलोपल्ट काठमाडांै आएँ, दिमागमा त्यही इलामको सङ्गीतको भूत बोकेर आएँ । मञ्जुल, रामेशसँग भेटें । केही समय राल्फा भएर वामे सरें । भोजपुरेसँग मिलेर ‘लेकाली’ भएर पाइला चाल्न सिकें । यिनै हुन्— मेरा साङ्गीतिक यात्राका विभिन्न खुड्किलाहरू जसले मलाई तल झर्न होइन माथि झन् माथी उक्लिन सिकायो ।

जबजब नेपाली सङ्गीतका बारेमा चर्चा हुन्छ । तबतब केही औंलामा गन्न सकिने नामहरूको मात्र एकछत्र बढाइ–चढाइ गरेको देख्छुु, पढ्छु र सुन्छु पनि । सीमापारिका नेपाली सङ्गीतको चर्चा हँुदा जितेन्द्र बर्देवा, शरण प्रधान, हीरादेवी बाइबा, अशोक राईजस्ता आफ्नै धार सिर्जना गर्ने श्रष्टाहरूको चर्चा त के नामसमेत उल्लेख गर्न कञ्जुस्याइँ गरेको देख्दा उदेक लाग्छ । यस्तो किन हुन्छ ? अरू कोसँग सोधौं ? म आफैंसँग प्रश्न गर्छु ।

यी प्रश्नका उत्तर खोज्दै म दार्जिलिङे सङ्गीतकार मणिकमल क्षत्रीकहाँ पुगें र सोधें—‘जितेन्द्र बर्देवा त हुनुहुन्न भन्ने थाहा पाएँ तर उहाँको आफन्त परिवार कहाँ–कहाँ को–को हुनुहुन्छ ?’

मणिकमलले आफ्नै दार्जिलिङे पारामा बेलीविस्तार लगाए, ‘धेरै भइसक्यो सम्पर्क छैन । सावित्री भाउजू र छोरा सावन दार्जिलिङमा छन् । मञ्जरी, चण्डिका, सरणी, अल्का र गौरी पाँच बहिनी छोरीमा अल्का सङ्गीत क्षेत्रमा नै छिन् । दार्जिलिङ संस्कृति विभागमा काम गर्छिन् । अरू थाहा छैन, कान्छी गौरी, नेपालतिरै कार्कीसँग घरजम गरेर हाल धरान बस्छिन्, मसँग गौरीको नम्बर छ, तपार्इंलाई दिन्छु, थप बुझ्न परे सम्पर्क गर्नुहोस् न ल !’

धरानको नाम सुन्नासाथ उत्साहित भएँ म, किनभने मेरो मावली घर धरान । मेरो बाल्यकाल बितेको धरान, कुनै समय आजको भानु चोकमा खहरेखोला बग्ने सानो गाउँले बजार । अहिले सहर भएको, जहाँ भर्खरै मात्र मन्धुम बहिनीले आयोजना गर्नुभएको मेरो एकल कार्यक्रम सकिएको समय । मैले गौरी कार्कीलाई सम्पर्क गरें । उनले बडो उत्साहसाथ आफ्ना पिता जितेन्द्रका बारेमा प्राप्त सामग्री मलाई इमेल गरिदिइन् । साँचो भन्नुपर्दा मेरो लेखाइको सम्पूर्ण प्रमाणित आधारशिला नै तिनै सामग्री हुन् । थप भने केही व्यक्तिगत गन्थन मिसाउदा लेख फ्युजन बनेको छ ।

सुगौली सन्धिपछि चन्द्र–सूर्य झन्डाको स्थानमा ब्रिटिस झन्डा फहराएको दार्जिलिङ । दोस्रो विश्वयुद्धको तोप र बमको धूवाँबीच बर्माको धावामा होमिएका ब्रिटिस गोरखा सैनिक । युद्ध त्रासबाट ज्यान जोगाउन आफ्नो सर्वस्व बर्मा नै छोडेर आएको गोर्खाली परिवार अनि जापानले कुनै पनि समय हवाई आक्रमण गर्छ भन्ने भयले आतंकित कलकत्ताका बंगाली चाप झेलिरहेको दार्जिलिङ । यस्ता डरैडरको कहर काटिरहेको अवस्थामा जन्मिए— जितेन्द्र बर्देवा । जेठा दाजु कमल, तीन दिदीबहिनीका अत्यन्तै प्यारा थिए कान्छो भाइ जितेन्द्र बर्देवा । पिता शहवीर अत्यन्तै कुशल सहनाईवादक थिए, भन्नुपर्दा घरमा साङ्गीतिक वातावरण थियो । जितेन्द्र स्वयं जन्मजातै सुरिलो, कण्ठका धनी, सुनेकै भरमा हिन्दी फिल्म र नेपाली गीत दुरुस्तै नक्कल उतारेर सबैलाई छक्कै पार्थै । जब पढाइका लागि टर्नबुल स्कुलमा भर्ना भए, स्कुलमा दलसिंह गहतराजजस्ता सङ्गीत पारखी गुरु भेटिए, जसको आँखामा परिहाले जितेन्द्र । जितेन्द्रलाई दलसिंहले प्रशिक्षण र प्रोत्साहन दिए ।

जितेन्द्रको गीतसङ्गीतमा गहिरो लगाव थियो, पढाइ लेखाइमा ध्यान थिएन । सारा पाठ्यपुस्तक ट्याङ्कामा बन्द गरेर साथीसङ्गीसँग बरालिँदै लागे— गोरखा पल्टनमा भर्ती हुन । उनी लाहुरे भए, बन्दुक चलाए, बुट बजारे । तर जीवन सधैं यसैगरी पार लाग्ने नदेखेर उनी फेरि घुमीफिरी दार्जिलिङ आए । केही समय पल्टने थकाइ मारे । एक दिन अन्तस्करणभित्र रहेको सिर्जनशील जितेन्द्र बर्देवालाई आफैं डोहोर्‍याउँदै सङ्गीतकार अम्बर गुरुङको आर्ट एकेडेमीमा पुर्‍यायो । जहाँ कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेरजस्ता आफ्नै समकालीन साथिहरू भेटिए । त्यहीं रमाए र अम्बर गुरुङजस्ता व्यक्तिबाट मार्गदर्शन र सङ्गीत प्रणालीको व्यावहारिक–सैद्धान्तिक ज्ञान हासिल गरे । सङ्गीतलाई बुझे र आफैं पनि सिर्जना गर्न थाले ।

त्यसताका दार्जिलिङमा अर्को साङ्गीतिक संस्था पनि खोलियो— प्रकाशसिंह गहतराजको ‘संगम’ । यो संस्थामा आर्ट एकेडेमीका जितेन्द्र बर्देवालगायत, शरण प्रधान, अरुणा लामा, रञ्जित गजमेर, ललित योञ्जन, पिटर कार्थक, मार्क कार्थक, कुमार गजमेर, विदुर सिंह, मणि कालिकोटे, आर रसाइली, आइजक र मणिकमल क्षत्री आदि जस्तै सबै साङ्गीतिक प्रतिभाहरू गोलबन्द हुन पुगे । वास्तवमा ‘संगम’ बाट नै जितेन्द्र बर्देवाले गीतकारका रूपमा आफ्नो परिचय दिन पाए । पहिलोपल्ट उनको शब्द–रचना र शरण–रञ्जितको सङ्गीत र अरुणा लामासँग उनैले गाएको स्वरमा– ‘हेर न कान्छा हेर, डाँडालाई फूलले ढाक्यो’, ‘देउरालीको पाखामा आज’ भन्ने दुई गीत । लगत्तै गायिका अरुणा लामाको स्वरमा ‘यहाँ फूल नखिलीछ’ र ‘त्यहाँ निश्चल छ’ जीवन भन्ने दुई गीत गरी जम्मा चार गीत कलकत्ता गएर एचएमभीमा रेकर्ड गर्ने अवसर पाए । त्यसबेला रेडियो नेपाल, आकाशवाणी खस्र्याङ, गोहाटी र अलइन्डिया रेडियो दिल्लीबाट पनि खुबै प्रसारित हुन्थे । वास्तवमा नेपालीपनका नेपाली मन छुने ती गीतहरू आज पनि श्रोताको मनमा गढेका छन् । गायिका अरुणा लामा, गीतकार जितेन्द्र बर्देवा र सङ्गीतकार शरण रञ्जितलाई परिचित गराउने यी माथिका गीतहरू त्यो समय, त्यो कालका अत्यन्तै सशक्त र बेग्लै धारका आधुनिक गीतहरू थिएभन्दा दुईमत नहोला ।

यदाकदा आ–आफ्नो अस्तित्वको खोजी र व्यक्तिगत महत्त्वाकांक्षाले गर्दा संस्थाहरू बन्छन्, भत्कन्छन्, जोडिन्छन् र फेरि टुक्रिन्छन् । त्यस्तै भयो, ‘संगम’ पनि । जितेन्द्र बर्देवाले आफ्नो सक्रियतामा ‘सावन कुञ्ज’ नामक संस्था खोले जसमा गीतकार अगमसिंह गिरीको सल्लाह र संरक्षकत्व प्राप्त थियो । त्यो समय अगमसिंह भानुभक्त पाठशालाका प्रधानाध्यापक थिए । त्यही भएर सङ्गीत अभ्यास गर्न नि:शुल्क पाठशालाका कोठा उपलब्ध गराइदिएर ठूलो आँट–भरोसा दिएका थिए— ‘संगम’ लाई । प्रत्येक साँझ अभ्यास चल्ने पाठशालाका कोठामा, निमा, नथ्थु ठाकुर सिंह गोले, सन्तलाल लोहागन, मेरी कार्थक, ललित क्षत्री, एलबी थापा, अर्जनु रसाइलीजस्ता कलाकारहरू एकजुट भएर आ–आफ्नो सिर्जना र अभ्यासमा तल्लीन हुन्थे ।

‘सावन कुञ्ज’को समय, मलाई लाग्छ जितेन्द्र सिर्जनाको स्वर्णिमकाल थियो । यही कालखण्डमा ‘एक रात थियो, भखरकै थियो’, अहिले त ‘मेरो जीवन सानै छ कोपिला’, ‘ढल्की जाँदै छ जीवन, दिन ढल्के जस्तै’, ‘लेखला भावी मेट्ला को’ ? ‘कति लेख्नु पन्नाभरि जीवनको गीत’, ‘के राम्रो जोवन हेरिरहूँ भन्छ आँखाले’, ‘जीवनमा सँगै रहने सँगै हाँस्ने’, ‘कुक्कु नजिस्काऊ है मायालुको स्वरमा’ जस्ता दर्जनौं कालजयी गीतहरू सिर्जना गरे । गोरखा दु:ख निवारक सम्मेलनद्वारा आयोजित प्रतियोगितामा शब्द, स्वर र सङ्गीत विधामा सर्वोच्च स्थान प्राप्त गरी सम्मानित र पुरस्कृत भए । र, त्यही समय ‘सावन कुञ्ज’ को टोली लिएर इलाम आएका हुन्— जितेन्द्र बर्देवा ।

‘एक रात थियो…’ जस्ता अमर गीतसहित एकल र दावा ग्याल्मोको युगल स्वरमा झन्डै डेढ दर्जन गीत गाएका थिए इलामको कार्यक्रममा । ‘नौ लाख तारा उदाए’, ‘धर्तीमा आकाश हाँसेछ’, ‘सुगौली सन्धि हामीले भुलेको छैन भनिदेऊ’ जस्ता गीत गाएर जितेन्द्रले गाएर इलामे श्रोताको मन जिते । साहित्यमा तेस्रो आयामको त्यो युग आयामेली कवि बैरागी काइँलाका शब्द रचनामा ‘सेउली राखी सुकिजाला, के पो छोडांै चिनो भन’ र औंलाहरू चुमेर औंलाभरि सलाम’ जस्ता गीत पनि जितेन्द्रले सुनाए । बैरागीका यी रचनामा पनि अम्बर गुरुङको संगीत छ । यी गीतहरू पढ्दा लेखनशैली, विम्ब प्रयोगको हिसाबमा गद्य कविताको नजिक तर सुन्दा सलल बग्ने लय र तालमा कर्णप्रिय लाग्छन् । कार्यक्रम सकेर जितेन्द्र बर्देवाको टोली दार्जिलिङ फर्केर गयो तर इलामे मन–मस्तिष्कमा मात लागेजस्तो वर्षौंसम्म उनका गीत, सङ्गीत स्वरहरू गुन्जिरहे ।

सङ्गीतबाहेक जितेन्द्र बर्देवाको अर्को पेसा थिएन । बाँच्नका लागि तीन माइल, सिम्कोना मङपु रोडमा मुन्सी जागिर खान उनले दार्जिलिङ सहर छोडे । वास्तवमा लगनगाँठो कसिने ग्रह चम्केको रैछ भनौं । त्यहीबेला सावित्री थापासँग माया–प्रेम बस्यो र, गृहस्थ जीवनमा बाँधिए । त्यहीताका अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, पिटर जे कार्थक, मार्क कार्थकजस्ता थुप्रै साङ्गीतिक सहयात्रीहरू नेपाल पसे पनि जितेन्द्र भने नेपाल आउन चाहेनन् । दार्जिलिङकै चियाबारी, छुकछुके रेल, कुहिरोसँग लुकामारी गर्ने धुप्पी–सल्लाजस्तै बाँकी रहेको कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा, मणि कमल, नवीन बर्देवा, कालु सिंह, गहतराज, अरुणा लामा र शरण प्रधानसँग हाइहेलो, सन्चो–विसन्चो सोध्दै आफ्नो दु:ख, सु:खका गीतहरू गाउँदै बसे ।

सङ्गीत, जागिर, दामपत्य जीवन राम्रै चल्दै थियो । तर, अकस्मात आमा स्वर्गवास भएको खबरले दार्जिलिङ फर्कन बाध्य भए जितेन्द्र बर्देवा । हिजो एक्लो हुँदा धेरै सजिलो थियो जीवन । विवाह बन्धनमा बाँधिएपछि त झिटी–गुन्टा, बोरिया, बिस्तारा, भाँडा–बर्तन हुने नै भए, अन्तमा ती सबै बोकेर सधैंका लागि दार्जिलिङ फर्किए । आमासँग छुट्नुको दु:ख भएपनि दार्जिलिङ फर्कनु उनका लागि सुखद नै रह्यो । आउनासाथ लोक मनोरञ्जन शाखाको प्रमुख सङ्गीतकार पदमा सरकारी जागिर पाए । दार्जिलिङ सहर आएर बेकारी हुन परेन, बजारमै पिता सहवीरले बनाएका घरमा बस्न थाले ।

जितन्द्रले गीत लेखे, सङ्गीत गरे र आफैं गाए पनि । बालकृष्ण समको ‘चिसो चुल्हो’ देवकोटाको ‘कुञ्जनी’ जस्ता साहित्यिक काव्यमा पनि सङ्गीत दिए । ‘हिजोजस्तै बिहानी’ र ‘रूपा’ जस्ता नाटकमा पनि पाश्र्व सङ्गीत भरे । कथाहरू लेखे । प्रह्लाद थुलुङका गीतमा सङ्गीत गरे । भनौं कि, जीवनमा सयौं सङ्गीत सिर्जना गरे । पाँच दर्जनभन्दा बढी गीत आफैले लेखे जसमध्ये ‘अहिले छ मेरो जीवन, सानै छ कोपिला’ बोलको गीत बंगला चलचित्र निर्देशक तपन सिंहले आफ्नो चलचित्र ‘संगीना महतो’मा राखेका थिए । यो चलचित्रका अभिनेता थिए दिलीप कुमार । अर्को उनकै शब्द ‘मेरा आसले, मेरो भागले’ भन्ने गीत सङ्गीतकार रञ्जित गजमेरले नेपाली चलचित्र ‘पिरती’मा राखेर चलचित्रको गीतकारका रूपमा पनि दरिन भ्याए जितेन्द्र बर्देवा ।

आज पच्चीस सय बैसट्ठीऔं बुद्ध जयन्ती । म बाउन्न वर्षअगाडिको इलामसँगसँगै जितेन्द्र बर्देवालाई सम्झिरहेको छु । यस धरतीमा उनी जीवित रहेका भए आजका दिन उनको सतहत्तरौं जन्मदिन मनाइने थियो । तर, अफसोस आजभन्दा तेइस वर्षअगाडि नै ५३ वर्षको उमेरमा उनको चोला उठ्यो । अन्तमा उनकै शब्द, उनलाई समपर्ण गर्दै मेरो लेखनीलाई बिट मार्दछु ।

दुई दिन बाँच्ने मान्छे यो
केही दिनपछि कता हो
पहेंलो पात झरेझंै
जीवन एक दिन झर्ने हो।

This entry was posted in स्रष्टा जीवनी and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.