~मनु वि.क.~
महिला तिमी यो देशमा
कम्मर कसी उठ्नु पर्छ है
तिम्रो मुक्ति कोही नै गर्दैनन्
सङ्घर्षमा जुट्नु पर्छ है ।
सबले बाँडे मीठा सपना
पूरा गर्ने को होला त खै
सर्ने छैनन् कोहिनी अगाडि
अब अघि तिमी बढ है
घर पर तिम्रै जिम्मा छ
तर किन गन्ती छैन खै
तिमी अब्बल यो धर्तीमा छौ
मनको हिनता छिट्टै फाल है
हुन्न दिन काट्न अब
अन्यायमा सधैँ परेर
दुनियालाई देखाऊ शक्ति
अन्धार कालो चिरेर
महिला नै हुन धर्ती धानेका
तर किन रूनु पर्ने खै
हत्या हिंसा दिन दिन नै
महिलामाथि किन हुन्छ खै
समान भन्छन् नारी पुरूष
व्यवहारमा फरक किन ? खै
छोरा भए जन्म पाउने रे ।
छोरी किन ? मार्छन् गर्भमै ?
दास प्रथा गयो भन्दछन्
चेलीबेटी किन बेच्छन् खै
बाध्य किन बन्छन् यहाँ
दिन काट्न महिलाहरू रोई ?
कुप्रथाले महिला पीडित छन्
यो जुनिमा कति सहने खै
रिङ्दै घुम्दै आयो तीज
महिला मुक्तलाई गीत गाइदेऊ है
बराबरी हक ल्याउनु छ
लेख्नु पर्छ संविधान मै
हुने छैन चुप्प बसेर
सङ्घर्षमा जुट एकगठ भै ।
(अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित ‘प्रगतिशील तीज गीत सङ्ग्रह–२०७१’ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३८ – Aug. 20, 2014 – २०७१ भाद्र ४ गते, बुधबार )