~नारायण शर्मा~
आयो बरै नयाँ तीज खुशीयाली छा’को छ
बन्दैन कि संविधान चिन्ता ला’को छ
पार्टीभित्रै खिचातानी गर्छन् कुर्सी तानातान
यो चालाले कहिले बन्ला नयाँ संविधान
संविधानसभाले पूर्णता नै पा’छैन
छब्बिस जना चयन हुने छाँटै आ’छैन
शासकीय स्वरूपको विवाद जेको त्यही छ
मिल्दैन कि फेरि पनि शङ्का यही छ
कोहीलाई चाहियो दश राज्य कोही चौध गन्दैछ
कोहीले फेरि सिङ्गो तराई एउटा भन्दैछ
तीस थरी पार्टीका साठी थरी कुरा छन्
घट्लाभन्दा विवादहरू बल्झिरा’छ झन्
संविधानभन्दा प्यारो तिनलाई कुर्सी भा’को छ
सत्ता अनि सरकार तिरै ध्यान गा’को छ
लागेका छन् ठूला पार्टी डन पाल्ने खेलामा
धन थुपार्न सरकार तिर पुग्ने मेलामा
शान्ति अनि संविधान देखाउने दाँत भए
चुनावका बाचा कसम अहिले कहाँ गए
शहिदका रगतलाई तिन्ले भुल्दै गा’का छन्
गणतन्त्रलाई धरापमा पार्न ला’का छन्
सम्पत्तिमा समान हक पाउन नारी स्वाभीमान
समयमा बन्नै पर्छ नयाँ संविधान
आन्दोलनका उपलब्धि संस्थागत गरौँ है
दबाब दिन दलहरूलाई अघि सरौँ है
जनताको आव्हान छ कुर्सी मोह त्यागी देऊ
संविधान लेखनमा नेता लागिदेऊ
सत्ता खेल अति भयो बन्द गर अब त
संझिदेऊ आन्दोलनको जन रगत
बन्दै न कि संविधान भन्ने शङ्का मेटाइदेऊ
समयमै संविधान लेखी देखाइ देऊ
हाम्रो देश नेपाल हो नेपाली हो पहिचान
यही कुरालाई मनन गर्दै लेख संविधान
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३८ – Aug. 20, 2014 – २०७१ भाद्र ४ गते, बुधबार )