~सुदीप पाखि्रन~
कोही कसरी रहन्छ
― एक्लै?
ठडिंदै–ठडिंदै गएका छन्
एकपछि अर्को गर्दै
सिमेन्टेड मरुभूमिहरु शहरमा
देखिन छाड्दै गएका छन्
हरिया अर्ग्यानिक जंगलहरु आँखाबाट
देखिन छाड्दै गएका छन् नीला–नीला
सेता बकुल्लाहरु कावा खाइरहने ती डाँडाहरु
तिनीहरु त रहन्छन् सधैं मनमा कतै
कोही कसरी रहन्छ
― एक्लै?
गल्लीको कुनामा थियो बूढो काभ्रो
जहाँ हुन्थे थुप्रै रंगीविरंगी पुतलीहरु
खेल्थे तेलकासा, डण्डीबियो र लट्ठी सुङ्ने खेलहरु
पुतलीहरुसँगै काभ्राका हाँगाबिंगाहरु पनि
एकाएक हराए दन्त्यकथाको राजकुमारीजस्तो
गल्लीको कुनाबाट काभ्रो र ती सबै खेलहरु
तिनका यादहरु त छन् सधैं मनमा कतै
कोही कसरी रहन्छ
― एक्लै?
गोरेटो थियो यतैकतै
जो पुर्याउँथ्यो इन्द्रेणी भुईं झर्ने चउरसम्म
खेल्थे सात रंग एकैजस्तो भई दिन–दिनभरि
हुन्थे दिन पनि मिनेट र निमेषजस्तो
हुन्थे हप्ता, महीना र वर्ष पनि दिनजस्तो
चउरमा छन् अचेल मल्टीस्टोरी कम्प्लेक्सहरु
र उँघेर बसिरहेको नगरपालिकाको थोत्रो सभागृह
तिनको सम्झ्ना पनि त छँदैछ सधैं मनमा कतै
खोलाहरु खुम्च्याएर घरहरु बनायौं त्यही पनि साँगुरा–साँगुरा
कुलाहरु थुनेर कुराहरु बनायौं त्यही पनि ठूला–ठूला
यसरी यी सबै–सबै सबैहरुलाई
गुमाउँदै जाने हो भने त
हामी ‘एक्लै’ पनि त रहन सक्दैनौं
संसारमा…
यति सा……नो कुरा के थाहा छ हामीलाई?
(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)