~रजिन पनेरु~
हिमाल टल्किरहेको बेला
अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको
एक दृश्य देखेर
डाँफेहरु, मुनालहरु
ठूला–साना आकारमा
मयुरहरु चियाइरहेका थिए
पहाडलाई । ।
कोमलाकार पहाडी
दृश्यभित्र छद्मभेष
आफ्नै परिवेशमा रमाइरहेको
गुलाबी पुष्पहरु
काँडा छेडेर तन्किरहेका थिए
तँछाड–मछाड दौडिरहेका थिए
कतै तैरिरहेका थिए
कतै पौडिरहेका थिए
आफ्नै बगैँचाभित्र माली नभएको बेला
मानौँ त्यो नै तिनीहरुको स्वाधीनता हो ।।
पहाड शिरदेखि पाउसम्म
नतमस्त ढल्किरहेको
सिउँदोमा भरेर अनगिन्ती रंगहरु
दंग थियो
मानौ कुनै उत्सव–उमंग थियो
टोलाइरहेका बस्तीहरु बोकेर ऊ
आमन्त्रित पाहुनाको स्वागतार्थ
आतुर थियो घरि सुरमा थियो घरि बेसुरमा ।।
नवपल्लवी
पहाडी खोपीभित्र पवित्र नासो बोकेर
महादेवको उच्चाटनमा
आफ्ना निर्लज्ज चुचुरोबाट
पवित्र पियुष बगाइरकी
डाँफेहरु मोहित थिए रसस्वादनमा
मानौँ अन्य समवयी योद्धाहरु पराजित भइरहेछन्
रसस्वादन युद्धमा
सहनशीला पल्लवी
सिंगो आगत बोकेर
हिमालबाट तल तराईसम्म
पहाडीबाटो हुँदै
मैदानी फाँट हुँदै
टारी–कान्लाहरु चिस्याउँदै
मेट्दै प्यासहरु
उमाद्रै अनेकौँ यामहरु
वसन्त खोपीबाट
मस्केर अलिकति स्मीत हाँसोहरुमा
हाँसो मिलाइरहेकी थिइन्
बाँजो धर्ति जिलाइरहेकी थिइन्
च्यात्तिएका कन्दराहरु सिलाइरहेकी थिइन् ।।
हिमाल, पहाड र तराईको कुनै
सीमा छैन जो प्राकृतिक भएर बाँचिरहेको छ
घरि झर्ना बनेर झर्छ
अनेकौँ रग छर्छ
नवपल्लबी हिमाल खुलाएर
पहाड बढाउँछिन्
मैदान फिँजारेर तराई लुकाउँछिन्
मयुरहरु, डाँफेहरु, मुनाल
सबैलाई अँगालेर
सिंगो नाता गाँस्न तयार
नवपल्लवी मेरो बगैँचामा
तिमीलाई स्वागत छ
आऊ एकै छिन् लुकामारी खेलौँ । ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)