कथा : सुजा र सम्झनाहरु

~हेमन यात्री~heman-yatri

ज्वारभाटा |

हामी भिरालो बाटो लिएर ओरालो झर्दैथियौँ । साथीले फ्याट्ट भनिहाले, “ओई ! यो ओरालोमा बाँदर दुर्घटनामा परे पनि बाँच्दैन होला है ?” प्रतिक्रियामा मौन रहेँ म, मेरो मौनता भङ्ग गर्दै फेरि भन्छ, “ओई !, हेर न, देवी दिदीले भनेको सुजताको घर ऊ त्यो रे ! बोलाउँदै थियो त नजाने हो ?” मंसीरको महिना, शनिबारको दिन हामी मानेडाँडा बजार पुगेर फर्कदै थियौँ । जमीन सुकेर कक्रक्क भएको छ । रातो माटोले गर्दा सारा गाउँ उजाड देखिन्छ । सिरसिर चलेको हावासँगै तम्सिन्छु म पनि “ल जाऊ न त !” स्थानीय देवी दिदीको पछिपछि लागेर रोकियौँ आँगनको गेटैनेर । तर घर शून्य देखियो आँसु खसीसकेको आँखा जस्तैगरी ।

तल बारीमा भट्मास कुट्दै गरेकी बहिनी देखिइन् र देवी दिदीले सोधिन्, “सुजता खिबी खाडा ?” शनिबारको दिन भएकोले खर काट्न गएको थाहा भयो, अहिले सम्झन्छु सुजालाई त्यसदिन घरमा नभेट्नु नै हाम्रो सम्बन्धको सुरुवात हुनु रहेछ सायद । सुजाले हामी फर्केपछि आत्माआलोचना गर्दै सम्झेर चिठी लेखेकी थिइन् ।

कवि हेमन यात्री

हाम्रो पत्र आदानप्रदान भइरह्यो । उतिबेला म बिराटनगर मोरङ क्याम्पसमा स्नातकको विद्यार्थी थिएँ । साथमा लेखन÷पत्रकारिता गर्नु मेरो सौख छँदै थियो, त्यो आज पनि जीवितै छ । केही समयपश्चात सुजा पनि अध्यापन छाडेर विश्वविद्यालय भर्ना भएको खबर सुनेँ । म आफ्नै मनको तुइनामा झुण्डिएर बेस्सरी पिङ्ग खेलीरहेँ उधोउभो गर्दै । पहिलो भेट भएदेखि हाम्रो पत्रव्यवहार मात्र भएको थियो । पत्रमा अनेकौं विषयमा कुरा हुन्थे । जीवन, जगत, संस्कृति, समाज, प्रेम आदि आदि । कमसेकम भेटेर मौखिक कुराकानी हुने भयो यी यावत विषयमा । सम्झदै मन फुरुङ्ग भयो तर भेट्ने कसरी ? उनको ठेगाना थाहा छैन, सम्पर्क नम्बर छैन । फेरि नभएर के भयो ? एउटा उखान छ नि ‘तँ चिता म पु¥याउँछु ।’ मेरो हकमा पनि सही सावित भयो यो उखान । नभन्दै हाम्रो भेट भयो, आत्मियता बढ्यो, प्रेम झ्यागियो, अनेकाँै सपनाहरु जन्मे र बिस्तारै हुर्कदै गए ।

–०–०–०–

एकोहोरो समय दगुरिरह्यो जसरी बगिरहन्छ नदी । हामी आफ्नै परिवेशमा व्यस्त भयौँ । कहिलेकाँही टेलिफोनबाट कुराकानी हुन्थ्यो । भन्न नसकेका कुराहरु चिठीमा लेख्न सजिलो लाग्थ्यो र लेख्थ्यौं चिठी । अझ लेखन हामी दुवैको सौख भएको हुनाले पनि लेख्थ्यौँ । एकपटक उनले लेखेरा पठाएको यौटा चिठी यसरी सुरु भएको थियो –

“आँशुवोके साथ सोना सिकाया
दर्द भरा दील खोना सिकाया
किम्ति खुशि के लिए जिन्दगी भर रोना सिकाया
कहाँ हे मन्जिल ?
और रस्ता कहाँ ?
इतनी बेचैन मे भी जिना सिकाया…..”

आँसुको मूल्य यसरी चुक्दो रहेछ । जीवनमा प्रेमपीडा थाहै थिएन, यस्तो पो हुँदो रहेछ …. । यतिबेला म सोचिरहेको छु यो चिठीको परिवेश, हाम्रो प्रेम यौटा ‘क्लाइमेक्स’ टेकिसकेको थियो सायद । शब्दहरुले त्यसै भन्छन् । २०६३ सालको दशैँपछि करिब ८÷१० महिना हामी सम्पर्कविहीन भयौं । अकस्मात् १४ फेबु्रअरी अर्थात ‘भ्यालेन्टाइन डे’का दिन फोन आयो । सुजाको थियो त्यो फोन, भोजपुरबाट भर्खर धरान झरेकी रहिछे । ‘सरप्राइज’ दिन खोजेकी थिई सायद तर त्यसैबेला म काठमाण्डौं जान गाडी चढिसकेको थिएँ । उनी रित्तो मन लिएर घर फर्किई…।

–०–०–०–

वरिष्ठ निबन्ध शिल्पी कृष्णचन्द्रसिंह प्रधान ‘जिन्दगीका टिपोटहरु’मा लेख्नुहुन्छ –

“सँगै छँदा
गुमाउनु पर्ला भन्ने डर थियो
गुमाइसकेपछि
त्यो डर अब रहेन
फेरि फेरि हराउनु नपर्ने तिनै कयःलाई”

प्रधानकै भाषा सापट मागेर भन्छु –

“सँगै छँदा
टाढा हुँला भन्ने डर
टाढा रहेपछि त्यो डर रहेन अब
तर
छुटेपछि कहिले भेटूँ भईरहने यो मनलाई
कसरी सम्झाऊँ सुजा !

यसरी मनलाई सम्झाउँदा–सम्झाउँदै एकदिन भेट्ने दिन पनि आयो, त्यो पनि भोजपुरमै गएर । उनी पढ्दापढ्दै गाउँकै एक माविमा जागीर गर्न थालिकी हुनाले फुर्सद मिल्दैन थियो । म आफैँ भोजपुर पुगेँ, हाम्रो भेट भयो । प्रथमपल्ट जाँदा आँगनको गेटले रोकेका मेरा पाइलाहरु यो पटक केही गरी छेक्न सकेनन् । तर जुन अवस्थामा हामी छुटिएका थियौँ सुजामा त्यो पाउन सकिँन मैले । शरीर सुकेर भाँच्नै लागेको थियो, हाँस्दा ‘डिम्पल’ गाला, छाला र हड्डी मात्र बाँकी थियो । झस्किएँ म तर मधुर आवाज सुन्दा उनी तिनै सुजा थिइन्, जो १० महिनाअघिबाट बेखबर थिइन् । वास्तवमा हामी छुट्टिएदेखि नै उनी बिरामीले महिनौं थलिएकी रहिछे । धरान, बिराटनगर, काठमाण्डौं आदि स्थानहरुमा उपचारको क्रममा पुगेको र मलाई सम्पर्क गर्न खोज्दा भेट्न नसकेको हृदयवियोग कहानी उनले डायरीमा लेखेकी थिइन् । अघि त्यो डायरी छुट्नेबेला म आफैँले दिएको थिए । आज त्यहीँ डायरीमा उनको कहरहरु पढेर रातैभरी रोइरहेँ म । त्यहीँ दिनदेखि सुजाप्रति मेरो विश्वास, प्रेम, आस्था उन्ननसय देखि बढेर सय भएको हो । एकाध दिनको बसाइँपछि फेरि फर्किएँ म उनलाई एक्लै–एक्लै छोडेर । बिराटनगर आएपश्चात उनलाई सम्झेर लेखेको एक कवितांश सम्झन्छु यतिबेला –

“तिमीले सम्झ्यौ –
यौटा अज्ञात दुःखको यात्रामा
छुटेको भेल हुँ म
जब तिम्रो आँखाको उपत्यका
भरिएर पोखियो संघारमा
आँसुका थोपाहरु”

–०–०–०–

लगभग एक दशकको प्रेमयात्रापछि १३ माघ २०६६ मा हाम्रो परम्परागत सँस्कार अनुसार हामी एक भयौँ र पनि हामी फरक–फरक नै रह्यौँ । उनी भोजपुर मै अध्यापन गर्दै सामाजिक अभियानकी एक साधक । नेपाल रेडक्रस सोसाइटी भोजपुर जिल्ला शाखा लगायत अन्य विभिन्न सामाजिक संस्थामा क्रियाशिल व्यक्ति, छोडेर हिँड्ने कुरा पनि भएन । म देशभरि कुदीँ हिँड्ने वायुपंखी मनुवा परेँ । विभिन्न प्रकारका मानिसहरुसितको उठबसमा बौद्धिक, काव्यिक, साँस्कृतिक, सामाजिक लगायतका अभ्यासहरु भईरहन्छन् । केही ख्याल ठट्टाहरु पनि स्वाभाविक हुने भईहाल्यो । एकदिन मैले थाहा नपाईकन सुजाले मेरो मोबाइलको म्यासेज बक्समा भएको अक्षर पढेर घुमाउरो भाषामा भनिन् “आजकल (बिहापछि) तपाईलाई निक्कै समस्या छ जस्तो लाग्छ ? पहिले जस्तो पनि हुनुहुन्न धेरै दुब्लाउनु पनि भएको छ, केही समस्या हुनुपर्छ ?” म भने मौन बसिरहेँ । बोल्ने खास विषय पनि होइन त्यो । खास समस्या केही पनि थिएन, केहीछिनको मौनतापछि म आफैँ जङ्गिएर सोध्छु, “भन्न खोजेको के ? प्रष्ट भने हुन्छ मसित त्यस्तो केही छैन !” सुजाले मोबाइलको म्यासेज सोझ्याउँदै ठट्टाको भाषामा भनिन्, “कविज्यू यो के हो ?” पूर्वपरिचित महिलाको म्यासेज देखेर म खङ्रङ्ग भएँ, तालुमा पसिना आउला जस्तै भयो । राम ! राम ! श्वास फेर्न समेत गाह्रो भयो मलाई, ठट्टै भएपनि लेखिएको सत्य नै थियो । बल्लतल्ल आ ! यो केही होइन सम्म भन्न सकेँ । उनले हाँस्दै भनिन्, “तपाई कवि÷कलाकारहरुको यस्तो त भईहाल्छ नि, अथवा भनौं प्रशंसकहरु कैयौं हुन्छन्, प्रतिभासम्पन्न व्यक्ति जोसुकैको । तपाईँलाई त मैले राम्ररी बुझेकी छु, तपाईँ कस्तो मान्छे भनेर । तपाईप्रति मेरो असङ्ख्य विश्वास छ तर ख्यालख्याल भए पनि मान्छेको मनसँग खेल्नु राम्रो होइन ।” अहो ! यति भन्नासाथ चिन्ता बस्दा पारु गएर फर्केको धामीजस्तै चङ्गा भयो मन । सम्झन्छु यिनको विश्वास र विचार सुनेर, अनुभूत गरेर जीवनको प्रत्येक मोडहमा मोक्ष प्राप्त गर्छु म ।

–०–०–०–

एकसाँझ म पुस्तकहरुको चाङ लगाएर पढ्न के खोज्दै थिएँ, सुजाले आँखाभरी आँसु बोकेर भनिन् “पापा ! मैले आमा बन्ने सौभाग्य पाएर पनि अहिले त्यो सम्भव छैन । टाढाटाढामा एक्लै एक्लै रहनु छ, चाहेर पनि हाम्रो सपना सम्भव छैन अहिले ।” तत्काल मसँग दिनलाई केही जवाफ थिएन, साहस पनि । एक्कसी घाँटी सुकेजस्तो भयो, आँखा रसाएर खस्नै लागेको आँसु सम्हाल्दै सिरानी अठ्याएँ र एकतिर फर्केर निधाएँ म । भोलिपल्ट भोजपुर जाँदासम्म अवस्था उस्तै रह्यो, सधैँ हिँड्ने बाटो, अरुण नदी, अँधेरी घाट, सल्लेरी बन, सबै विरानो–विरानो बन्यो । सुजाको मन धमिलिरह्यो । उनी मन दुखाएर आँखाबाट आँसु खसाल्दै अघिअघि हिँडिन् । म उकालोमा खसेको उनको आँसु टेक्दै–टेक्दै पछ्याईरहेँ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.