~बाबुराम पन्थी~
चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे,
समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए,
तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म,
म त बिचमै खसे, डुबे, र पनि तिमीलाई हेरिरहे,
तिमीले जे गर्यौ, ठिकै गर्यौ, फगत म अनायासै दुखे।
जूनेली रात, बसन्तका पालुवा संगै, फक्रिएका फुल माझ,
हो, तिमि रोमान्चित थियौ, पुलकित थियौ,
म पनि एक्लो कहाँ थिए र प्रिय, म त मेरो कथा संगै थिए,
हो, म दौडिरहेको थिए, हतारमा थिए, हतासमा थिए,
तिमीले बाटो कहाँ छेक्यौ र प्रिय, म फगत् ठोकिन पुगे।
तिम्रो निश्चल मन, अलि पर सर्दै भन्यौ- आउ न बस !
मन भारी थियो, जीउ गरुङ्गो भयो, म तिम्रो समीप कसरी बसू
बिर्सन खोज्ने मस्तिष्क, अनि सम्झिरहन खोज्ने यो मन बीच,
अन्तर-द्वन्दको ज्वार-भाटा माझ, म त अचानक ब्युझिएछु,
मधूर गीत बजिरहेको थियो- घुम्तीमा नआऊ है…
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )