कथा : राम्रो कसरी बन्ने ?

~डा. सबिता सुबेदी~

हजुरआमा भन्नुहुन्थ्यो  , गाउँमा  म जन्मिदा ठुलो  हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला मुखियाकी कान्छी बुहारीले फेरी पनि छोरी जन्माएको र  अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले शिकार चुमिएको थियो रे | मुखियाको खलक भरी नजन्मिएको  काली डरलाग्दी बच्ची आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे  |  म दुइ ओटा दिदी मुनि कि साहिली छोरी , सानो कद, झुसिलो साँघुरो  निदार  भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा पाइला टेकेकी अहो भाग्यामानी  बच्ची हुँ |  अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै  , सुनौलो मसिना केस मानौ खैरेको बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ |  मुखियाको को रुप रंग संग मिल्दो बच्चा जन्मिएकोमा  खुसी आफन्त  छोरी जन्मेकोमा उत्तिनै दुखि थिए |

शनिबारको दिन टन्टलापुरे घाममा साथीहरुसंग खेलेर पसिनाले भिजेर घर भर्किदा घरभरि मानिसले भरिएको थियो | सधै तिज , दशैँ, तिहार जसरी मानिस जम्माभै सेतो चियाको चुस्कीसंगै हल्ला खल्ला मच्चिने  घरमा त्यो दिन पनि मानिसहरुको भींड हुनु कुनै अनौठो थिएन | आफन्त छर छिमेक सबैले एक चोटी पुलुक्क म तिर हेरे | लुगाहरु सबै फोहोर भएको थियो | गोट्टा चाली खेलेर लामा लामा नकाटिएका नंग सबै माटोले भरिएको थियो |

ममी रिसाउदै कराउनुभयो “ दिन भरि डुल्यो,  पद्नु छैन , काम काज छैन निकम्मा कुकुर  | अझ लुगा हेरत |”

म पनि रिसाउदै दुवै जोडिएका आँखिभौ खुम्चाउदै हेरेको थिए | मलाई पनि रिस त बेस्सरी उठेको थियो |

यत्तिकैमा आन्टीले प्याच्च भनिन “ कस्तो रिस छ अझ हेर्नुत | त्यसै  त नपरेको अनुहार, त्यहाँ माथि रिसाउँदा त घर नै अध्यारो हुनी | तलाई  अध्यारे |”

आज काली , झुसे बारुलो, औसीँ जस्ता नाममा नयाँ नाम अध्यारे पनि  थपिएको थियो |

त्यहाँका हुल मानिसहरु मेरो कालो झुसे रिसाएको  अनुहार त्यहाँ माथि माटो र पसिनाले लतपतिएको , बिना चप्पल को खुट्टा अनि मेरो नया ठ्याक्क मिल्ने  नाम सुनेर खित्का छोडेर हासीरहेका थिए |

मलाई लाग्थ्यो कि म माथिकी माहिली दिदी मेरो ममीको प्यारी थिइ | एकातर्फ कहिल्यै पनि गाली र पिटाइ नखाएकी, ममीले माया गर्ने  दिदी , नरम स्वभाबकी थिइ  | अर्कोतर्फ ममीको गाली र पिटाइ नखाई दिन नकाट्ने म सबै कुराबाट एकदम साहसी, रुखो र आटिली  थिएँ |  दिदीले घरको सबै काम सघाउने तर म भने खाएको थाल पनि धारामा छोडी  दिनभरि साथिभाइहरु संग लुकामारी ,गट्टा चाली, छोई डुम  खेल्न दौडिने, काममा अल्छी तर खेल्नमा जागरिलो थिएँ | यो बानी मलाई मन परे पनि घर परिवारलाइ भने फिटिक्कै मन परेको थिएन  |

सबैले गिज्जाएको  सुन्न नसकी म भने  न्याम्म पर्दै भर्यांग चढेर माथि लाग्दै थिए |

त्यत्तिकैमा  ममी फेरी कराउनुभयो  “ खुट्टा धोएर माथि जा | माथि फोहोर बनाउने सुर छ क्याहो ?” म नटेरी  दौडेर बीच कोठामा गएर चुक्कुल लगाएर बसे | ममी लट्ठी बोकेर पिट्न आउनुभएको थियो |मेरो सानो फुर्तिलो शरिर दौडीने कुरामा  मेरा साथीहरुले  त जित्दैनथे भने  ममीले भेट्ने कुरै थिएन |

माह्वल शान्त भएपछी घरको बाहिरी  भित्तामा टासिएको ऐनालाइ झिकेर कोठामा लगेर आफुलाई हेरे |

बाक्लो दुइ जोडिएका आँखिभौलाइ नजिकबाट  नियालेर  हेरे र  दिदीको पातलो आँखिभौ , ममी बैनी हुदै हजुरामाको सम्म आँखिभौसंग तुलना  गरे |

बिस्तारै परेलातिर आँखा लगे, लामालामा माथि फर्किएका परेलाको दोष भेटिन |

अनुहारका नाक कान आँखा  हेर्दै जादा दाहिने पट्टिको गालाको खाल्टोले अलिकति भएपनि राहत थपेको थियो | आँखा छोपेर बेस्सरी रोए | मेरो अनुहार बनाउने इश्वर  र जन्म दिने इश्वरी दुवै देखि रिस उठिरहेको थियो |

आफ्ना दुख र पिडा पोख्ने एक मात्र मेरो हजुरआमाको छेउमा गए | हजुरआमालाई भने मेरो अनुहारले केहि बिगार गरेको थिएन | किनकि उहाले आँखानै देख्नुहुन्नथ्यो | गलत नै सहि उहाँ अन्धो भएकोमा फाइदा मलाई भएको थियो | उहाँ म भन्दा हाराहारीमा ७५ वर्ष जेठो हुनुन्हुन्थ्यो |  मैले गरेका गल्तीलाई पनि उहाँले सजिलै स्विकार्नुहुन्थ्यो | हरेक नाति नातिनालाई माया गर्नी हजुरबुवा हजुरआमा हुदाँ रहेछन भन्ने मलाई लाग्थ्यो |

हजुरआमाकी  बहिनी केहि दिनको लागि मेरो घर आएकी थिईन | उनी बुढी भइकन पनि  उनका आँखा नाक कान हात खुट्टा सबै तगडा थिए | सानी हजुरामा साना तिना काम पनि गरिहाल्ने स्वभाब थियो | धेरै बोल्नु पर्नी बानीले गर्दा सबै उनिसंगबाट भाग्ने गर्थे | अरुको कुरा नसुन्दिने र आफ्नी ढिपी नछोड्ने कारणले कोही पनि नजिक जान्नथे |

“ हरेक बच्चा बच्चीको बानी, अनुहार आफ्नो आमा बुबा को जस्तो हुन्छ| गाउँमा तेरो  ममीलाइ  राम्रो ,असल, मिलनसार ,आटिलो, साहसी कहिल्यै पनि नरिसाउने बानी भएकी भन्छन् | गाउघरतिर राम्रो छबी भएको तेरो ममीको कुरा काट्न कसैले सक्दैनन्| अर्कोतर्फ तेरो  बुबा सोझो, इमान्दार तर  छिटो रिस उठ्ने खालको छ | के गर्नु अनुहारमा चाही सार्हैनै राम्रो  छ  | तेरो  भने अनुहार ममीको र बानी बुबाको  छ |”  यति भन्दै ति सानी हजुरआमा हास्न थालिन |

सानी हजुरामाले पनि मलाई नराम्रो भनेको सुन्दा मेरो हजुरआमा भने सानी हजुरआमालाइ धेरै नबोल्न सम्झाउदै हुनुहुन्थ्यो | केहि दिन को लागि आएकी सानी हजुरआमाले पनि अनुहार मन नपराएको बुझ्न सक्थे |त्यहि दिन देखि मेरो जिन्दगीको लक्ष्य वा गन्तब्य जे भनेपनि गोरो हुनु थियो, गोरो हुनु नै राम्रो हुनु भन्ने थियो | दिन रात गोरो कसरि भइन्छ भन्ने सोच पलाउन थाल्यो | त्यो दिन देखिको मेरो मुख्य काम मुख धुनु थियो |

एक दिन को कुरो हो |ममीले लुगा धुदै हुनुहुन्थ्यो | मलाई धारा पेलिदिन बोलाउनुभएको थियो | धाराको समात्ने बिड भने  म भन्दा नि अग्लो उचाईमा थियो | ममी ले पुजा साबुनले लुगा धोइराख्नु भएको थियो | बुबाको कालो कमिजबाट कालो रंग आइरहेको देखे | त्यो दिन बल्ल अनुहारको कालो फाल्ने पुजा साबुनले रहेछ भन्ने पत्ता लगाउन सफल भएकोमा म खुसी थिए | धाराको बिडमा फुर्तीका साथ झुण्डिदै धारा खिचिरहेको थिए | यो अहिले सम्मको पहिलो फुर्तिका साथ गरेको काम थियो | अलिकति बढी उर्जा कालो फाल्ने पुजा साबुन रहेछ भन्नी थाहा पाएको खुसीले थपेको थियो  |

 ममीले लुगा धुने बित्तिकै पुजा साबुनले मुख धोए | तर कपडाको जसरि कालो रंग आएको थिएन | अलिकति निरास र आस बोकेर  बिहान दिउसो बेलुका गरी  मुख धुन थाले | मुख धोई सकेपछी आएर ऐना हेर्थे | केहि छिन भएपनि गोरो भएको अनुभूति भने हुन्थ्यो |

धेरैनै हरेस खाएपछि म दौडदै ममीको मा गए |

“ ममी ममी  म कालो छैन |”

ममी भने मेरो कुराको उत्तर दिने सुरमा हुनुहुन्थेन |

फेरी भने “ ममी म कालो भएको भए पुजा साबुनले मेरो अनुहारबाट  कालो रंग किन निकाल्दैन त?

यति भन्न नपाउदै ममी मुसुमुसु हास्नुभयो | उहाको हासो देखेर म विछिप्त भैसकेको थिए | ममीले केहि नबोलेपछि म माथी लागे | जाडोयाम सुरु भएको थियो म भने   लुगा उज्यालो चम्काउने पुजा साबुनले मुख धोएर कोठामा बसेको थिएँ , दिदी बहिनीहरु कोठामा नाच्दै रहेछन | फुपुको छोराचाहिँ निर्णायक बनेर बसेको रहेछ | निर्णयाक पनि नाच्नुपर्नी नियम भएकोले उसलाई नचाउँन लगाउँदा उसले लजाएर हाँस्दा मुजा परेको  सुकेनास गाला र ब्यन्ग्रे  नाँच  देख्दा बेस्सरी हाँसो उठ्यो | हास्न लाग्दा गाला पुरै दुख्यो | ऐना गएर हेरेको त गालाबाट रगत बगिरहेको रहेछ | गालाको ठाउँ ठाउँ मा सेतो खाटो र छाला चिरिएर घाउ बनेको थियो | हास्न नै नमिल्ने र मुख धुदा झन् पोल्ने भएपछी त्यो पुजा साबुनले मुख धुन छोडिदिए |

एक दिनको कुरो हो , म कपाल कोरेर तल्लो तला झरेको थिए | मलाई पढाउने एक जना शिक्षक आउनुभएको रहेछ | उहाँ शिक्षक हाम्रो नातेदारपनि हुनु भएकोले ममी र उहाँको भलाकुसारीपनि चलेको थियो | ममीले मेरो पढाई सम्बन्धि सोध्नु भयो जुन कुरा मलाई महत्वपूर्ण लागेको थिएन किनकि म आफुलाई पढ्न सजिलो लाग्थ्यो | जिन्दगीको गाह्रो महत्वपूर्ण काम गोरो कसरी हुने भन्ने सोधेको भए म ध्यान दिएर ज्ञानी बिद्यार्थी भएर सुन्थे होला |

एकाएक गफको दौडानमा  कताबाट  मिठो शब्द कानमा ठोक्किन पुग्यो जुन मेरो कानले खोजिरहेका , मेरो मन ले चाहिरहेका , मेरो मस्तिस्कलाइ सुकुन मिल्न सक्थ्यो | शिक्षकले मलाई दिदीबहिनी भन्दा राम्री र मनपर्नी बिद्यार्थी भन्दा मेरो प्रसंसा गर्नी मानिसको सात नम्बरमा पर्नु भएको थियो |

मलाई आज बट त्यो शिक्षक एक दमै राम्रो लाग्यो | मलाई राम्रो भन्ने मानिसको अगाडी जहिले पनि मुख धोएर आउथे | किनकि मलाई राम्रो भन्ने  मानिसको संख्या घटाउन चाहन्नथे | अर्को कुरा उनीहरुको मुखबाट फेरी पनि  प्रसंशा सुन्न चाहन्थें |

म दौडिएर धारामा गए | गाला पोले पनि  साधा पानीले  भएपनि मुख धोए | अनि बाहिर बासमा झुन्डाएर राखेको गम्छाले मुख पुछे र हतार हतार त्यहि शिक्षक को अगाडी गएर उभिएँ | मन भने भित्र भित्रै उफ्रिएर नाचिरहेको थियो, अनुहार मुसुमुसु मुस्कुराईरहेको  थियो |

त्यो दिन मक्ख परेर ममीले गराएको कामपनि सब्बै गरे | सधै काम गरिन भनेर गाली गर्नी ममीले मैले काम गरेपछि  त्यो दिन माया गरेजस्तो गर्नुभयो | त्यो दिन भने आनन्दले सुते |

भोलि बिहान भयो |ममी भैंसीलाई कुँड़ो पकाउँदै हुनुन्थ्यो | ममीले सोध्नुभयो “ तलाई राम्रो भन्नि मान्छे कति जना भए ?”

म पनि प्रत्येक  मानिसको नाम लिदै सात जना पुर्याए |ति सबै व्यक्तिहरु मेरो लागि भगवान जस्तै थिए |

मैले ममीलाई भने “ ममी मलाई बाहिरको मान्छेले बरु राम्रो भन्यो हजुरहरुले किन नराम्री भन्नुहुन्छ ?”

म उत्सुकता पुर्बक उत्तर खोज्दै टुलुटुलु ममीलाइ हेरे |

यत्तिकैमा दिदी छेउमै आइपुगी र भनि  “ तलाई राम्रो भन्नि जतिका बुढि सबै काला  नराम्रा छन् त्यै भर तलाई मन पारेका “

त्यस लगत्तै मलाई राम्रा भन्नि मान्छेका बुढिहरु सम्झिन थाले | नभन्दै सबै बुढिहरु काला मोटा नराम्रा थिए |

क्षणभरको खुसि सबै माटोमा मिसिन गएको थियो | त्यहाँबाट जुरुक्क उठे | निन्याउरो मुख लाएर ऐना  भएको ठाउँमा गएँ | अघिसम्मका मेरा एउटा बाहेकका छ ओटा भगवानहरु देखेर पनि रिस उठिरहेको थियो | उनीहरुले मलाई आफ्ना नराम्रा बुढि जस्तै तुलना गरेकाले  उनीहरुसंग कहिल्यै  बोल्दिन जत्तिकै चित्त दुखेको थियो | बाँकी एउटा भगवान त हजुरआमा हुनुहुन्थो जो आँखा नै देख्नुहुन्नथ्यो  |

झुलुक्क ऐना हेरे , ऐना सित पनि रिस उठिरहेको थियो | भन्सार घर तिर लागे | त्यहाँ सेतो पिठो देखे | सेतो पिठो मुख भरि धसे अनि दौडदै ऐना गएर हेरे |

अहिले त म पनि गोरो देखिएको थिए | म त्यहाँ बाट दौडिएर आन्टी भएतिर गए जसले मलाई अधेरी नाम राखेको थियो |

आन्टी मलाई हेरेर खित्का छोडेर हास्न थालिन | त्यो हासोले मलाई खुसि दिनुको सट्टा गिज्याएजस्तो लागेर दुखित तुल्यायो |

“म त कताबाट दिउसै भुत आएको भनि तर्सेको? यो पो रैछे | हेर्न आओना यो अधेरिता उजेली पो भैछे हा हा  |” आन्टी चिच्चाइन |

सबैजना उनको हासो र चर्को स्वर फुत्किन  नपाउँदै जम्मा हुन्छन |

सबैले एक एक थोक भन्दै हास्न थाल्छन | म त्यहाँबाट केही नबोली धारामा गएर मुख धोई सकेपछी बिस्तारै कसैले नदेख्ने ठाउँ जमुनाको बोट मुनि गएर रोए |

केहि समयपछी साथीहरुलाई भेट्न गए | साँझ परुन्जेल सम्म पनि उनीहरु संगै खेले | मलाई रात नपरे हुन्थ्यो जस्तो लाग्थ्यो | किनभने साँझ परेपछि घरतिर जानुपर्थ्यो |

साँझ परेकोले म घर  तर्फ लागे | दिन भरिको पिडा  भुलिसकेको थिएँ | घरको मूल ढोका बाट भित्र हेरेको घरमा नयाँ पाहुना आएका रहेछन | कपाल दारी सबै सेता , मेरो हजुरबुवाको जस्तै सेता थिए | त्यस्तो बुढो मान्छे पनि म भन्दा नि होचो देखेर मुसुमुसु हासिरहेको थिए | त्यो बुढालाई नमस्कार गरिसकेपछि म उसको छेउमा गएर बसे | उनि नाताले मेरो ठुलोबुबा पर्नी रहेछन | ममीले खाना खानलाइ बोलाउनुभयो | ममीले अन्खरामा पानी दिएपछि ति बुढाले त्यहि पानीले हात धोए  | खाना खाना लागेका थियौ , ति बुढाले प्याच्च बोले “ के हो यो छोरीलाइ त खाना खानि बेलामा डोकाले थुनेर राखेजस्तै छन् त?  अरु दिदीबहिनी त्यस्ता यिनी चाहि यस्ती |”

ममीले थोर्ने भैंसीको घिउ  तताएर ल्याएर त्यो बुढाको खानामा  हालिदिनुभयो | ठुला ठुला गास मुखमा हालेर चपाउदा ओठ माथिको जुँगा हल्लिरहेको थियो | गास गास को बिचमा फुर्सद पाउनी बित्तिकै बचन लगाउथे  |

म भने सुन्न नसकी खाना छोडेर तल झरेर रोइरहेको थिए | हुन त म नरोएको कुनै दिन पनि हुन्थेन | अलि छिन पछी हजुरआमाले खाना ल्याएर मलाई खुवाउनुभयो | त्यो दिन भोकै सुत्नु मन थियो तर मेरो माया गर्नी मानिसको जानी जानी चित्त दुखाउन चाहन्थिन |

भोलिपल्ट बिहानै बुबा कराउनुभयो “ हैन यो भित्ताको ऐना कहाँ गयो ?”

मेरो कानमा ऐना शब्द ठोक्किन नपाँउदै सिरानीको छेउमा रहेको ऐना उठाएर बुबालाई दिएँ | धन्न ममीले बाबाको कुरा  सुन्नुभएन  र  त म बाच्न सफल भए नत्र भने यहि बिषयमा गालि सुन्नुपर्थ्यो |

बुबा मेसिन लिएर धारा तिर जानु भएको थियो |

मैले सोधे “ बुबा के गर्न जान लाग्नुभएको ?”

बुबाले भन्नु भयो “ म दारी फाल्न लागेको नानि |”

मलाई अधेरी काली नभन्ने आफन्त भरिमा  हजुरआमा पछीको बुबा हुनुहुन्थ्यो |उहाँ मलाई त्यस कारण ज्यादै मन पर्थ्यो |

“मुख को रौ फाल्न हो बुबा ?”  मैले सोधे

बुबा “हो छोरी”

म बुबा सितै धारा तिर गए |

बुबालाइ सोधे “बुबा दारी फालेपछि के हुन्छ ?”

“सफा राम्रो भइन्छ छोरी |” बुबा ले भन्नुभयो

राम्रो शब्द सुन्ने बित्तिकै  म बुबाको कुरालाई महत्व दिन थालिसकेको थिए |

बुबाले सुरुमा  दारीमा पानी लगाउनु भयो | त्यसपछि साबुन लगाउनुभयो | मुख बाट फीज निस्किन थालेपछि उहाले मेसिन लगाउनु भयो | उहाँले जति चोटी माथि बाट तल मेसिन लानुहुन्थ्यो त्यति  पटक म गनेर बसेको थिए |उहाले २८ पटकमा दारी  सबै फाल्नुभयो | अघि भर्खरसम्म कालो नराम्रो देखिनु भाको बुवा अहिले दारी फालेपछि गोरो देखिनुभयो | म दङ्ग परेर हेरिरहेको थिए |

म भने बल्ल गोरो हुनी रहस्य पत्ता लागेकोमा मक्ख थिए | बुबाले त्यो मेसिन लगेर खोपीमा राख्नुभयो |खोपी अग्लो भएकोले मैले भेट्न सक्ने कुरो थिएन |

लामो समयको प्रयास पछी पनि त्यो मेसिन झिक्न नसकिरहेको म निरास थकित  भएर बसे | त्यो खोपी खाटको माथि थियो | बुबा भुँइबाटै भेट्ने मेसिन ,  म खाट माथि चढेर पनि भेट्न सकेको थिइन | त्यसपछि बाहिरको कुर्सि ल्याएर खाटमाथि राखे अनि कुर्सिमा चढेर बल्लतल्ल मेसिन झिकेँ | तर ओर्लिन लाग्दा कुर्सि पल्टियो र म भुइँमा लडें | ठुलो आवाज आएकोले आन्टी दौडदै आउनुभयो | मलाई खुट्टामा चोट लागेको थियो | म भने जति दुखेपनी रोएको थिइन |  आन्टीले गालि गर्दै मेरो शरिर हेरेर फर्किइन |

म भने सुटुक्क मेसिन ,ऐना, साबुन र अन्खारमा पानी लिएर जमुनाको बोट मुनि गए | बिस्तारै मुख भरि बुबाले जसरी नै  साबुन लगाए | बिस्तारै मेसिन माथिबाट तल गर्दै लगे | केहि छिनको प्रक्रिया पछी गालाबाट रगत बगिरहेको देखे| हत्त पत्त दौडिएर गंधेको पात निचोरेर त्यसको रस गालमा लगाए | केहि बेर गंधेको पात गालामा टासेर बसे | केहि समयमा रगत थामियो | म डराइ डराइ घर तर्फ लागे | मेरो दिदी धारामा पुजा साबुनले लुगा धुदै थिइ | त्यो पुजा साबुन देखि पनि रिस उठेको थियो | म दिदीलाइ हेर्दै नहेरी भर्यांग चढेर माथि लाग्दै थिए | घरमा सधै भरी हलो जोत्ने हलि मगरा थियो |हामी उसलाई मह दाइ भनेर बोलाउथेउ | उसले अरुले गरेको कामको याद गर्दैनथ्यो |  तर त्यो दिन मेरो गालामा काटेको देखेछ | तुरुन्त ममीलाई कुरा लगायो | तर ममी तरकारी टिप्दै भएकोले रगत आए नआएको सोधेपछि भने रगत नबगेको कारण ले वास्ता गर्नु भएन |

मैले भित्ता को ऐना ढल्कौदै अनुहार हेरे | कुनै ठाउमा  अलि अलि गोरो भए जस्तो देखिन्थ्यो  त कुनै ठाउमा उस्तै कालो थियो |  केहि ठाउमा काटेको घाउ थियो | गाला भने  बेस्सरी दुखेको थियो | नुन खुर्सानी घाउमा दल्दा जस्तो दुख्छ त्यस्तै दुखेको थियो | यो उपाय पनि खतरनाक सोचेर त्यहि दिन देखि मेसिनको काम  गर्न छोडिदिए | तर मैले गरेको यो काम भने आफन्तलाई पत्तो नै भएन |

बिस्तारै हजुरामा भएको छेउमा गएर सुते | म सुक्क सुक्क रोइरहेको थिए | हजुरामा आँखा देख्नुहुनथ्यो | म रोएको देखेपछी  अँगालो मारेर सोध्नुभयो “ मेरो कान्छी लाइ कसैले पिट्यो क्या हो ?”

म झन् डाँको छोडेर रोएको थिए | मलाई सार्हैनै भारि मन भएको थियो |मैले हजुर आमालाई सोधे “ आमा म नराम्री छु है | सबैले त्यसै भन्छन ?

हजुरआमाले  भन्नुभयो “ तिमीलाई नराम्री कसले भन्यो र? तिमीलाई काली पो भनेका हुन् त? काली भन्नु  नराम्रो  हो त?”

मैले हजुरआमाको  कुरा काट्दै भने “काली भएर त सबैले नराम्रो भनेकानी हजुरामा| हजुरले मलाई देख्नु भएको छ ? म त सार्है नराम्री पो छु त| हजुरले आँखा देख्ने भएको भए अरुले गिज्ज्याये जस्तै गिज्याउदै गालि पनि गर्नुहुन्थ्यो हगी ? |”

हजुरआमाले अँगालोमा  बेर्दै  भन्नुभयो “ सानु तिमि नराम्री छैनौ | कसैको घरको समान नसोधी चोर्ने , अरुलाई पिट्ने ,अरुलाई दुख दिने मानिसहरु नराम्रा हुन्| कालो हुदैमा नराम्रो हुदैन | सुन त , तिमीले शिभारात्री कुन भगवान सम्झन्छौ ? ”

अस्ति नै बाटो छेक्ने दिनमा शिवजीको फोटो राखी डोरीले बाटो झेकेको सम्झेको थिए |

मैले भने “ शिवजीको हजुरामा |”

हजुरआमाले भन्नु भयो “ अनि हेरत  शिवजी काला छन् | तर पनि संसारमा उहाकै पुजा गर्छन | उहाँलाई इश्वरको पनि इश्वर महेस्वर  मान्दछन् | यस्तै दुर्गा , महाकाली पनि काली  छिन् |महाकालीलाइ काली भन्दा रिस उठेको छ त ?  कृष्ण भगवान पनि काले नै छन् | तर उहाँहरुलाई नराम्रो कसैले भन्छन त ? संसारका सबै काला गोरा मानिसले  उहाँहरुलाई पुजा गरेका छन् | तिमि धेरै पढ्नुपर्छ | असल ज्ञानी मानिस बन्नुपर्छ | अनि सबैले तिम्रो प्रसंशा गर्छन् | अनि एउटा कुरा तिमीले आफुले आफुलाई कहिल्यै नराम्रो सोच्नु हुदैन | कसैले तिमीलाई हेपेर नराम्रो भन्छ भने, तिमीले आफु धेरै राम्री छु भनेर जितेर छोड है | किन भने साच्चिकै मेरी सानु राम्री छिन् र धेरै पढेर अझ ज्ञानी हुनेछिन |”

त्यो दिन म आनन्दले सुतेको थिए | भोलि बिहानबाट धेरै पढ्ने र ज्ञानी हुने सोच राखेर निदाए |

भोलि बिहान घरमा पल्लो गाउका  ठुलोबुवा आएका थिए | बुबा र उनको गफ सुन्दै थिए |

“ ए दाइ छोरीहरुलाई पनि बोर्डिंग स्कुल हालछन् त? त्यहाँ माथि यति धेरै छोरीहरुलाई तेरो जागिर पनि छैन कसरि पढाएको छस ? छोरी त अर्काको घरमा पठाउनी जात हो | यस्तो खर्च गरेर पढायो भने टाउकामा टेक्छन | अहिल्यै देखि बिचार गरेस |”

“सालाले  सल्लाह दिएका हुन्  | उनेले सहयोग पनि गरेका छन्” बुबा ले भन्नुभयो |

हुनत मेरो बुबा सोझो भएकोले प्रतिउत्तर पनि दिनुहुन्नथ्यो |

मलाई भने मुख भरिको जबाफ आएको थियो |तर ममीले मलाई रोक्नुभयो |

ममी ले भन्नुभयो “खुरुखुरु राम्ररी पढेर देखाइदेओन | ति सबैले हेरेर बस्छन | बोल्न पनि सक्दैनन् |”

मेरो रिस त अझै मरेको थिएन| अलिकति रुखो स्वभाबको म अन्याय बोलेको सुन्न सक्दिनथे | तर पनि ममीको अगाडी चुप भएर बस्नु ठिक भएकोले चुप लागेको थिए |

तर पनि ति ठुलोबुबा कति खेर जान्छन भनेर हेरेर बसेको थिए | म पढेर ठुलो भइन्जेलमा त उनले भनेको कुरो बिर्सिन सक्छन् भन्नि सोचेर त्यहि बेलामा उत्तर दिन चाहेको थिए |

उनि साइकल चढेर केहि टाढा पुगेका थिए | म चिच्चौदै बोलाए |

“ ठुलोबुवा तपाइको छोरो  त पढ्नमा लद्दु छ | हामी त सबैले पुरस्कार ल्याउछम् |” भन्दै दौडेर घरतिर आए

यति भनेपछि म आनन्द सास लिदै खाना खाएर स्कुलतर्फ लागे |

स्कुल पुगेपछि म्यामको पहिलो कक्षा थियो | केहि समयमा मैले म्यामलाइ  केहि प्रश्न सोधे |

“ म्याम काला भइकन राम्रा मान्छेको नाम भन्नुस न ?”

कक्षाका सबै जना गलल हासें |

म्याम एक छिन अकमक्क पर्नुभयो | मैले सोचें हजुरामाले भनेका भगवानको नाम त मलाई पनि आउथ्यो | तर म्यामले भने अर्कै उदाहरण दिनुभएको थियो |

 पेले , नेल्सन मन्डेला जस्ता थुप्रै उदाहरण दिनुभएको थियो |

त्यहाँबाट मलाई  कालो शब्द संग कुनै पनि हैरानी लाग्न छोड्यो | त्यो दिनबाट कसैले काली भन्दा झन् प्यारो नाम लाग्न थालिसकेको थियो |

– डा. सबिता सुबेदी
चितवन

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.