~प्रकाश कोइराला~
१.
मन हो जन मन हो धन मन हो जीवन
मन हो टन मन हो घन मन हो निर्जन
मन सत्य हो मन नित्य हो राज मनकै
मनकै मन मरेको घडी मनको कीर्तन
२.
नेत्र जागेर पठाउँछ मस्तिष्कमा राम्राजती
मन सबै कुम्ल्याउँदै भन्छ सबै राम्रा अति
दुनियाँले छानी लान्छ राम्रा अनि हाम्रा सबै
बिछोडको वेदनाले बबुरो मन रुन्छ कति !
३.
चित्कारले बेहोसिँदा मन बबुरो काया भर्छ
कङ्कालझैँ अवशेषमा मन बबुरो छायाँ भर्छ
दुनियाँको घृणा निली अमृतरसको आशामा
मस्तिष्क र हृदयमा मन बबुरो माया भर्छ !
४.
मनको सुने दुनियाँ हुने मनले ज्यान सखाप पार्ने
लिढी र ढिपी मनकै हुने मनले घरी आलाप सार्ने
मनलाइ राखेर काबूमा इन्दृयगति र मति सुधारे
टेढोमनलाई दुनियाँले सोझो भनेर धाप मार्ने
५.
सपना शिथिल भैसके मन बबुरो सलबलाउँछ !
लक्ष्य मैजारो भासमा मन बबुरो खलबलाउँछ !
बाल्यकाल, किशोरावस्था र यूवावस्था खेर गयो
लाशको छातीमा नाचेर मन बबुरो हलचलाउँछ