~अन्वेश राई थुलुङ्ग~
‘हाफटाइमसम्मको नतिजा, त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’
एकछिनको लागि खेल रोकियो, नियमानुसार । मैदानले केहिबेर सुस्केरा लियो । त्यतिकैमा एकहुल युवती चटपटे पसलतिर लागे । केटाहरुको ठूलो जमात साझा समस्याको समाधान गर्न सौचालयतिर जाँदै थिए । बसिरहेकाहरुमध्ये कोहि हाफटाइम अघिको खेलको बारेमा समिक्षा गर्न व्यस्त थिए । कोहि बस्न नपाएर, कोहि चुस्स हेर्न इत्यादि प्रयोजनले धेरैजना उभिरहेका थिए । दर्शकको यो भीडमा सबैको केहि न केहि प्रयोजन भने अवश्य थियो । केहि त अपरिचित विपरितलाई जिस्काउने प्रयोजनले मात्रै पनि आएका थिए । समग्र मैदानमा फुटबलको रौनक थियो ।
सौचालयबाट फर्किएपछि हेमन्तले एकपटक यामतिर आँखा पु¥यायो । उसैतिर रहेछन यामको नजर, हेमन्त मुस्कुरायो । पाँच औँला उठाएर यामले ओठमा केहि आवाजविहिन संचार ग¥यो । ‘हजार’ !
‘ ल भन् ! कसले आज कसले जित्छ ?’
‘ झापाले ।’
‘ म आर्मी ।’
‘ त्यसो भए लगाउँनत पाँच हजारको बिट ।’ घरबाट भर्खरै पठाएको पढाइखर्च दाउमा हाल्यो हेमन्तले । हिजो मात्रै जितौरीको रुपमा हेमन्तले यामकै एकहजारले उसैलाई मापसे गराएको थियो । जित्नेलाई फेरी जित्ने र हार्नेलाई जित्ने इच्छाले, बाजीको अनौठो लत लाग्छ । याम पनि सुरियो ।
‘ ल थापौँ न त ।’
‘ अझै खेल सकिएको छैन । खेल हो जे पनि हुन सक्छ ।’ हेमन्तले प्रतिवाद ग¥यो । याम केहि नबोली मुस्कुरायो । भीड उस्तै थियो । चिसो हावाले ल्याएको भुइकुहिरोसँगै मैदानमा एकपललाई अस्पष्टता छायो । खेल पुनः सुरु भयो ।
दोस्रो हाफ । खेल प्रतिस्पर्धात्मक भइरहेको थियो । हेर्ने जो कोहिविच एउटै अन्यौलता थियो, जितको । बल जबजब गोलपोष्टको नजिक पुग्थ्यो, आवाजको ठूलो भंगालो पनि सँगै उठ्थ्यो । दर्शकको महत्व र काम सायद यहि हुनुपर्छ । मैदानको चारैतिरबाट बडो रुचिपुर्वक दर्शकहरु खेलको मज्जा लिइरहेका थिए । बल जतातिरै होस्, आफ्नो पक्षको वा विपक्षको टिमतिर तर दर्शकको ध्यान भने अवश्व हुन्थ्यो । आफुले चाहेको टिमको पोष्टतिर भए डरले र विपक्षीको तिर भए उत्साहले । सायद खेलले पलपलको लागि यहि कारणले मानिसलाई बाँध्छ । एकपटक झापाले बल आर्मीको गोलपोष्टसम्म पु¥याएर प्रहार ग¥यो । बल आकाशियो । सबै चुक्चुकाए । हेमन्त पनि साथै चुक्चुकायो । उ एकपटक यामतिर फकिर्यो । संयोगवस दुवैका नजर जुध्न पुगे । मुस्कुराएर यामले आँखाले मैदान छेउ इसारा ग¥यो । हेमन्त त्यतैतिर फर्कियो । ‘ रुस्लान भोड्का ’ को व्यापारिक बोर्ड । हेमन्त फर्कियो । आँखा जुधे र ओठ मुस्कुराए, दुबैको ।
‘ खेलको अन्तिम नतिजा त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’
खेलको समाप्तीसँगै बस्नुको औचित्य रहेन सबै मैदान छाड्न लागे । खेल झापाले बाहेक हेमन्तले पनि हारेको थियो । तर हार्नुसँगै उसमा नमीठो भने त्यति थिएन । अँगालोसँगै याम पनि छेउ आइपुग्यो । ‘ के छ त विचार ?’ याम मुस्कुरायो ।
‘ खेल त झापाकै राम्रो थियो । आर्मीले त लकले मात्रै जितेको हो आज ।’ सानो समिक्षा ग¥यो ,हेमन्तले ।
‘ जसले गोल लायो त्यसले जित्यो, राम्रो खेलेर मात्र हुन्छ गोल पनि त गर्न सक्नुप¥यो नी ।’ यामले हार्न मानेन । ‘ खोइ दुइ हजार मात्र दे, आज पार्टि हान्नुपर्छ ।’ फर्किनेको भीडविच दुवै मिसिए ।
‘ म पनि पहिला त अति फुटबल खेल्थे ।’ यामले भटमास खाँदै भन्यो । रुस्लान भोड्काको ५०० एमएलको बोतल र भरिएका गिलासविच टेवलमा भट्मास र सुकुटिका प्लेटहरु थिए । दुबै निकै मातेका थिए । ‘ एकपटक फुटबल खेल्न हामी झापा पनि पुगेको थियौँ । खेल्दाखेल्दै केटाहरुसँग कज प¥यो । त्यसपछि हानाहान । छेउको बाँस तानेर मानेले झापाको केटालाई हानेछ । सालाको टाउकै फुटेछ । ए….. त्यसपछि त भागा रे भाग । राति नै इलाम आइपुग्यौँ ।’
‘साला ! गफ लाँउछस ।’ मातेको सुरमा हेमन्तले भन्छ ।
‘ क….सम ! नपत्याको । मिलनेलाई सोध न भोली ।’ एक स्वाट मापसे गर्छ । ‘ त्यो नि थियो ।’
हेमन्तले एकछिन नबोल्ने इसारा गर्छ । याम चुप लाग्छ । हेमन्तले फोन रिसिभ गर्न बाहिर जान्छ । एस्ट्रेको चुरोट उठाएर यामले धुवाँलाई कोठाको वातावरणमा मिलाउँछ । हेमन्त फर्कन्छ ।
‘ कसको फोन ?’ यामले सोध्छ ।
‘ घरबाट । हिजो पठाको पैसा पाइस् कि पाइनस् भनेर सोध्न रैछ ।’ यामतिर चुरोटको लागि हात लम्काउछ ।
‘ मेरो पनि घरमा पैसा माग्नुपर्ने । बाह्रको फर्म पनि खुल्यो भन्थ्यो । ट्युशनको पनि पैसा दिनुपर्ने ।’ चुरोट दिँदै यामले भन्छ ।
हेमन्तले एकपटक चुरोटलाई तानेर धुवाँलाई बाहिर फ्याल्छ । ‘ कलेज नगको पनि चार दिन भएछ, भोली चैँ फर्म भर्न जानुपर्छ । ल भन् भोली कुन टिम ।’
‘ थ्री स्टार ।’
‘ म सिक्किम ।’
‘ ल आइज हजारको बिट ।’
अन्वेश राई थुलुगं
प्रकाशितः इलाम पोष्ट दैनिक, इलाम
मितिः २०७१ माघ २१ गते, बुधबार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)