कथा : म गणितमा कमजोर छु

~कमल कुमार~kamal-kumar

“तिमीलाई के गर्न मन लाग्छ ?”

“मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।”

“तिमीले नेपालको बारेमा सुनेकी छ्यौ ?”

“अँ सुनेको छु। नेपाल गरिब देश हो। अनि ……….।”

“अनि के ?”

“मैले त्यहाँको मानिसहरुलाई सहयोग गर्न खोजेकी थिएँ। तर ……..।”

“तर के ?”

“मैले त्यहाँका मानिसहरुलाई लाउनको लागि केही पुरानो लुगाहरु जुटाउन खोजेको थिएँ। तर ……..।”

“तर के ?”

“तर मेरो स्कूलले मलाई सहयोग नगरेको कारण मेरो इच्छा पुरा हुन पाएन। ”

“साह्रै राम्रो। तिमी पश्चिमाहरु ज्यादै असल हुन्छौ।”

“अहँ, म असल छैन”

“किन नि ?”, मैले उत्सुक हुँदै सोधेँ।

“किनकि म गणितमा एकदम कमजोर छु। म मुस्किलले यो विषयमा पास हुन्छु। मैले यो विषयमा सँधै तृतिय श्रेणी पाउन्छु। ज्यादै दुःख लाग्छ। अहँ म असल छुइनँ। मलाई असल नभन्नोस् ”

“अहो कस्तो हाँसो उठ्दो कस्तो रमाइलो ?” म आवाज निकालेर हाँस्छु। म उसको कुरा सुनेर ऊ प्रति हाँसेको भन्ने त उसले थाहा पाई। तर मैले बोलेको शब्द भने उसले नबुझेको भान हुन्थ्यो।

“ए साँच्चि तिमी कति वर्षकी भयौ रे ?”

उसले नहिच्किचाइकन भनी ” म १४ वर्षको। यो डिसेम्बरमा १४ लागेँ। ”

मैले पनि हत्त न पत्त भनेँ “म १९ वर्षको, अब एक महिना पछि २० लाग्दैछु। ”

उसले वास्ता नै गरिन। मैले बुझ्न पनि सकिनँ। मैले फेरि उसलाई मेरो उमेर सोधेँ भने उसले भन्न सक्छे कि सक्दिन।

मैले फेरि कुरा लम्ब्याउने उद्देश्यले भने ? ” ओहो साह्रै असल। हाम्रो देशका चौध वर्षका केटाकेटीहरु त तिमीले जति सोच्छ्यौ त्यसको एक चौथाइ पनि सोच्ने सामर्थ्य राख्दैनन्। अझ तिमी त बालिका। हाम्रा छोरीहरु त झन् छोरा भन्दा कमजोर हुन्छन्। ”

उसले मेरो कुरा बीचमै काटेर सोधी ” किन ?”

उसले मबाट लामो उत्तरको अपेक्षा गरेकी हुनुपर्छ तर मैले छोटो जवाफ दिएँ “खोई ”

मेरो उत्तर दिने पाराप्रति उसलाई रिस उठेको जस्तो देखिन्थ्यो। ऊ त्यसपछि चुप लागी। मैले नै कुरा अगाडि बढाएँ।

“त्यसैले त म भन्दैछु, तिमीहरु असल हुन्छौ। मिहेनती हुन्छौ।”

उसले फेरि हत्त न पत्त जवाफ दिई – “अहँ म छैन। किनकि म गणितमा कमजोर छु। ”

मैले तिम्रो मात्र कुरा गरेको होइन सबै पश्चिमाहरुको कुरा गरेको। ऊ मौन रही।

तिमीलाई पियानो बजाउन बाहेक के गर्न मन लाग्छ नि ? उसले भनी – ” कविता लेख्न ”

“ओहो तिमी यति सानै उमेरमा कविता पनि लेख्छ्यौ ?, साह्रै राम्रो ” मैले उसलाई फुर्क्याउने उद्येश्यले भने।

“हेहे” ऊ आवाज निकालेर हाँसी। जोडले हाँसी म पनि मुसुक्क हाँसे। हाम्रा नेपालीहरु पनि तिमी जस्तै गरी हाँस्छन् नि। “हेहेहे” मैले उसको जस्तै गरी बनावटी हाँसो हाँसे।

उसले अचम्म मान्दै सोधी -” नेपालीहरु पनि हाँस्छन् र ? उनीहरु त गरिब हुन्छन्। उनीहरुसँग खाने कुरा पनि हुँदैन। अनि लाउने लुगा पनि हुँदैन। सबै हामीले नै दिनु पर्छ। उनीहरु हाँस्छन् र ? फेरि म जस्तै गरी ? हामी जस्तै गरी ? असम्भव। हेहेहे।”

ऊ फेरि जोडले हाँसी।

” म हाँसी त रहेकी छु नि। म नेपाली हैन र ? ” मैले हाँस्दै उसलाई बुझाउन खोजेँ।

उसले फेरि जोडले हाँसेर टारी दिई। उसलाई धेरै बुझ्नु जरुरी थिएन। उसकै बुझाइ पर्याप्त थियो। नेपालीहरु हाँस्दैनन्।

केही बेर उसले थरीथरीको अमेरिकी हाँसोको नक्कल गरी। मैले पनि थरी थरीको नेपाली हाँसको नक्कल गरेँ। दुबै जना जोडले हाँस्यौं। निकैबेर हाँस्यौं। हाँसो महोत्सव झैं लाग्थ्यो। हाँस्न थाके पछि मैले नै कुरा कोट्याएँ – “तिमी कविता लेख्छ्यौ भनेकी हैन ?”

“अँ” उसले ठाडो जवाफ दिई।

” मलाई कविता लेखने मान्छे एकदम मन पर्छ। ”

म उसको प्रतिक्रिया पर्खिरहेँ। लगभग १५ सेकेण्ड पछि उसले सोधी ” किन?”

” किनकि म पनि कविता लेख्छु ” उसको प्रश्न भुइँमा र्झन नपाउँदै मैले भनेँ।

” ए ” उसले जवाफ छिट्टै दिई तर वास्ता नगरिकन दिई। मैले केही बोल्नु भन्दा पहिले नै यसले फेरि भनी “राम्रो”

“तिमीले लेखेको कविता सुन्न पाए हुन्थ्यो। ” मैले अनुरोध मिश्रित स्वरमा भनेँ।

ऊ एक छिन मौन भएर “भनी एउटा त छ तर अल्लि पुरानो छ ”

” किन पुरानो नयाँ सुनाउन ” यति कुरा मनमै रहृयो।

भनेँ ” भईहाल्छ नि पुरानो भए पनि सुनाउन ”

उसले कविता सुनाई –
“म आकाश छुन चाहन्छु
क्षितिज भेट्टाउन चाहन्छु
सूर्य दिनभरि एउटा आकाशबाट
अर्को आकाशमा पुगी सकेको हुन्छ,
तर म भने जहाँको तहीँ
म अँगालो मार्न खोज्छु क्षितिजलाई
तर म भन्दा पहिलो क्षितिजको काखमा सूर्य पुगीसकेको हुन्छ
म चुम्न खोज्छु आकाशलाई
तर मैले भन्दा पहिले सूर्यले छोइसक्छ
ऊ भन्दा पनि पहिले उसको किरणले
म चाहिँ जहिँको तहिँ
न आकाश छुन सक्छु न क्षितीज भेट्टाउन सक्छु ……………… सक्यो ”

” वा वा वा, अति राम्रो। सँधै सुनिरहुँ जस्तो लाग्ने अति राम्रो। ओ हो ” मैले जाने जति शब्दले मुक्त कण्ठले उसको कविताको प्रशंसा गरेँ। उसले आधा खुशी र आधा अचम्म मिसिएको अनुहार पार्दै भनी – “राम्रो छ र ? मलाई त त्यस्तो लाग्दैन। ”

म केही बोल्न खोज्दै थिएँ उसले फेरि भनी – ” झन् यो कविता त पुरानो। दुई वर्षअघि लेखेको त्यतिबेला म पाँच कक्षामा पढ्थेँ। ”

“ए, भने पछि तिमी अहिले सात कक्षामा पढ्छ्यौ ? ”
“हैन आठ कक्षामा”

मैले मनमनै गमेँ दुई वर्षअघि पाँच कक्षामा पढ्ने मान्छे त अहिले सात कक्षामा पढ्नु पर्ने हो। मैले चाहेर पनि उसँग स्पष्टिकरण मागिनँ किनकि उसले नै भनेकी थिइ ऊ गणितमा कमजोर छे।

“आज स्कूल किन नगएको त ?” मलाई आज आइतबार भन्ने थाहा हुँदा हुँदै पनि सोधेँ।

उसले भनी – “आज आइतबार हो ”

“अनि के भो त ?” मैले हेपेर सोधेँ।

“आइतबार हाम्रो छुट्टि हुन्छ। ” उसले मलाई पढाउने पारामा जवाफ दिई।

” ए हो ? हाम्रोतिर त शनिबार छुट्टी हुन्छ”

एक छिन दुबै जना मौन भयौं। एक्कै छिन १५ सेकेण्ड जति।

उसले आफैं भनी म “क्यालिफोर्नियामा बस्छु। मेरो बुबा टेक्ससमा बस्नुहुन्छ। म मेरो आमासँग बस्छु। ”
मैले उसको परिवारतिर त्यत्ति चासो दिइनँ। सोचेँ उसको बाउ टेक्सस भन्ने ठाउँमा जागिर खान बस्छन् होला। फेरि मैले टेक्सस र क्यालिफोर्नियाबिचको दूरी पनि नजरअन्दाज गर्ने कोशिश गरिन।

मैले छोटो जवाफ दिएर टारेँ – “ए”

मैले सुनेको थिएँ पश्चिमाहरु दश वर्षो भए पछि चुरोट रक्सी सबै खान्छन्। यी सबै उनीहरुको लागि सामान्य हो।

मैले जान्ने उद्येश्यले सोचेँ – ” तिमी चुरोट पिउँछ्यौ ?”

“अँह यतातिर १६ वर्षो नभई चुरोट खानु गैरकानुनी हो। तर म १६ वर्षो भए पछि पनि चुरोट खान्न।
किनकि मलाई चुरोटको गन्ध नै मन पर्दैन। ”

“ए, अनि तिमी रक्सि खान्छौ कि खाँदैनौं नि ?

“म संसारमा सबैभन्दा घृणा रक्सीलाई गर्छु उसको अनुहार साँच्चै नै रिसाएको जस्तो देखियो , ” रक्सी मलाई पटक्कै मन पर्दैन। मेरो एकदम जँड्याहा हुनुहुन्छ। ”
“ए”

ऊ अल्लि बढि जटिल हुँदै गईरहेकी थिई अर्थात हाम्रा कुराकानीहरु। जति बुझे पनि नसकिने। कति बुझौं कसरी बुझौं। त्यसैले म सबै कुरालाई हल्कासँग मात्र लिइरहेको थिएँ। बढि खोजतलास गर्नेतिर लागेको थिइनँ।

” ए साँच्चि आज मेरो सौतेनी बुबा आउनु भएको थियो। हामीलाई भेट्न” उसले ज्यादै स्थिर भएर यसो भनेपछि म झसँग भएँ।

“सौतेनी बुबा ?”

उसले टाउको हल्लाई।

“तिम्री आमाले दोस्रो विहे गर्नु भएको हो ?”

“हो -”

“अनि तिम्रो आफ्नै बुवा, जन्म दिने बुवा ……..?”

प्रश्न पूरा हुन नपाउँदै उसले भनी “टेक्ससमा हुनुहुन्छ। ”

“त्यो त मलाई थाहा छ, तिम्रो आमा र बुवाबिच सम्बन्धविच्छेद भइसकेको हो ?

उसले फेरि टाउको हल्लाई।

“किन” मैले अधैर्य भएर सोधिहालेँ।

“किनकि मेरो बुवाले धेरै रक्सी पिउनु हुन्थ्यो। अनि आमा र बुवाको सँधै झगडा भईरहन्थ्यो। त्यही भएर”

“तिम्रा दाजुभाइ दिदीबहिनी पनि छन् ?”

“एउटा दाइ छ, १९ वर्षको भयो। ऊ चाहिँ बुवासँग टेक्ससमा बस्छ। अनि म चाहिँ आमासँग ”

“तिमी आमासँग बस्न पाउँदा खुशी छ्यौ हैन त ? ”

उसले भनी – ” अहँ पटक्कै खुशी छैन ”

मैले अचम्म मान्दै सोधेँ – ” ए त्यसो भए तिमीलाई तिम्रो बुवा चाहिँ मन पर्छ ? तिमी बुबासँग बस्न चाहन्छ्यौ हो ?”

उसले फेरि मैले नचिताएको जवाफ दिई ” अँह होइन ”

मैले केही बोल्नु भन्दा पहिले नै उसले भनी – “म मेरा आमा बुबा दुबै जनासँग बस्न चाहन्छु। ”
उसको प्रश्नले मलाई ज्यादै भावुक बनाइसकेको थियो। मैले उसको बारेमा थप जान्न चाहेँ। विशेष गरी उसको आमा बुबाको बारेमा

मैले सोधेँ – तिम्रा आमा बुबा कति वर्षको हुनुहुन्छ ?

जवाफ आएन।

फेरि सोधेँ उहाँहरुको बिहे भएको कति वर्ष भयो ?

अझै जवाफ आएन।

मैले अझै सोधेँ उहाँहरु छुट्टिएको कति वर्ष भयो ?

फेरि जवाफ आएन।

बल्ल सम्झेँ उसले अघि भनेको कुरा ऊ गणितमा कमजोर छे।

October 18th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.