~दिपा धिताल~
ए, देशलाई लुट्न र भुट्न खोज्ने राष्ट्रघातीहरू
लुट, जति सक्छौ लुट
भुट जति सक्छौ यो देशलाई
आमालाई रुवाएर हाँस्ने तिमी सन्तानलाई
अरूलाई मराएर बाच्ने तिमी मेची–महाकालीको साँधमा
सैतानको बुट बज्रँदा पनि टुलुटुलु हेर्ने तिमी
ए बृद्ध ब्वाँसाहरू हो
आउ, असहायको आँसुले भिजेको माटो सुँघ्न
तिमीलाई के थाहा ?
माटोमा कसरी फूल फुल्छ भनेर
आउ, विवशता र व्यथामा पिल्सिएका बाबा–आमाको आँसु हेर्न
तिमीलाई के थाहा ?
प्रचण्ड ताप सहेर मौन बसेका मन
कति तर्किएका छन् भनेर
आउ, रोइरहेका बस्तीको बिजोग हेर्न
तिमीलाई के थाहा ?
कालखण्ड जस्तै पिल्सिएका घरका गारा
कति चर्किएका छन् भनेर
आउ, सडकका गल्लीमा छरिएका मानिसका लास हेर्न
तिमीलाई के थाहा् ?
टायर बालेर अवरुद्ध पारिएका सडकका आत्मा
कति जलिरहेका छन् भनेर
तिमीलाई के थाहा ?
सन्तानको पीडामा आमाको आँसु लिलाम भएको
आमाको काख वेइज्जत भएको
भाउजूको सिन्दुर बलात्कार भएको
दाजुको बलिदान अपमान भएको
दिदीबहिनीको अस्तित्व लुटिएको
रमाउ, जति सक्छौ रमाउ
लुुटाउ, जति सक्छौ यो देशलाई
तिम्रो त गास छँदै छ
तिम्रो त बास छँदै छ
तिम्रो त कपास छँदै छ
भोकले मर्ने हामी नै हो
जाडोले कठङ्ग्रिएर मर्ने हामी नै हो
साउन÷भदौको भेलमा बग्ने हामी नै हो
तर हाम्रो सर्वस्व लुटिए पनि
बाच्ने तिमी नै हो ।
(तुलसीपुर, दाङ)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ४० – Sep, 9, 2015 – २०७२ भाद्र २३ गते, बुधबार )