~गोविन्दप्रसाद आचार्य~
गधाले गाईको आवाज निकालेर ढाट्यो
राम्रो कतै देखिंदैन के के हुन आँट्यो
अराजकता अति भयो अव हुने के हो
अपराध सबै गए अब गर्ने के हो
यति अग्लो कहाँ होला अन्यायको चुली
फल्ने फुल झारे बाँदर बगैचामा डुली
जता टेके पनि जमिन अन्यायले भास्यो
अत्याचारले सिमा नाग्दा अराजकता जाग्यो
प्रगतिलाई विनासले लग्यो विनासमा
अगतिलो अति माथि उडयो आकाशमा
जता पनि भत्किएको बन्ला जस्तो छैन
यस्तो कालो लोकतन्त्र ल्याउने रहर होइन
थोरै मोटा धेरै दुब्ला असमानता यस्तो
बेथितिले गाँजा हाल्यो देश हुने कस्तो
गधाले बाँसुरीमा भर्न थाले धुन
धुनमा मख्ख नपर है खाइने छन खुन
समानताको आवाज गाउँछ गधाले धुनमा
विसका विचार हालिदिन्छ मगज र खुनमा
व्यूँझनु पर्ने मानिसहरू झन तल परेका
मुरली धुन सुनेर हुन्न गधाले भरेका
बितेका दिन रोएर गए धुनमा भुलेर
जागन जाग बसेर हुन्न पापी धुन सुनेर
जता पनि बिरालोले बाटो काटेको छ
भ्रष्टाचारको कालो सर्प डुल्नु डुलेको छ
मनसायले मौरीहरू मार्नु मारेको छ
असिनाले फुलहरू झार्नु झारेको छ
किच्चकले देशलाई कुच्नु कुचेको छ
जता पनि नरमाइलो हावा चलेको छ
जता पनि विनास र भत्काउनेको हल्ला
यी हावाका हल्ला सुन्दा देश कसरी चल्ला
विनासकारी विकासको मुकुन्डोमा आउँदा
पापी भावमा उन्नतीका सुन्दर गीत गाउँदा
लड्ठीएर आफ्नो ठान्दा जीवन जान सक्छ
अन्यायलाई क्षमा दिए झन् झन् दुःख दिन्छ
जहिले पनि अन्यायका चोर विराला तरमा
झुक्याउन आए भने नपर्नु है भरमा
बाँडी खाने नियम आउला भाडी खाने आयो
गाईको आवाज निकालेर गधाले गायो
भोलि कुनै बानी हाम्रो आजलाई छैन
न्यायपूर्ण संघर्षमा पछि पर्न हुनन
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २६ – May 15, 2013 – २०७० जेष्ठ १ गते, बुधबार)