~शेखर बिकल्प~
माउ पार्टि संगको सहकार्य र छलफल पछि यसपालीको बन्दको जिम्मा बिद्यार्थी संगठनले लियो । भोलिको बन्दको नेतृत्व गर्ने जिम्मा राघवलाई शर्मालाई दिईयो । राघव विद्यार्थी आन्दोलनको चर्चित नेता पनि थियो । विकट गाउँबाट उच्च शिक्षा लिन सहर छिरेको गरिबकै छोरो भए पनि लगनशील र जेहेन्दार विद्यार्थी हुनाले सबैको प्रिय पात्र थियो ।
दिनभरी सडकमा टायर बाल्दै ढुंगा, मुढा तेर्साएर देशै ठप्प पारियो । बन्दको क्रममा संस्थान, निगम, पत्रकार या एंबुलेन्स कुनै प्रकारका सवारी पनि चल्न दिईएन । साँझ मात्रै केहि नेताले सम्बोधन गरेर सरकारलाई घुडा टेकाउने भन्दै भोलिलाई पनि बन्दको घोषणा गरि आजको कार्यक्रम सकियो ।
यसपालीको बन्द कार्यक्रमको पुरै जिम्मा राघवलाई दिईयो उ अबेर मात्रै कोठामा छिरेर भोलिको बन्दको बारे योजना बनाउँदै थियो । आन्दोलनमा लागेपछि राघवलाई यताउता सोच्ने फुर्सद नै हुन्थेन । अली अली घरको बारेमा मनमा कुरा खेलाउँदै थियो छेवैँमा रेडियो बजिरहेथ्यो र समाचार आएपछि उसले ध्यान उतै लग्यो – बन्दले जनजीवन कष्टकर ठाउँठाउँमा झडप र करौडौँको क्षति , कालिकोटको दुर्गम गाउँमा बन्दको कारणले समयमै अस्पताल पुर्याउन नसक्दा ‘हरिजन शर्मा’ भनिने ब्यक्तिको हृदयघातले निधन … !
बाबुको निधनले राघव भावबिह्वल भयो । बाहिर टहटह जून लागेको थियो । सडकमा हिड्ने बटुवाहरु ठूलो श्वरमा कुरा गर्दै थिए भोलि पनि पुरै ठप्प पार्नु पर्छ, आजको बन्द सफल भयो ..!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)