कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~

आफ्नो भोक मेट्न
म मेरी आमालाई भोकै राख्न सक्दिनँ
आफ्नो आङ ढाक्न
म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ
आफ्नो घरबारका लागि
म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ
आफ्ना क्ष्ँणिक खुसीका लागि
आफ्ना मिथ्या आकाङ्क्षाका लागि
अरूका सामु सम्पन्न छु भनेर देखाउनका लागि
म मेरी आमालाई बेच्न सक्दिनँ
नेपाल मेरी आमा हुन्
म मेरो नेपाललाई बेच्न सक्दिनँ ।

भोकभोकै मर्न सक्छु
नाङ्गो रहेर बाँच्न सक्छु
खुला आकाशमुनि निदाउन सक्छु
विपन्न जिन्दगी जिउन सक्छु
साँच्चै भन्ने हो भने
म मेरी आमाको सतित्वका लागि
म मेरी आमाको अस्तित्वका लागि
हाँसीहाँसी मर्न सक्छु
डढीडढी खरानी हुन सक्छु
जो कोहीसँग भिड्न सक्छु
जुध्न सक्छु
टुक्राटुक्रा हुन सक्छु
आगोमा कुद्न सक्छु
पानीमा डुब्न सक्छु
यसरी नै
म मेरा सन्तानले
भरिया भएर भारी बोक्दै हिँडेको हेर्न सक्छु
हली भएर हलो जोत्दै हिँडेको हेर्न सक्छु
पाले भएर पेट पालेको सहन सक्छु
मजदुर भएर खटेको सहन सक्छु ।

तर,
डाक्टर, इन्जिनियर, पाइलट तथा विभिन्न विधाका
ठुला ठुला विद्वान् बनाउने लोभमा
प्रतिष्ठित व्यक्ति बनाउने मोहमा
म मेरी आमालाई बेच्न सक्दिनँ
ठुला ठुला महल निर्माण गर्ने लोभमा
चिल्ला चिल्ला राम्रँ गाडीहरूको मोहमा
कुनै पनि आशमा
कुनै पनि लोभमा
कुनै पनि मोहमा
म मेरी आमाको सतित्व बेचिएको हेर्न सक्दिनँ
म मेरी आमाको अस्तित्व लुटिएको हेर्न सक्दिनँ
म मेरी आमालाई बिक्री गर्न सक्दिनँ
बिक्री भएको हेर्न सक्दिनँ
बिक्री भएको सुन्न सक्दिनँ ।

व्यर्थैमा कसैले
मेरी आमाको मूल्य तोक्ने भूल नगर
म नेपाली हुँ
जति नै चर्को मूल्य पाए पनि
म मेरी आमालाई बिक्री गर्न सक्दिनँ
म मेरो नेपाललाई बिक्री गर्न सक्दिनँ ।

श्रीपुरूष ढकाल
सानेपा, ललितपूर

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.