~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो
घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो
तारा चम्के पलक नझुकी रोशनी काख च्यापी
लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१।
चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार
डाँडापाखा हरित लहरा ताल टल्के मुहार
बाला लर्के लहर लहरी फाँट गम्की सुगन्ध
यात्री यात्रा पथ पयरको बन्न लाग्यो प्रबन्ध ।२।
वासन्तीका अपुग सपना फुल्न लागे जवानी
गर्मी , वर्षा कटु प्रलयको मेटिँदै गो कहानी
इन्द्रेणीमा विविध रंगले हात हाले अँगालो
छाती अग्ले श्रमशिविरमा भास अल्प्यो तुवाँलो ।३।
ओढ्छे आफ्नै सकल धरती स्वच्छ नीलो पछ्यौरी
आँखा चिम्ली शिशु शयनमा कान खोज्दै छ लोरी
आशा बोकी ऋतु लहरले भित्र डाक्यो उज्यालो
पर्दा च्यात्ने अब तिमिरको चाँदनीको छ पालो ।४।
यो सन्ध्यामा समर विजयी सत्यको बल्छ पाला
रंगीचंगी कुसुमहरूको बन्छ यै भित्र माला
बाडुल्कीमा प्रणय सुखको देश खोज्छन् विदेश
यो मायामा कपट छलको भित्र क्यै छैन लेश ।५।
स्रष्टा रच्छन् करकमलले रूपका रूप खानी
फक्रेकै छन् मधुर सपना रंगका घामपानी
मेचीकाली समय यसमै छन्द नौलो समाऊ
भित्री भाका जनहृदयको शान्ति धारा बगाऊ ।६।
बस्ती आफ्नै अब सकलले गर्नुपर्नेछ माया
कुल्ची छाया पथिकहरूले उठ्नुपर्नेछ काया
साँची राखौँ युगयुग सधैँ चेतना सिर्जनाका
हाम्रा आभा अझ अमर हुन् भावनाका कलाका !!७।
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )