कविता : ए ! रित्तो पहाड

~निष्नु थिङ~

तुवालो र प्रकाशको रहेछ लुकामारी
वनभरि डाँफे र मुनालको चलेछ प्रेमिल जुहारी

आकाश रुदै छ आँशु झर्दै छ
मेरा पहाडमाथि मडारिएको बादल
कहिले सफा होला भन्ने चिन्ता छ

पारि थुम्कामा देखेको त्यो सेतो बादल
पर अर्काे थुम्कालाई भेट्न जादै छ
ऊ हेर कान्लामा हिँड्ने साइला दाइ
झोला लिएर मुग्लानतिर जादै छ
यहाँको पवित्र जल छाडेर
पराई भूमिमा तीर्खा मेट्न जादैछ

ए ! रित्तो पहाड
तिम्रै काखबाट हजारौँ जलधारा बगेर गए
तिम्रै काखबाट लाखौँ वचेरा उडेर गए
केवल तिमी पर्खिरहेको देख्छु
खोई कसलाई पर्खेको यसरी ?
जानेहरूले कहिल्यै सम्झेनन्
जानेहरू कहिल्यै फर्केनन्
तिम्रा विगत हेर्दा पीडा उर्लेर आउँछ
यो ओठले विरहीमा न्याउली गाउँछ

तिमीले हुर्काएका नानीहरू खाडीमा पसिना बगाउँदै
मेरा देशका तमाम् शासकले युवाहरू उतै भगाउँदै
गाउँ मात्रै होइन, घर पनि शून्य भयो
दोष हाम्रो पनि हो यस्तालाई चुन्ने भयो

ए रित्तो पहाड
तिमीलाई देख्दा मलाई टिठ लाग्छ
तिमीलाई छोडी सबै पर भाग्छ
तिमी हिजो त्यही थियो
आज पनि त्यही छौ
पक्कै ! भोलि पनि यही हुने छौ
तर तिम्रा छातीमा हुर्केर
कोही पुगे मलायका जङ्गलमा
कोही पुगे फोक्ल्याण्डका टापुमा
कोही पुगे अमेरिकाका गल्लीमा
कोही–कोही युरोपका सडक पेटीमा
साँच्चै ! के भन्नु ? खोइ कोही बम्बैका कोठीमा

तिमीप्रति ठूलो दोष छ
तिमीले गाँस दिएन रे !
तिमीले वास दिएन रे !
तिमीले सुख दिएन रे !
तिमीले दुःख मात्रै दिएको आरोप छ

ए ! रित्तो पहाड
तिमी त प्रेमिकाले छाडेको प्रेमी जस्तो देखिन्छ
माहुरीको रानोले छाडेको चाका जस्तो देखिन्छ
सुर र ताल नमिलेको भाका जस्तो सुनिन्छ
तिम्रा बारेमा यहाँ कस्ता–कस्ता कथा बुनिन्छ

ए ! रित्तो पहाड
गरिबी, अभाव, छटपटिएको पर्याय बनी
कति बसी रहन्छौ अनकन्टार यो वनमा
लुछिएको, सिउँदो पुछिएको दुलहीको पर्याय बनी
लालीले वास गरेन तिम्रो जोवनमा

हो छाड्नेले गए छाडेर
तिमीलाई एक्लै यो वनपाखामा
हो त्याग्नेले गए त्यागेर
तिमीलाई एक्लै यो पीडा व्यथामा
हुन त मेरो माटोमा के फल्दैन ?
स्याउ, जुनार, आरु, सुन्तला, भोगटे
सबै त फल्छन् यहाँ
नोटका पत्ताहरू सुनका डल्लाहरू
हिराका मोतिहरू ज्ञानका ज्योतिहरू
सबै यही थिए नि !
तर मेरा देशका बस्तीहरूमा
युवाहरू छैनन्
भलिबलका मैदानहरू खाली छन्
फुटबलका मैदानहरू सुनसान छन्

ए ! रित्तो पहाड
तिमीलाई म सोध्न चाहन्छु
किन ? तिम्रा काखमा बसेनन् ती कोलाहरू
किन ? फेरिएन यतिका वर्षसम्म नेपालीका चोलाहरू

मेरा बाआमाका चाउरी परेका गाला जस्तै
चाउरी परेछन् तिमी पनि
खडेरीमा सुकेका इनार जस्तै
भएछन् तिमी पनि
आफ्ना प्राणभन्दा प्यारो सन्तान
फर्की आउने आशामा चौतारीका
गोरेटा नाप्ने ती नयनहरू
गोठ रित्तो पारेर
चर्न गएका चौरीहरू
साँझमा बास नफर्किदा
छट्पटिएका मनहरू जस्तै
मातापिताका आँखाहरू रसाए
रगत त तिम्रै थियो
श्रम र पसिना त तिम्रै थियो
खोइ यी सबैलाई चटक्कै बिर्सेर
परदेशमा कसरी घर बसाए ?
आफ्नो मृत्युका अन्तिम सास
सन्तानका काखमा छोड्ने धोको
पुरा होला जस्तो छैन यो जुनीमा
रित्तो रित्तो पहाड भएको छ
तिम्रै हावापानी खाएर
तिम्रै दानापानी खाएर
आज तिमीलाई एक्लै पारी गएको छ
यो रीति कहिले रोकिएला ?
यो थिति कसले रोकिएला ?
यही यक्ष प्रश्न सोधेर
केही झिनो आशा बोकेर
आप्mनो अन्तिम सांस साँचेर
बसिरहेछन मेरो रित्तो पहाड बाँचेर ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३३ – July 13, 2016 – २०७३ असार २९ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.