कविता : म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी

~मञ्जु काँचुली~

भूभागहरूलाई देशदर्शन गर्दै-गर्दै
यस भूमिभित्र भित्रिएकी छु
मलाई रथमा मर्ूर्तिवत् पार्दै
चारैतिरबाट झ्याइँकुटी पारेर
नैवेद्य-भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले
सताइरहेकी छु

जुन चीज म दिइरहेकी छु
त्यो तिमीले लिन सकेका छैनौ, चाहँदैनौ
जुन चीज मबाट तिमी हत्याउन चाहन्छौ
त्यो मैले दिन चाहेकी छैन
मेरो भावना र दायित्वको कदर गर्ने
तिम्रो रगतमा त्यस्तो रसायनको तागत छैन
म कुमारी प्रजातन्त्र, तिमी पटके व्यभिचारी
तिम्रो र मेरो आमन्त्रण र लेनदेनको व्यवहारमा
ओजस्विता र अनुशासनको तालमेल छैन

मेरो भर्खरको नयाँ आस्थाको
स्वतन्त्र आकाशजत्रो चाहना छ
तिम्रो पुरानै बानी-बेहोराको आफ्नै आँखाको तुवाँलो
बुङ्बुङ्ती मेरा अगाडि अझसम्म उडेकोउड्यै छ
बीचमा पारस्परिक असङ्गतिको ठूलो पुरानो नाङ्ले भ्वाङलाई
नाङ्लाकै एउटा पातलो घेराले जोडेको जोड्यै छ
कठै ! अझै त्यही बेलिब्रिजका मसिना करङहरूले
तिमीलाई र मलाई एउटै बसको छतमुनि धानिराखेका छन्

शिष्टता र सभ्यताका विरुद्ध तिमी
उही आफ्नो पुरानो थाप्ने गरेको
माटोको बिट मिलेको भाँडो
बजार-बजारभर खोजिहिंड्दै छौ

म रुष्ट भएकी छु आजसम्मको तिम्रो यस्तो
असमर्थता र नामर्दीपनदेखि
यस्तो बेला तिमीले केही गर्नुपर्ने हो

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.