~प्रकाश सुनुवार ‘निराकार’~
कायरहरु
सुन्दरताको बलात्कार गर्न चाहन्छन्
कुरुप बनाएर छोड्न खोज्छन्
तर पनि हामी अझै
सबकासब सुन्दर छौं ।
हामी भित्र सुन्दरता छ
सुन्दरता भित्र मन छ
मनले मौनतालाई बांधेर राखेको छ
मौनताभित्र –
इच्छाका छालहरु उर्लिएका छन्
जोसजांगरका ज्वालामुखी उम्लिएको छ
अक्षर देख्न नपाएका निरक्षरता छ
निदाउन नपाएका निन्द्रा छ
भोक अनि प्यास छ
शोषक सामन्तहरुले चोथोरिएको अनुहार छ
त्रासहरुको बिस्कुन छ
मान्छेहरुले एक्लो पारि छाडीगएको बस्ती छ
आँसु पिएर बाँचेको दासत्व छ
अनुत्तरित प्रश्न छ
जिज्ञासाहरुको पहाड छ
शान्तिको मृगतृष्णा पालेको अशान्ती छ
बेरोजगारिताले पस्किएको प्रसस्त फुरसद छ
स्वाँग पारेर निदाएकाहरुको बेहोसी छ ।
मौनताभित्रका बन्दी यथार्थहरु
आजाद हुन सकेका छैनन्
किनकि
मौनता भंग हुन सकेको छैन
जंजीरहरु चुडाएको कथा अझै लेखेर भ्याइसकिएको छैन
अझ पनि बास्तबिक संघर्षको रुपरेखा कोरिसकिएको छैन
जब सबै अधुरा काम सकिन्छ
तब त्यो कथा र इतिहासबाट
कोहि पनि अनभिज्ञ हुनेछैन
सबकासब ज्ञात हुनेछन् ।
बस !
मुक्तीका खातिर
मनले किटानी गरेका
परिबर्तनका प्रतिबद्धताहरुसित
सुन्दरताको कुमारित्व साट्न बाँकी छ ।
(२४ मे २०१४, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)