कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~

तिम्रो पो जिन्दगी !
जिन्दगी त
लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै !
बढेसँगै उमेर
तिम्ले झैं –
उमेर नै लुकाउन मिल्ने भए पो !
तिमी बढेसँगै बढेका
तिम्रा विभिन्न अंगहरू
कति सजिलै लुकेर बसे
जसरी –
उज्यालो छाएपछि सगरको गर्भमा
जूनताराहरू लुक्छन !
तर
म बढेसँगै बढेका
यौवन , स्तनहरू र
अगाडि र पछाडिका बढ्नुपर्ने सबै
छर्लङ्ग भइदिए !
जसरी – फुटेपछि मूल सक्दैन धर्तीले लुकाउन
जसरी – छोइएपछि हावाको हेराइले
सक्दैन शिर ठाडो पारिरहन – लज्जावती
त्यसैगरी –
सक्दिन म लुकाउन
मेरो रजस्वला र लज्जा !
जसरी – लुकाउन सक्दैन पहाडले लालीगुराँसको रंग
जसरी – लुकाउनै सक्दैन बोटले लागेको फल
त्यसैगरी –
सक्दिन म लुकाउन
सिउँदोमा परेको सिंदुरको रँग र
गर्भमा हुर्कदै गरेको सन्तान !
जसरी – लुकाउन सक्दैन हिमालले
आफू माथी परेको हिउँ
त्यसैगरी –
सक्दिन म लुकाउन बिधवा भएपछिको हालत !
तर तिमी
जिन्दगीका हरेक आयामहरू
कति सजिलै लुकाइदिन्छौ

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.