कविता : ड्रयाकुला

~बिमल गुरुङ~bimal-gurung

अब आँधी आउँछ
कसैले रोकेर रोकिन्न
कोहि अत्तालिएर रोकिन्न
छेपारोहरुले बांध बाँधेर रोकिन्न
मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न
माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न
अब प्रचण्ड आंधी आउँछ
हुरी आउँछ
देश गडगडाउँदै चट्ट्याङ आउँछ
टाइफन आउँछ
ड्रयाकुलाहरुले नरसंहार गरेर रोकिन्न
ड्रयाकुलाहरुले
बन्दुक पड्काएर रोकिन्न ।

आखिर
कति छ गोली?
उनीहरुको बन्दुकसंग !
कमिलाहरु त लाखौं छन । करोडौं छन्
अटाउँदैनन् कमिलाहरु मिट्ठीमा
आखिर
कति छ गोली?
उनीहरुको बन्दुकसंग !
कमिलाहरु त पहाडभरि । पाखाभरी छन्
कमिलाहरु त
तपाईंका अनन्त फाँटभरी छन्
कमिलाहरु त
हिमालको काखैभरि छन्
आकाशका ताराहरु बरु कम होलान्
समुद्रमा बरु
पानीका थोपाहरु कम होलान्
कमिलाहरु त
शहरभरि छन् । चक्रघट्टीको नहरभरि छन्
छ्न् – जताततै छरिएका कमिलाहरु
छन् – जताततै फैलिएका कमिलाहरु
छन् – जताततै ओछ्याइएका कमिलाहरु
छन् – जताततै अनन्तिएका कमिलाहरु
आखिर
कति छ गोली?
उनिहरुको बन्दुकसंग !

बन्दुकले, हो बन्दुकले
आँधी रोक्न सक्तैन
हुरी रोक्न सक्तैन
चट्ट्याङ मार्न सक्तैन
केहिको सक्ला
डरछेरुवाहरुको सक्ला
कायरहरुको सक्ला
तर,
बन्दुकले –
आस्थाको अन्नपुर्ण फांड्न सक्तैन वीरहरुको ।

कमिलाहरु, हो कमिलाहरु –
हलाहरुमा छन् । कोदालाहरुमा छन्
कारखानाका मेशिनहरुमा छन्
हँसियाहरुमा छन्
जंगबहादुरको दरबारभित्र पनि छन्
शहरका आधुनिक घरहरुमा भित्र पनि छन्
आखिर
लड्न सक्छ,
उनिहरुको सेना कतिजनासंग?
आखिर
कति छ गोली?
उनीहरुको बन्दुकसंग !

सुगन्धित शब्दहरुले
छक्याउन सकिन्छ अनपढहरुलाई
केहि समयसम्म
तर, सकिंदैन
छक्याउन पछिसम्म
झुट्टा शब्दहरु संधै क्षणिक हुन्छन्
तिमीहरु झुट्टा छौ बादशाहहरु
तिमीहरु बेइमान छौ फराओहरु
तिमीहरुको दुश्चरित्रको एकएक हिसाब छ मसंग
तिमीहरुको कालो हृदयको
एक एक आंकडा छ मसंग
म तिमीहरुमाथि
तीब्र रोस पकट गर्छु
कि तिमीहरु काला छौ सम्राटहरु
तिमीहरु धोकेबाज छौ ड्रयाकुलाहरु
गद्दार छौ तिमीहरु माकुराहरु ।

तिमीहरु असत्ती छौ बादशाहहरु
तिमीहरुले
अंध्यारोमा धेरै खुन लिइसकेका छौ
धेरैको खुन पिइसकेका छौ
यसैले,
तिमीहरुलाई मेरो भन्ने अधिकार छ
कि तिमीहरु खुनी छौ बाजहरु
तिमीहरुले
धेरैको छालामा नंग्रा गादिसकेका छौ
धेरैको जीवन पांग्रा स्वाहा पारिसकेका छौ
धेरैको टाउकोमा
छालाका जुत्ताहरु हिंडाइसकेका छौ
यसैले तिमीहरुलाई मेरो भन्ने अधिकार छ
कि तिमीहरु हिंस्रक छौ गोमनहरु
ए काला सत्ताका पुजारीहरु
अब आँधी आउँछ । आउँदैछ
बेडिङहरु तयार पार
हीराका डल्लाहरु
सुटकेशमा राम्ररी हाल
ए आंधीका प्रतिपक्षीहरु !
जाउ,
तिमीहरुको इश्वरलाई प्रार्थना गर
यति र उति लड्डु चढाउँछु भन
कोटिहोम गर्छु भन, सप्ताह लगाउँछु भन
तर अब आँधी आउँछ । आउँदैछ
यो आँधीले
देशका फोहरमैला उडाएर लानु पर्छ
सडक सफा गर्नुपर्छ
सिनुहरु डढाएर फ्याँक्नुपर्छ
यो आँधी
प्रचण्ड भएर आउनु पर्छ
छेपाराहरुमा हलचल ल्याउनु पर्छ
गोमनहरुमा हाहाकार ल्याउनु पर्छ
बिच्छीहरुमा विशाल अत्तलाहट ल्याउनु पर्छ
खजुहरुमा भीषण सनसनाहट ल्याउनु पर्छ
ड्रयाकुलाहरुलाई झन, हिस्रक बनाउन पर्छ
यो आँधीले
ड्रयाकुलाहरुलाई आफ्नो साँच्चो स्वरुप देखाउने
सुबर्ण मौका दिलाउनु पर्छ ।

बन्दुकले आँधी रोकिन्दैन
यातनालयले
प्रभीषण यातनाले आँधी रोकिंदैन
लाडी आँधीलाई रोक्न सक्ने पर्खाल होइन
जुत्ताको प्रहार
आँधीलाई छेक्न सक्ने प्रसाधन होइन ।

छेपाराहरु फुटबल खेलिरहेछन्
फलामका हृदयहरु फुटबल खेलिरहेछन्
‘शोषण रहित समाज’ का पक्षधरहरु फुटबल खेलिरहेछन्
मार्कोसहरु, नेविनहरु, पिनोसेहरु, जीयाहरु
फुटबल खेलिरहेछन्
एडोल्फ थिएरहरु,
जनरल फ्यांकोहरु, हिटलरहरु
विनेटो मुसोलोनीहरु, तोजोहरु, चन्द्र शम्सेरहरु
फुटबल खेलिरहेछन्
च्याङकाइ सेकहरु, चुन दु हाङहरु
ड्रयाकुलाहरु, बाटिस्टाका फौजहरु
जारका गुप्तचरहरु फुटबल खेलिरहेका छन्
कालोसत्ताका कुकुरहरु फुटबल खेलिरहेका छन्
फुटबल हो फुटबल
सहनशील । शान्त । पिडायुक्त । कष्टग्रस्त छ
छटकटाइरहेछ
फुटबल,
आफ्नो शरिरतिर हेर्न खोजिरहेछ
जहाँ डामहरु छन्
असंख्य लातहरुका !
असंख्य अवहेलनाहरुका !
असंख्य घृणाहरुका !

नयाँ दिनका लागि
हजारौं योद्धाहरु
आंध्यारोसंग जुधिरहेका छन्
शहिदमा अनुबाद भ इरहेछन्
हजारौं योद्धाहरु यातनालयको
अंध्यारो कुनामा पछारिइरहेका छन्
नयाँ दिनका लागि !

नयाँ दिनका लागि
हजारौं योद्धाहरु
अंध्यारोमा हिंडिरहेछन्
स्यूस्यू गर्दै जाडोमा हिंडिरहेछन्
कान कक्राउंदै जाडोमा हिंडिरहेछन्
नयाँ दिनका लागि!
नयाँ दिनका लागि !
योद्धाहरु वारेण्टेड हुंदैछन्
योद्धाहरुको नाममा पुर्जीहरु आइरहेछन्
योद्धाहरु गिरफ्तार हुंदैछन्
योद्धाहरु भद्दा यातनाहरु भोगिरहेछन्
नयाँ दिनका लागि !
योद्धाहरु, आफ्नो आफ्नाहरुलाई रुवाउँदैछन्
योद्धाहरु गाली खाइरहेछन्
योद्धाहरु दिनरात नभनी खटीरहेछन्
योद्धाहरु –
तातिएका राता कोइलाहरुमा हिंडिरहेका छन्
योद्धाहरु कांडाघारीमा हिंडिरहेका छन्
अयाँ दिनका लागि !
योद्धाहरु तातो घाममा
पसिना चुहाउंदै हिंडिरहेका छन्
योद्धाहरु –
ड्रयाकुलाहरुसंग युद्ध चलाइरहेका छन्
योद्धाहरु करेण्ट बगिरहेको नांगो तारमा
हात हालिरहेछन्
भीषण यातना खपिरहेछन्
तैपनि
कराइरहेका छैनन्
चिच्याइरहेका छैनन्
दुख पोखिरहेका छैनन्
छन् त
केवल मुस्काइरहेका
उही दृढ आँखाहरुमा
उही दृढ उभ्याइहरुमा । मुहारहरुमा
नयाँ दिनका लागि !
योद्धाहरु –
हवाइजहाजबाट हामफालिरहेछन्
सगरमाथाको खप्परतिर पाइला बढाइरहेछन्
योद्धाहरु –
नयाँ दिनका लागि
राती अबेरसम्म
अक्षरहरु भित्र डुबिरहेछन्
कमजोर पुलबाट हिंडिरहेछन्
अजिंगरको मुखबाट हिंडिरहेछन्
योद्धाहरु –
दहबाट हिंडिरहेछन्
योद्धाहरु
दहबाट … ।

किसान दाईले
दुईपेट राम्ररी खाना पाइरहेका छैनन्
कपडा कारखानाका मजदूर दाईले
कपडा राम्ररी लाउन पाइरहेका छैनन्
किसान दाई

मजदूर दाइका दिन
अभाबहरुमा बितिरहेछन्
अनिकालमा । उदासिमा । वितृष्णामा
अभावहरुमा बितिरहेछन्
उही –
अभाव र
पट्यारिलो अनिकालको बिरुद्धमा
लडिरहेछन् । जुधिरहेछन्
योद्धाहरु –
नयाँ दिनको लागि !
बारुदहरुबाट हिंडिरहेछन्
विषहरुबाट हिंडिरहेछन्
भयानक जंगलहरुबाट हिंडिरहेछन्
दहबाट हिंडिरहेछन्
दहबाट … योद्धाहरु !

(०४७/९/२७)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.