कविता : क्रान्ति

~प्रदीप रत्न शाक्य~

विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको ।
तिमी थियौ आवाज जिन्दाबादको ।
देश देख्न लालाहित घडी हामी, थियौं एउटै राँको ।
थियौं एउटै खोला ।
हो तातिन्थ्यो
त्यो भूमिगत ओछ्यान
भातृ स्नेहको मिठो तापले ।
हो चट्टान नि रुवा हुन्थ्यो
परस्परताको नरमी भावले ।
भेट्दा लाश
एउटै रोदन रुन्थ्यौं
ढाल तरवार थिएनौं
पटक्कै
एक अरुमा हामी ।
थियौं दुरुस्त
इन्द्रेणी ,
देख्नेले भन्थे
यिनीहरू बिहानी कोरस ।
कोल्टे फेरेपछि घामले ,
रङ्गले पनि गुण फेर्छ
यही सत्य सायद
तिम्रो मेरो भएछ ।
सम्झँदैछु
इन्कलाब दुई किनारा भएको त्यो साँझ !
जिन्दावाद ललकार भएको त्यो रात !
नाराहरू तीरमा तीर भई
आआफैमा हानाहान भएको पल !
के म देशभक्त हुँ ?
हो यो मेरो चेतनाको संगिन प्रश्न बज्रपात भइरहेछ ।
मस्तिष्कमा देशद्रोहीको आवाज गुञ्जिरहेछ ।
बुद्धभूमीले चिहान भएर
हामीलाई टोलाइरहेको आभास गरिरहेछु ।
तिमी भन्छौ फेरी नेपाल बन्द !
म बेमौसमी बाजा बजिरहेको सुनिरहेछु
भग्नावशेष भई धुलाम्य भएको रीटो यो धरतीमा ।
क्रान्ति अभिशाप भएको अनुभूतीमा
हो मैले आज आफैलाई मुर्दावाद भनिरहेछु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.