कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस्
अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस्
कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो
शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।।

बाँसुरी धुनमा बजाउँ गीत खै नेपाली यो भावको
आफ्नै पाखा भाखा सजाउँन पाउँ नेपालकै दिलको
पञ्जेवाजा मादल ढोलकहरु झ्यालीको मिठो धुन
नेपाली मनको भावना वनेर गाउँन दिनै दिन ।।

हिमाल वासी सहजै यहाँ तराई घरजम गरोस्
मधेशी मूल खुशी खुशी बनी हिमालै डेरा सरोस
चाहे तिमी हौ हिमाल पहाडको चाहे हौ मधेशको
नेपाली मन यो एक जुट बनोस् फुल फुलोस् राष्‍ट्रको ।।

मेची हाँस्न सकोस् चुमेर खुशी त्यो पश्चिम् महाकालिको
हिमाल् हाँस्न सकोस् साँचेर गुरास पहाड तराईको
सातै यि प्रदेश सधै फुलिरहुन् गुरास् फुले झैं गरी
भावना मनको प्रगाढ् बनिरहोस् नेपालै हाँस्ने गरी ।।

दौरा सुरुवाल टोपी र पटुकी नेपालीको भेष यो
चौबन्दी फरिया छमछम गरी हेरन क्या खुशी भो
कोइली गाउ गीत कुहुकुहु गरी क्या मिठो भाव त्यो
प्यारो हिमाल छहारी बनिरहोस् पहाड तराइको ।।

मखमली फुल फुल्यो डाँडा भरी वास्ना चल्यो सर्सर
गुरास फुल नै फुलाउँ मनमा नेपालकै छ भर
सास फेर्न पाउन् नेपालीहरुले सुन्दर प्रकृतिको
शान्ति साँच्न पाउँन् सबैले घरमा चुमेर यो सृष्टिको ।।

मित्रता दिलको प्रगाढ् बनिरहोस् सन्देश यो राष्ट्रको
समृद्धि ढोका यो खुलेर मनमा बस्न पाउँ विश्वको
सिस्नु साग मिठो खाना रसिलो आफंनै खेतवारीको
बाँच्न पाउँ रहर सजाइ मन्मा उकालि ओरालीको ।।

कर्मको फुल त्यो फुलोस् यो भूमिमा युवा यी दंग परुन्
बिदेशी भूमीमा बगेका पसिना नेपालै डेरा सरुन्
संसारी खुशीयो पाउँछु म यहाँ मयुरको छम्छम
सिम्रिक रङ्ले सजाउन पाउँ पकृतिको रसरङ ।।

गणतन्त्र यहाँ सधै सधै भरी दिलैमा बास बसोस्
गर्वले छाती ढक्क फुलिरहोस् सन्तुष्टिको जग बनोस्
राष्ट्र भक्ति फुलोस् सबै मनमा इरादा एउटै बनोस्
स्वाबलम्बि बनी सबै जनहरु सन्तुष्टि श्वास फेरोस् ।।

मातृभूमी हसाउँन सकु आमा सान फुलोस् राष्ट्रको
नेपाली जनको खुशी देखेर शिर झुकोस विश्वको
चन्द्र सूर्य जडित् यी ध्वजाहरुमा राष्ट्रिय भक्ति फुलोस्
सगरमाथाको शीरमा सधै ननिभ्ने चिराग बलोस् ।।

पाउँ हाँस्न सधै त्यो आफ्नै पसिना मेरै भूमिमा रमोस्
नेपाली सवै एकजुट बनी समृद्ध पाइला चुमोस्
हे आमा अब लौ जान्न म त कतै अर्काको त्यो देशमा
पाउँ हाँस्न अनि हँसाउन सकु नेपालीकै भेषमा ।।

इर्श्या द्वेश केही रहेन जगमा भातृत्व फुले पछि
फरक बाटो समाइ हिडेकाले सत्मार्ग भेटेपछि
सच्चा मित्र बनुन् छिमेकीजन मेरो देश नेपालको
आफ्नो शिर सधै सधै उठिरहोस् नेपाल नेपालीको ।।

विश्व शान्ति जगाउने जगतको तत्व नेपालै बनोस्
नेपालीहरुको खुशी सधैसधै समृद्धि भै फैलियोस्
राष्ट्रभक्ति मूल मन्त्र बनोस नेपालीको शिर उठोस्
कमजोर नेपाल ती ठान्नेलाई दिएर खान पोगोस्

लिला बल्लभ नेपाल
महारानीझोडा-५, झापा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.