~प्रभात चिसो राई~
म जब नरहुँला
मेरा स्मृतिका निशानहरु
समयको पानीले पखालेर
म शून्य भएता पनि
मेरा कविताहरुमा बाँचीरहनेछु।
मेरा प्रेमिल कविताहरुसँगै
कुनै प्रेमीको ढुकढुकीहरुमा बल्झेको हुनेछु
छोरोलाई कुरी रहेकी कुनै बुढी आमाको आँखामा
झिनो आश भएर अल्झेको हुनेछु ,
निर्धाहरुका आवाज बनेर
मेरा कविताहरु चिच्याइ रहेका हुनेछन्
क्रान्तिको डढेलोसँगै
छात्ती छात्तीमा सल्केको हुनेछन् ,
जलेका मुटुहरुमा शीत बनेर खसेका हुनेछन् ,
अनि खुशीको आभासहरुमा
गीत बनेर गुन्जेका हुनेछन् ।
म त एउटा कवि हुँ
दिन के नै छ र म सँग ?
बस भावनाको रङ्गले पोतेर
केही मिठा शब्दहरु छोड़ी राखौंला
म नरहेता पनि यी कविताहरु हुनेछ्न् ।
मलाई कतै कुनै दिन सम्झ्यौ भने साथी
मेरो चिहानमा आएर एउटा कविता पढिदिनु
अनि कसैले सोध्यो भने भन्दिनु
थियो एउटा पागल
जसले यूटोपियाको सपना देख्थ्यो सधैँ ।
तर साथी!
म नरहेता पनि
यी कविताहरुलाई कसैका ओँठहरुले
जब जब छुनेछ्न्
मेरा शब्दहरु फेरि बौंरी उठेर आँउनेछ्न्,
भावानाहरु फेरि सास फेरेका हुनेछ्न् ,
मेरा सपनाहरु फेरि ब्युँझेका हुनेछ्न्
अनि म फेरि जिउँदो भएर आँउने छु।
म मरे पनि
मेरा कविताहरुमा म बाँची रहनेछु।
प्रभात चिसो राई
दार्जीलिङ्ग।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )