~प्रा.डा.जीवेन्द्र देव गिरी~
हरि ऊँ प्रधान लिखित ‘फाटेको टोपी’ कविता सङ्ग्रहको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसको छिटै प्काशन हुने कुरा सुनेर हर्षित छु । नेपाली डायस्पोराका कविता र सिङ्गो नेपाली वाङ्मयका निम्ति नयाँ कुति भित्रिनु एक महत्त्वपूर्ण उपलब्धि हो । बाग्लुङको सुन्दर प्राकृतिक वातावरण एवम् ग्रामीण जीवनको सेरोफेरोमा हुर्केका प्रधान यतिखेर अमेरिकामा प्रवासी जीवन बिताउँदै छन् । तन अमेरिकामा भए पनि मन नेपालमा लगाइ रहने उनको जनप्रेम र राष्ट्रप्रेमको भावना ‘फाटेको टोपी’का कविताहरूमा प्रकट भएको छ । उनकी जीवन सँगिनी मीना शाक्य पनि कविता सिर्जनामा चर्चित छन् । कविताका सागरमा यस जोडीले सँगसँगै डुङ्गा खियाइ रहेको देख्न पाउँदा हामी सबैलाई हर्षानुभूति हुनु स्वाभाविक छ । कविता सङ््ग्रह प्रकाशनको यस सुखद अवसरमा म कविलाई हार्दिक बधाई ज्ञापन गर्दै कवि दम्पतीको सुखद जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
‘फाटेको टोपी’ शीर्षकको सङ्ग्रहभित्रकै एक कविताबाट यस कविता सङ्ग्रहको नामकरण भएको छ जसमा बहुसङ्ख्यक नेपालीले वर्तमान अवस्थामा भोग्नु परेको कष्टकर जीवनको चित्रण छ । गरिबीमा पिल्सिइ रहेको नेपालीको समस्याग्रस्त अवस्थाको वर्णन गर्दै त्यसलाई लाजको विषय नबनाउन कविले सबैलाई आग्रह गरेका छन् । गरिबी समग्र नेपालीको साझा समस्या हो भन्ने कुरातर्फ ध्यानाकर्षण गर्दै यसको निवारणका निम्ति हामी सबैलाई गम्भीर र सजग तुल्याउने कविको इरादा यसमा प्रतिविम्बित छ । चारैतिर धागो निस्केर छिया छिया परेको टोपी पहिरेका नेपालीका मुखबाट कवि यी शब्द सार्वजनिक गर्दछन् :
मेरो लाजलाई अट्टहासमा नउडाऊ
किनकि
मेरो लाजभित्र
तिम्रो हाम्रो सबैको
लाज बाँधिएको छ
सिङ्गो नेपाल यसैमा गाँसिएको छ ।
कवि प्रधानले यहाँको गरिबी र अविकासबाट छुटकारा पाउने विचारले बिदेसिनेहरूका व्यथा र घाउलाई कोट्ट्याएर पाठकलाई संवेदित तुल्याएका छन् । कविको यस कृतिमा अरूका घरमा मरुभूमिमा दासताको जीवन गुजारिरहेकी कमलरीको चीत्कार पनि सुन्न सकिन्छ । यसरी नै जनयुद्धले बेपत्ता पारेका कलिली किशोरी र उनकी आमाको आर्तनादलाई पनि यहाँ लिपिबद्ध गरिएको छ । भूकम्पले क्षतग्रस्त तुल्याएको बस्ती र त्यसले रुवाएको मातृहृदयको व्यथा यहाँ सुसेलिएको छ । नेपाली जनजीवनले अनेक पिरलो बेहोर्नु परेको देखेर कवि निकै चिन्तित छन् । यस्तो स्थितिमा पनि एक थरी मान्छेहरू भने बोतलमा झुमिरहेको उनी देख्तछन् । समाज र देशको चिन्ता छाडेर कुबाटामा हिँड्नेहरूलाई कसरी सुमार्गमा ल्याउने भन्ने पिरलो उनमा परेको छ । नेपालमा आएको परिवर्तनले पनि मान्छेका मुहारमा मुस्कान ल्याउन नसकेकोमा उनको मन दुखेको छ । त्यसैले कवि यहाँका कविताहरूमा जनजीवनको यथार्थलाई टिप्तै मान्छेले सन्तोषको सास फेर्ने अवस्थालाई आमन्त्रण गर्न उद्यत छन् । उनी समाजलाई समस्याको चाङबाट उन्मुक्तिको दिशातिर डो¥याउन चाहन्छन् ।
कविले विदेशमा रहँदा पनि नेपाललाई सदा मुटुमा सजाएका छन् । उनी जहाँ पुगे पनि “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”को भावना उनको हृदयभरि छ । देशबाट बाहिरिँदा र भित्रिँदा भोग्नु परेका स्वदेश विदेशका भोगाइ र अनुभूति नै उनका कविताका मूल स्रोतका रूपमा यहाँ देखा परेका छन् । देशको सुन्दर प्रकृति र संस्कृतिको सम्झना उनलाई सदा भइरहन्छ । विदेशमा रहँदा आफ्ना आफन्त, साथीसँगाती, गाउँबस्ती, घरगोठ, खेतबारी, पानीपँधेरो, चौपारी, बाटाघाटा, र डाँडाकाँडाको सम्झनाले उनलाई सताइरहेको पाइन्छ । उनलाई आफ्नी प्रियसीको याद पनि आइरहन्छ । दसैँ, तिहार, सोरठी, सालैजो र लैबरीका भाकाबाट टाढिनु परेको पछुतोले उनको मन चस्काइ रहन्छ । उनी प्रवासको जीवनमा कुनै रङ्ग देख्तैनन् । त्यसलाई नीरस ठान्छन् । आफ्नै आवासको स्मृति उनी गरिरहन्छन् । आमाको काखमा कहिले पुगूँ भन्ने भावना मनमा आइ रहन्छ । कहिले भानुको त कहिले देवकोटाको नाम जप्तै उनी मनलाई थुमथुम्याउने प्रयत्न गर्छन् तर ती महान् कविहरूको सदिच्छा साकार हुने दिशातिर मुलुक र समाज नहिँडेको देख्ता दिग्दार बन्छन् । साँच्चै प्रवासी जीवनमा उनी रमाउन सकेका छैनन् । उनको ‘लुकेको माया’शीर्षकको कवितामा उनी भन्छन् :
यहाँ शब्द छैन, अलङ्कार छैन
स्वर र सङ्गीत छैन
पकवान् छ स्वाद छैन
ममता दिने आमा छैन
भनौं यहाँ अपनत्व छैन
आआफ्नो कोही छैन
यी सबै कुराले विदेशमा बिरक्तिएर उत्साहका साथ स्वदेशमा आउँदा पनि उनी चित्त बुझाउने ठाउँ पाउँदैनन् । यहाँ फर्किंदा आफू अस्तित्वविहीन भएको अनुभूतिले उनलाई एकातिर सताउँछ भने अर्कातिर यहाँको परिवर्तनको कुरूपता देखेर मन गरुङ्गो हुन्छ । भृकुटी जस्ता विभूतिले राष्ट्ररक्षाका लागि विगतमा खेलेको भूमिकाको बेवास्ता गरिएको, आफ्नो अस्तित्व र पहिचान बिर्सिन लागिएको, परिवर्तनका नाममा आयातित उरन्ठ्याउलोपनाको वर्चस्व बढेको कवि देख्तछन् । यस स्थितिमा उनी ‘पुरानो डायरी’का पाना फर्काएर निराशामा डुब्न चाहँदैनन् , बरु ‘म मुर्झाएको छैन’ भन्दै यसरी आशाको दियो प्रज्वलित गर्दछन् :
म फेरि कसिङ्गरलाई समेटेर लैजान
एक दिन एक साँझ अवश्य आउने छु
मलाई केवल बोलाइ देऊ
तिम्रो गगनभेदी आबाजले
म फेरि जाज्वल्यमान स्वरूपमा जाग्ने छु
तर बिन्ती ……..
मलाई मुर्झाएको नभन
हराएको नभन ।
कवि हरिऊँ प्रधानको कवितात्मक अभिव्यक्तिले दार्शनिक उचाइका विभिन्न विन्दुहरूको स्पर्श गरेको पाइनु पनि यस काव्यकृतिको विशेषता हो । धर्ती र आकाशको सम्बन्ध, मानवीय प्रेमको महत्त्व, जीवनका सार्थकता, महत्ता र जटिलता आदि विविध पक्षलाई कविताले समेटेका छन् । भाषामा कवितोचित प्रतीक, विम्ब र लाक्षणिक अभिव्यक्तिको प्रयोग भएको छ । गद्य लयलाई कुदाउन सक्ने कविको क्षमताले कविताहरू प्रभावपूर्ण बनेका छन् । हरेक कविताको भाव झल्काउने चित्र समाविष्ट हुनु पनि यस कृतिको विशेषता हो । म कविको निरन्तर काव्ययात्राको शुभ कामना सहित ‘फाटेको टोपी’ कविता सङ्ग्रहले पाठकहरूको न्यानो माया पाउने अपेक्षा गर्दछु ।
२०७४ कार्तिक १९ गते प्रा.डा.जीवेन्द्र देव गिरी
सदस्य सचिव
नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)