~यकिना अगाध~
यो धेरै वर्षअघिको कुरो हो । हिन्दू धार्मिक कथाअनुसार त्यतिबेला महादेव नाम गरेका भगवान सबैभन्दा शक्तिशाली थियो । उसले जसलाई जे बरदान दियो तुरुन्तै प्राप्ति हुने गर्दथ्यो ।
एकदिन सर्पलाइ आफू पृथ्वीको सबैभन्दा शक्तिशाली जीव बन्ने इच्छा पलायो र महादेवको चाकडी गर्न उसको निबास पुग्यो । महादेवलाई खुशी पार्न उ महादेवको गोडामा लम्पसार पर्यो । यो देखेर महादेवले भन्यो– ‘ठीक छ । म तिम्रो इच्छा पुरा गरिदिनेछु तर तिमीबाट मैले के पाउने आशा राखौं र खै ?’
सर्पले आफूसंग दिने कुरा केही पनि नदेखेपछि बिन्ति चढायो– ‘भगवान ! म तपाईंको त्यो नाङ्गो घाटीमा गहना बनेर सजिन तैयार छु ।’
महादेवले उसको कुरा नटुङ्गिदै भनिदियो– ‘तदास्तु !’ । उ महादेवको घाटीमा तुन्तुरुङ्ग झुण्डिन पुग्यो ।
बाघको कानमा पनि यो कुरा पुग्यो । आजसम्म उसलाई आफू यो पृथ्वीको सबैभन्दा शक्तिशाली जनावर हो भन्ने लाग्दथ्यो । आफ्नो शक्ति खोसिने डरले उ पनि महादेवको गोडामा गएर लम्पसार पर्यो । बाघको मनसाय बुझिसकेको महादेवले भन्यो– ‘ठीक छ । त्यसो भए तिमीले मेरो लागि के गर्न सक्छौं त ?’
नाङ्गो शरीरका भीमकाय महादेवलाई हेर्दै बाघले भन्यो– ‘म हजुरको बस्त्र बन्न चाहन्छु ।’
महादेवले तुरुन्तै भनिहाल्यो– ‘तदास्तु !’ । बाघ महादेवको कम्मरमा बाधिन पुग्यो ।
खबर सुनेर कुद्दै आउदा सबैभन्दा ढिला पुग्यो मृग । मृगले महादेवको शरीरमा हेर्यो, कतै ठाउ देखिएन । सबै भरिसकेको थियो । उसलाई सम्झना भयो कि बाघ र सर्पले कसरी दुःख दिएको थियो । त्यसैले उ पनि महादेवको गोडामा लम्पसार पर्यो । महादेवले खुट्टा उचाल्यो । उ महादेवको ओछ्यान बन्न पुग्यो ।
शक्ति प्राप्तिको लालचमा चाकडी गर्न पुगेका उनीहरुले केही त पाएनन् नै भएका पनि गुमाउनु पर्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )