~अमृत सिङ थिङ~
यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो
अाँगनैको डिलमा तिमीले रोपेको
ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो
कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि
उछिट्टिएर बियाको दानाहरु
तल्लो पाटासम्म छर्यो पनि
तिमी नाँच्दा रमाउने यी अाँगन
तिमी रुदा फकाउने यी अाँगन
आज टोलाई रहन्छ
झ्याउरे र सेलोको धुनमा
तिमीलाई बोलाइ रहन्छ ।
अन्तिम पटक्को बिदाइमा झरेको
अाँसुका ती थोपाहरुलाई
आँसु झर्दा धुलोमा उठेका
टल्किने ती फोकाहरूलाई
आजसम्म जोगाएर राखेको छु
एक दिन फर्केर आउँछ भन्दै
बार बार फकाएर राखेको छु
कहिल्यै खुसी हुन्नन टोलाई रहन्छ
बासुरी र बियानोको धुनमा
तिमीलाइ नै बोलाई रहन्छ।
अाँगनको यी माटोहरु
कहिले धुलो त कहिले हिलो बनी
तिमी सँग माया साटी रहन्थ्यो
दु:ख र सुखको किलो बनि
आँसु र हासोको रङ्हरु
तिमी सँग माया साटी रहन्थ्यो
त्यसैले तिम्रो यादहरुमा
आज रुदै चिच्याई रहन्छ
वियोगान्तको स्वरहरुमा
तिमीलाई बोलाई रहन्छ ।
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )