कविता : रक्स्याहाहरू

~खेम बतास~

अबदेखि
मलाई रक्स्याहा फकिर भन्ने
अधिकार छैन कसैलाई
यो पृथ्वीले समेत
रक्सी पिएको समयमा

हामीले रक्सी पिउन सिकेका
नब्बे साल साथीको लहैलहैमा

कहिले घर कचिङ्गलको तनाब
कहिले साहु महाजको धम्की
कहिले आफ्नै प्रियसीसँगको त त म म
यिनै हुन हाम्रा रक्सी पिउने कारणहरू ।

अस्ति वैशाख १२ गते उता
गुमनाम बसेको ऊ
फेरि देखिन थालेको छ चरिकोट
आमबोटे र चौतारातिर

वैशाख १२ गतेयता
लगातार एउटै टेबुलमा गिलास
चेस गरिरहेका छौँ
पृथ्वी र म

उ आफ्नी प्रियसीको यादमा
म मेरी प्रियसीको यादमा

मैले रक्सी पिए
मलाई मात्रै असर गर्यो
पृथ्वीले रक्सी पियो
क–कसलाई असर गर्यो
यकिन गरेका छौं कसैले

आदत परेपछि जे कुराको पनि
छुटाउन गाह्रो हुँदोरहेछ
वैशाख १२ गतेयता
दिन नबिराएर
एउटै टेबुलमा गिलास रित्याइरहेका छौं
पृथ्वी र म

म मेरी प्रेमिकाको यादमा
उ आफ्नी प्रेमिकाको यादमा

अबदेखि
मलाई शब्दको हत्यारा भन्ने आँट कसको
यो पृथ्वीले रक्सी पिएर
मान्छे मारेको समयमा

ए मेरी प्रियसी
म मातेर आउँदा तिमी चुकुल लगाउँछौं
आज पुथ्वी र म सँगै मातिएका छौं
अब के गर्छौ ?
चुकुल लगाउँछौ की खोल्छौ ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.