गजल : पारि जाउँला घटेपछि

~धीरेन्द्र प्रेमर्षि~

खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि

‘लगनी’ को भाका हाल्दै गाउँछे बिर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि !

उनी ठान्छन् सबै व्याधि भाग्ने गर्छ यसैगरी
छू मन्तरकी बाचा भन्दै सुगा-रटान रटेपछि

माटामा नै मन्दिर देख्ने चलित्तरले पनि अब
बलि दिने ‘गहबर’ मा रे, साढेसाती कटेपछि

शान्तिपूर्वक देउता पनि कहाँ गई गुहार्ने होला
परेवाको खोपमा नै बाजहरू अँटेपछि

मौसमै छ प्रतिकूल, आइहाल्छ नि बाढी-पहिरो
वसन्त नि फुल्छ तर, प्रेम-पथमा डटेपछि ।

२०५९/०४/३१
धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
सम्प्रतिः रेडियो नेपाल, काठमाडौँ, नेपाल
सम्पर्कः hellomithila@yahoo.com

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.