~गोविन्ददेव आचार्य~
छन्द :- शिखरिणी
सयौँ छन्दे रानी कमलनयनाले मन हरे
तिनैका आभामा मगमग सुधासागर तरेँ
डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने
तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।।
“परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती
तिखा आँखा गाडी कर-कलम नाचे कतिकति
मनै थाम्नै गाह्रो चुलबुल अहो ! रूप उनको
छुँदैमा, सुँघ्दैमा अनुभव “माठाई, सगुन”को !!
यतै डुल्छिन् प्यारी लघु वदनकी तोटक चरी
मिठा बान्की हेर्दै ढलमल भएँ याचकसरि
टिपी खाँदाखाँदा हृदय नअघाए-सरि भयो
उनैका पोल्टाका रस-फल बटुल्दै दिन गयो ।।
अहो पृथ्वी, माला र जलधरमाला, शशिकला
भुजङ्गी वा मत्ता, शिखर, सुमुखी गाउँछ गला
द्रुता, मत्ताक्रीडा, दमनक र चित्रा, सुवदना
बने साथी-सङ्गी प्रवलललिता, इन्दुवदना ।।
प्रिया रानी अर्की ललित कद “शार्दूल”, सुरसा
अहा नौला बान्की जुगल, रुचिरा, सौम्य कुटजा
असम्बाधा, शोभा, विपिनतिलका वा मधुमती
अहो ! सङ्गी लोला र कुसुमविचित्राऽचलधृति ।।
म मञ्जीरा गाऊँ र गरुडरुता, तूणक पनि
मिठो छाया लेखूँ शिखर, सुमुखी, दोधक पनि
बनून् सङ्गी नौला रुचिर, मणिमाला र हरिणी
सँगै नाच्दै आऊ छमछम पियारी शिखरिणी !!
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)