लघुकथा : रजनीगन्धाको पीड़ा

~उदय थुलुङ~

अहिले म़ञ्चमा देखिँदैगरेको हरि सरको सौम्य अनुहार, त्यसमा टाँसिएका दुइ काला – काला अक्षरहरूजस्ता आँखाहरूलाई हेर्नसकेकी छैन निरमायाले। भुइँतिर हेरेर उसले आवाजलाई मात्रै सुन्दैछ हरिसरको।

‘न आको भा पनि हुन्थेछ।’ निरमायालाई लाग्दैछ। ‘बित्थाको भजन।’ उसले ठान्दैछ।

रजनीगन्धाको सुगन्धसित अमृतवाणी बर्सिँदैछ मञ्चबाट बारम्बार। भक्तजनको शिरदेखि मनसम्मै भिजेको छ निर्थुक्क त्यसको बर्सातले। निरमायाले निधार छामी पसीनाका एक दुइ मोतीहरूलाई छोई।

‘हरि सर के हो त? मान्छेदेखि पनि माथि कि अर्कै?”

उसको मनको बाँसघारी सरर हल्लियो। पातहरू झरे। प्रत्येक पातलाई सोधी उसले। ती पातहरू पनि उजस्तै कामिरहेका रहेछन् डरले। ‘यो संसार भ्रम हो, मान्छेको जीवन लीला हो…। कताकता हरि सरको वचन उसको कानभित्र धमिलो भएर पस्दैछ।

निरमायालाई लाग्यो – हरि सर मात्रै भ्रम हो अहिले। संसार अरू सबै ठीकठाक छ।

‘अबदेखि जाँदिनँ दूध पुऱ्याउनु त्यो क्वार्टरमा।’ निरमायाले निश्चय गरी। उसलाई दाहिने पाखुराको मासु कटकटी दुखेको धङधङीले थिच्यो। यतिबेला।

(सितम्बर)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.