~हरिप्रसाद भण्डारी~
जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे । वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो । अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर गुँडमा भएका फुल र साना चल्ला खाइदिन्थ्यो । यसले गर्दा चराचुरुङ्गीहरूलाई फुल कोरल्न र चल्ला हुर्काउन निकै कठिन भएको थियो ।
एकदिन कौवा नभएको मौका पारेर चराचुरुङ्गीहरूले सल्लाह गरे । कौवाले नदेख्ने ठाउँमा गुँड बनाउने सहमति भयो ।
+ + + +
“ढुकुर कुकुर कुर कुर कुर ……….।”
“कस्तो मीठो आवाज ! सधैं सुनिरहूँझैं लाग्ने ।” अग्लो रुखको डालीमा बसेर आनन्दले कराइरहेको ढुकुरका छेउँमा बस्दै कौवाले भन्यो ।
आफ्नो प्रशंसा सुनेर ढुकुर दङ्ग प¥यो अनि कौवातिर फर्केर, ‘के मेरो आवाज त्यति राम्रो छ र ?’ भनी सोध्यो ।
“कोइलीको भन्दा पनि मीठो । आवाज पनि मीठो, रुप पनि राम्रो । तर म त कस्तो अभागी ! न आवाज मीठो छ न रुप नै राम्रो ।” विरक्त मान्दै कौवाले भन्यो ।
ढुकुरले एकोहोरो पाराले कौवालाई हेरिरहेको थियो । कौवाले निकै दुःखी भावमा अगाडि थप्यो— “यो आवाज सधैं सुन्न पाए पो………। तर के गर्नु तपाईहरू कहाँ बस्नुहुन्छ थाहै छैन ।”
“ऊ त्यै पल्लो खोलाको ठूलो रुखमा त बस्छौं नि ..।” ढुकुरले दायाँ बाँया केही नसोची भन्यो ।