कविता : आमा ! तिमीसँग मेरो एउटै पुकारा छ

~कलानिधि दाहाल~

अलिकति आस्थाले
अलिकति विश्वासले
अलिकति जीवन दृष्टिकोण
र जम्मै मानवीय
अन्तरङ्ग पराग घोलेर
मैले उसलाई
मेरै ढकमक्क फुलेको बगैँचामा
सजाउन खोजेथेँ, सजाएथेँ

काँडालाई नौनी सोचेर
तनभरि, मनभरि, हृदयभरि
लेपन गर्न खोज्नु मेरै मूर्खता हो
अघाएपछि छुपेका तिखा हतियार निकालेर
बाघसँग जुध्न खोज्ने
ऊ त साँच्चै दुम्सिनी पो रहिछे
ऊ त साँच्चै दुम्सी पो रहेछ
अनायास हाडभित्र मुख लुकाएको कछुवाझैँ
फोहोरको डङ्गुरमै छुपिछे
फोहोरको गन्धमै लुकेछ

आमा ! म तिमीलाई
एउटै आशीर्वचनको याचना गर्छु
प्रसव वेदनाको पीडा सहेर असह्य
– वचन विश्वास नभएका
– पेसागत मर्यादा नरहेका
बजारे छोरी– वेश्याहरू नजन्माऊ
भ्रष्ट, फुँडा– छोराहरू नजन्माऊ

हो, हामा !
तिमी पनि मान्छे हो
मान्छेसँग मन छ
मन भएपछि
यो, ऊ, अर्को र अर्को कोही हुँदैन
आखिर सबै मान्छे हुन्
मान्छे हुनाकै नातामा
– कोही मस्तिष्क बेचेर बाँचेका छन्
– कोही पाखुरा चुहाएर जिएका छन्
दुवै नहुनेहरू
भ्रष्ट मस्तिष्क र बाइफाले योनी
बेचेर बाँचे त के भयो ?
तर यसमा पनि आमा
अन्तरमर्यादा हुन्छ
शासन÷अनुशासनको व्यवस्था हुन्छ
कुनै÷केही नभएर
छलकपटले, झूटले
बेइमानी ब्वाँसाहरूझैँ
दिनदहाडै, पेरिस, बैङ्कक र हङकङ
सपनाका
वेश्या–छोरीहरू नजन्माऊ
वचनले चिल्लो घसेर
हात–हातले
आन्द्राभुँडी निचोर्ने
भट्टीका सोखिन
भ्रष्ट फुँडा छोराहरू नजन्माऊ ।

(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.