~निराजन बतास~
टक्टकाउँदो स्वर्ग टेक्न मयल फालेर मरौं
बाँचुन्जेलको मनको धब्बा पखालेर मरौं
डाह, इर्श्या, घमण्ड सुहाउँदैन मान्छे हुन
आरिसको सिउँडी पूरै उखालेर मरौं
सम्मगम्म हुन्छ साँचो मान्छेको मन भने
ढिस्काढिस्की बग्रेल्ती छन् पगालेर मरौं
धेरै होलान् तुनाहरू खुसी बाँध्ने पनि
ठम्याएर त्यान्द्रातुन्द्री चुँडालेर मरौं ।
थाकेर पो कहाँ हुन्छ – फेदैमा बास माग्न
जिन्दगीको टुप्पोमा खुट्टो उचालेर मरौं ।
-भोजपुर
(खोटाङ्ग स्मारिकाबाट साभार)