~उमाशङ्कर द्विवेदी~
कुनै वनमा एउटा पोखरीको डिलमा बसेर हिरण्यक मुसा, मन्थरक कछुवा तथा लघुपत्तनक काग गफ गर्दै थिए । त्यतिकैमा चित्रा· नाम गरेको एउटा मृग शिकारीको भयले त्रसित भएर कुद्दै त्यहीं आइपुग्यो । तर्सिएर भाग्दै गरेको त्यस मृगलाई आफूतिर आइरहेको देखेर लघुपत्तनक काग उडेर अग्लो रूखको हाँगामाथि गएर बस्यो । हिरण्यक मुसो नजिकैको झाडीमा गएर लुक्यो तथा मन्थरक कछुवा पोखरीको पानीभित्र छिर्यो ।
केही बेरपछि लघुपत्तनक कागले त्यस मृगलाई राम्ररी हेरेर मन्थरक कछुवालाई सम्बोधन गर्दै कराउन थाल्यो– मित्र, मन्थरक, बाहिर आऊ । यो त एउटा मृग हो, जो तिर्खा लागेर पोखरी छेउ पानी खान आएको छ । यससित हामीले तर्सिनुपर्दैन । त्यसको कुरा सुनेर मन्थरकले समयोचित विचार व्यक्त गर्दै भन्यो–मित्र, लघुपत्तनक जसरी यो मृग बारम्बार पछाडि फर्केर डरले निश्वास छाड्दै गरेको देखिन्छ त्यसले त के लागिरहेछ कि मृग वास्तवमा तिर्खाएर नभई कुनै शिकारीद्वारा पछ्याइएको हुनाले तर्सिएर यता आइरहेको छ । तिमी सावधानीपूर्वक पछाडि फर्केर हेर, शिकारी यसलाई पछ्याउदै यतातिर आइरहेको त छैन ? लघुपत्तनकलाई सम्बोधन गरेको वचन सुनेर चित्रा· मृगले भन्यो–हो मित्र, तिमीले ठीक भन्यौ । म वास्तवमा तिर्खा लागेर यहाँ पानी खान दगुर्दै आएको होइन । म भगवान्को ठूलो कृपाले शिकारीको वाणबाट जोगिएर यहाँ आएको छु । मेरो बथानका कैयन मृगलाई शिकारीहरूले बाणले बिंधेर मारिसके होलान् । म तिमीहरूको शरणमा आएको छु । अत: यथाशीघ्र मलाई लुक्ने कुनै ठाउँ देखाऊ, जहाँ लुकेर म आफ्नो प्राण बचाउन सकूँ । चित्रा·को कुरा सुनेर मन्थरकले भन्यो–शत्रुद्वारा आक्रान्त भएपछि केवल दुईटा बाटो मात्र हुन्छ । या त शत्रुमाथि जाइलाग्नुपर्दछ, यदि शत्रु आफूभन्दा बलवान छ भने त्यहाँबाट आफ्नो प्राण बचाएर भागिहाल्नुपर्दछ । अत: तिमी ती दुष्ट शिकारीहरू आइपुग्नु भन्दा पहिले नै सघन वनमा गएर लुक ।
यतिकैमा लघुपत्तनक शीघ्रतापूर्वक आएर भन्न थाल्यो–मित्र मन्थरक, ती शिकारीहरू पर्याप्त मासु लिएर आफ्नो घर फर्के । अत: अब डराउनुपर्ने कुनै कुरा छैन । मित्र तिमी निश्चिन्त भएर वनबाट बाहिर फर्की आऊ । मृग वनबाट बाहिर आएपछि अब ती चारैजना जीवहरू एक आपसमा मित्र बनेर साथै सुखपूर्वक बस्न थाले ।
एक दिन गफ गर्ने बेलामा चित्रा· आएन । ऊ न आएकोमा तीनै मित्रहरू कुनै अनपेक्षित आशड्ढाले भयभीत भएर आपसमा कुरा गर्न थाले–वनमा कुनै ह्रिंसक जानवरले त्यसलाई मारि त दिएन वा कुनै शिकारीको पासोमा त परेको छैन, अथवा वनको डढेलोमा कतै घेरिएको त छैन वा कलिलो घाँस खाने लोभमा परेर कुनै खाल्टोमा त खसेन ? अन्त्यमा मन्थरकले लघुपत्तनकलाई भन्यो–मित्र लघुपत्तनक, म र मित्र हिरण्यक दुवैजना चित्रा·लाई खोज्न असमर्थ छौं किनकि हाम्रो गति तीव्र छैन । अत: तिमी उडेर गई वनमा उसलाई खोज । त्यो कुरा सुनेर लघुपत्तनक चित्रा·लाई खोज्न भनी उड्यो । केही पर गएपछि उसले देख्यो चित्रा· त शिकारीहरूको पासोमा परेर छटपटाई पो रहेको छ ।
मृगको त्यो अवस्था देखेपछि शोकाकुल भएर लघुपत्तनकले सोध्यो–हरे मित्र, तिम्रो यो गति कसरी भयो ? मित्रको कुरा सुनेर मृग पनि रुन थाल्यो । रुँदै भन्यो–मित्र, अब त मेरो मृत्युकाल नजिक आइपुग्यो । आजसम्म तपाईंहरूप्रति मैले कुनै अनुचित कुरा गरेको भए मलाइ माफ गरिदिनुहोला । मित्र मन्थरक र हिरण्यकलाई पनि मेरो अन्तिम नमस्कार भनिदिनुहोला । चित्रा·को मार्मिक वचन सुनेर हौसला दिदै लघुपत्तनकले भन्यो–मित्र, हामी छँदाछँदै तपाईं यसरी आत्तिनुपर्दैन । म मित्र हिरण्यकलाई अहिले नै डाकेर ल्याउने छु । उनले पासोको डोरी कोतरेर तपाईलाइ मुक्त गरिदिनेछन् । यस प्रकारले चित्रा·लाई आश्वस्त पारेर लघुपत्तनक हिरण्यक र मन्थरक छेउ फर्की आएर चित्रा· मृग शिकारीको पासोमा फसेको कुरा सुनाएर पासोको डोरी काट्न हिरण्यक मुसोलाई आफ्नो पिठियूँमा बोकेर तत्काल चित्रा· पासोमा फसेको ठाउमा आइपुग्यो । त्यहाँ आएर हिरण्यकले पासोको डोरी आफ्नो तिखो दाँतले काट्न थाल्यो ।
यसैबेला मित्रको दु:खले दु:खित भएर मन्थरक कछुवा पनि विस्तारै त्यहाँ आइपुग्यो । कछुवालाई देखेर लघुपत्तनकले हिरण्यकसित भन्यो–मित्र, यो त ठीक भएन । हिरण्यकले भन्यो–के शिकारी आइ रहेको छ ? लघुपत्तनकले भन्यो–शिकारी आउने कुरा छाडिदेऊ । यो मन्थरक पनि विस्तारै यही आइरहेको छ । यो उसले धेरै अनुचित काम गरिरहेको छ । अब यसैको कारण हामी जम्मैजना मारिने छौं । यदि यसै बेला शिकारी आयो भने म त आकाशमा उडेर भाग्न सक्छु, तिमी कुनै दुलोभित्र छिरेर ज्यान जोगाउन सक्छौ, मृग पनि द्रुत गतिमा भागेर वनभित्र पसेर ज्यान जोगाउला तर पानीभित्र बस्ने यो कछुवा जमिनमाथि घस्रेर कसरी ज्यान जोगाउन सक्ला र ? लघुपत्तनकको कुरा सुनेर मन्थरकले भन्यो–हे मित्र, मित्रको आपत्तिरूपी अग्निको ज्वाला सहन गर्न न सकेर म यहाँ आइ पुगें । ती मित्रहरू यस्ता कुरा गर्दै थिए यतिकैमा धनुषमाथि काँण चढाएर शिकारी पनि आइपुग्यो । शिकारीलाई देख्ने बित्तिकै हिरण्यकले चित्रा·को पासोको डोरी काटिदियो । पासो छिनिने बित्तिकै चित्रा· दगुरेर वनभित्र भाग्यो । लघुपत्तनक उडेर अग्लो रूखको हाँगामाथि गएर बस्यो तथा हिरण्यक दुलोभित्र छिर्यो । मृगलाई वनभित्र भागेको देखेर खिन्न मन शिकारी फर्कंदै थियो ।
यतिकैमा जमीनमाथि घस्रेर हिडिरहेको कछुवालाई देखेर मनमनै खुशी हुँदै शिकारीले विचार गर्यो–यद्यपि विधाताले मृगलाई मेरो हातबाट खोसे पनि मेरो आहाराको लागि यस कछुवालाई पठाइदियो । आज यसै कछुवाको मासुले आफ्नो जहान परिवारको छाक टार्नुपर्ला । उपर्युक्त कुरा मनमा विचार गरेर शिकारीले त्यस जिउँदै कछुवालाई डोरीले बाँधेर धनुषको टुप्पोमा झुन्ड्याएर घरतर्फ लाग्यो । यो देखेर जम्मै मित्रहरू दु:खले रुन थाले । अन्त्यमा हिरण्यक मुसोले साथीहरूलाई हौसला दिंदै भन्यो–मित्रहरू व्यर्थमा रुनु ठीक होइन, बरु मित्र मन्थरकलाई शिकारीबाट बचाउन कुनै उपाय गरौं । हिरण्यकको कुरा सुनेर लघुपत्तनकले भन्यो–यदि यसो हो भने तपाईंहरूले मैले भनेको कुरा ध्यानपूर्वक सुनेर त्यही अनुसार गर्नुपर्छ । चित्रा· शिकारीको बाटोमा गएर मरेको झैं गरेर लम्पसार पर्यो । म त्यसको टाउकोमाथि बसेर आफ्नो चुच्चोले ठुङ्न थाल्नेछु । त्यो देखेर शिकारीले मृग मरिसकेको ठानी कछुवालाई भुइँमा राखिदिनेछ तथा मृगलाई प्राप्त गर्न उतातिर जानेछ । यसै समयमा हिरण्यकले गएर कछुवाको बन्धन काटिदिनेछ र ऊ त्यहींको पोखरीको पानीभित्र भाग्नेछ । अनि नजिक आउँदै गरेको शिकारीलाई देखेर चित्रा· मृग उफ्रेर वनमा भाग्नेछ । म उडेर अग्लो रूखको हाँगामाथि बस्नेछु । यस प्रकारले हामी जम्मै मित्रहरूको ज्यान जोगिने छ । बरु छिटो गरौं, यसको तत्काल क्रियान्वयन गरिहाल्नुपर्दछ ।
लघुपत्तनकको उपायलाई तत्कालै कार्य रूप दिइयो । मृग शिकारीको बाटोमा पोखरीको डिलमा गएर मरेतुल्य भएर लम्पसार पर्यो, लघुपत्तनक त्यस मृगको टाउकोमा बसेर चुच्चोले ठुङ्न थाल्यो । त्यो देखेर शिकारी मनमनै खुशी भएर सोच्न थाल्यो–हेर, यो मृग आफ्नो आयु शेष भएको कारण कुनै उपायले पासोबाट उम्कन सफल त भयो तर अत्यधिक घाइते भएको हुनाले यस पोखरीको डिलमा आएर मरेछ । काग उसको टाउकोमाथि बसेर चुच्चोले ठु·ी पनि रहेको छ । यो कछुवा त मसित छँदैछ, यस मृगलाई पनि घर लग्नुपर्छ । यति भनेर कछुवालाई भुइँमा राखेर शिकारी मृगतिर हानियो । यो देखेर हिरण्यकले गएर कछुवाको बन्धनको डोरी काटिदियो । काग उडेर रूखमाथि गयो । शिकारी आफूतिर आएको देखेर बुल्र्लुक उफ्रेर वनभित्र भाग्यो ।
आफ्नो लोभमा पछुतो मान्दै दु:खित शिकारी घर फर्केपछि चारैजना मित्र फेरि एक ठाउँमा भेला भएर सुखपूर्वक जीवन बिताउन थाले । त्यसैले भनिएको छ–
यो मित्राणि करोत्यत्र न कौटिल्येन वत्र्तते ।
तै: समं न पराभीतिं संप्राप्नोति कथञ्चन ।।
अर्थात् जसले धेरै मित्र बनाउँछ र मित्रका साथ कपट भाव राख्दैन त्यो मित्रहरूको सहायताले शत्रुहरूद्वारा कहिले पनि तिरस्कृत वा पराजित हुँदैन ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)