लघुकथा : लीला

~यकिना अगाध~

नयाँ अफिसमा सरुवा हुनासाथै हाकिमले अफिस सिङगार्यो । रंगरोगन, पुराना फर्निचर तथा सामानहरुको मर्मत सम्भार र नयाँ खरिद गरायो । बगैंचामा विभिन्न प्रजातिका फूलका नयाँ नयाँ गमलाहरु थपे ।

कसैले उच्च ओहदामा उजुरी हाल्यो । जाँचबुझ आयोग बन्यो र छानबीन गरी वास्तविक सत्यतथ्य बाहिर ल्यायो ।

स्टोरकिपर, हाकिमका आसेपासे सबैसँग गोप्य सूचना संकलन गरियो । अफिसमा जडित सीसी क्यामेराको फुटेज हेरियो । सबै प्रमाण जुटेपछि त्यहाँ कार्यरत एक सोझा पियन जेल चलान गरियो ।

आफूमाथि लागेको आरोप झुठो साबत भएको खुशीयालीमा हाकिमले त्यो रात जाँचबुझ आयोगका अधिकारी, आफन्तजन तथा शुभचिन्तकहरुलाई रात्रीभोजको आयोजना गरी भव्य स्वागत गरे । बैठक कोठा र आँगन अफिसबाट हराएको भनिएको तिनै अमूल्य सरसामान र रंगिबिरंगि फूलका नयाँ नयाँ गमलाहरुले सजिसजाउ थियो ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.