~एकु घिमिरे~
वि.सं. २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह भव्य रूपले मनाउने गरी सरकारी स्तरमै एउटा राष्ट्रिय समिति बनाएको रहेछ । त्यस समितिको कोशी अञ्चल अध्यक्षमा विराटनगरका कवि दाजु विवश पोख्रेल हुनुहुँदो रहेछ । सोही कार्यक्रमको एक अंश सङ्खुवासभामा पनि गर्ने गरी बनाइएका उपसमितिका सचिवमा मेरो नाम मनोनीत भएछ । म सो कार्यक्रमको सचिव भए पनि समितिका अध्यक्ष साहित्यकार दाजु ताराबहादुर बुढाथोकीसँग कार्यक्रमकै अघिल्लो दिनमात्र भेट भयो । फोन सम्पर्क चाहिँ थियो । चर्चित कार्यक्रमका विशिष्ट अतिथि बनेर भाषाविद् प्रा. डा. टङ्कप्रसाद न्यौपाने पनि जेठ २३ गते खाँदवारी पुगेका थिए । जेठ २४ गते बिहान पाँच नबजिकन न्यौपानेले सवैलाई उठाए र डुल्न जाऊँ भने । सबैलाई नयाँ ठाउँमा आएकाले यताउता हेर्ने रहर थियो । डा. न्यौपाने त बजारका घर घरमा मान्छेको नाम नै तोकेर बोलाउँदै, भलाकुसारी गर्दै हिँड्न थाले । सबैले उनी आएर बोलाएकामा आभार ब्यक्त गरे । एक एक मान्छेको नाम धरी याद हुनु अचम्म लाग्यो सबैलाई । त्यसभन्दा अचम्म चाहिँ त्यस आत्मीयताको लाग्यो किनभने डा. न्यौपाने टी. यु. को बाह्य परीक्षक भएर एकपटक खाँदबारी आएर करिब एक महिना बस्दा कमाएको मित्रता रहेछ यो । त्यो पनि आज होइन करिब अठार वर्षअघि । त्यति बेला यिनको सर्वसाधारणदेखि माथिल्ला स्तरसम्मकासँग समान र अटुट मित्रता राख्नसक्ने क्षमता बारे कतै न कतै केही त लेख्नैपर्छ भन्ने विचार आयो । भोलिपल्ट उनकै नेतृत्वमा दिङ्ला गइयो । त्यहाँ पनि उस्तै छ चिनजान र भलाकुसारी । उनको संवाद यस्तो हुन्थ्यो :
नमस्कार, फलानो (नाम नै तोकेर ) हैन ? कति बुढा भएछौ हौ, फलानो छोराको बिहे भयो ? फलानी छोरीले कति बच्चा पाइसकी ?
ए , तँ त फलानी होइनस् ? (अधबैंसे महिलालाई एक्कासि तँभन्दा हामी सुन्नेलाई खल्लो लाग्थ्यो तर भनिमाग्ने खुसी हुन्थे ।) के गर्छेस् ? पढाइ कहाँ पुर्याएर थन्क्याइस् ?
……………..
यी र यस्ता आश्चर्यजनक व्यवहारका साथमा पिण्डेश्वर पढेका, पिण्डेश्वरमै बढेका, भाषाका जोगी, भोलेनाथ जस्तै भुक्तभोगी, झड्ङ झड्ङ रिसाइहाल्ने र एकैछिनमा खुसी हुने यिनका बानीलाई मैले मनमनै आशुतोषका नामले सम्मान गर्ने गरेको छु । न्यौपानेसँग मैले लिएको अन्तर्वार्ता यसअघि जनमुखी साहित्यकार दाजु अनिल पौडेलले गरिमामा पनि प्रकाशित गरिदिनुभएको थियो । गरिमाको अन्तर्वार्ता राम्रै लागेर होला यस अभिनन्दन ग्रन्थमा पनि मलाई यो विशिष्ट मौका दिनुहुने यो ग्रन्थ प्रकाशन समितिका सम्पूर्ण सदस्य र दाजु अनिल पौडेललाई धेरै धेरै धन्यवाद दिन्छु । सङ्खुवासभाको चैनपुरमा कुवाको भ्यागुतो बनेर जागिर खाने मैले चराजस्तो जतासुकै कुदिहिँड्ने प्रा.डा. टङ्कप्रसाद न्यौपानेको समग्रता समेट्ने अन्तवार्ता लिने जिम्मा लिएँ र प्रयास पनि गरेँ । पढेपछि यहाँलाई जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिएर मेरा भुलहरू सुधार्ने मौका दिनुहोला । आउनुस् सँगै बसौँ प्रा. डा. न्यौपानेसँग । अहिले उहाँ र म मात्र छौं ।
सधैँभरि कार्यक्रमहरूमै व्यस्त देखिनुहुन्छ, कति बेला लेख्नुहुन्छ ?
म त बाहिर हुँदा नै हो लेख्ने हुँ । एक्लै हुँदा नै हो चिन्तन गर्ने । घरमा आएपछि लेख्ने वातावरण छैन । जति लेखेँ घरबाहिर नै लेखेँ ।
एक्लै बस्नुपर्दा अप्ठ्यारो हुँदैन ?
अप्ठ्यारो पनि छ । चिया, तातोपानी दिने कोही हुँदैनन् । मलाई ग्याँस चलाउन पनि आउँदैन ।
खाने कुरा चाहिँ के मन पर्छ ?
मलाई खाने कुरामा सोख छैन । भरसक घरमा खाने, होटलमा भात नखाने, अनावश्यक खर्च नगर्ने मेरो मान्यता छ । खानै पर्दा मोमो, चाउचाउ जे मन लाग्यो खान्छु । कैयौं दिन त भुजिया चिउरामात्र खाएरै पनि बसेको छु ।
तपाईंका काम हेर्दा नाम कम चलेजस्तो लाग्छ ?
म काममा विश्वास गर्छु, मैले गरेका काम राम्रा र सर्वहितकारी रहेछन् भने पछि मूल्याङ्कन होला र नाम पनि चर्चामा आउला । आएकै पनि छ, भइहाल्यो नि ।
यो अभिनन्दन ग्रन्थ कस्तो होस् जस्तो लाग्छ ?
सुरुमा त मलाई यो प्रस्ताव सुन्दा सारै लज्जा महसुस भएको थियो । म सामान्य ब्यक्तिको अभिनन्दन ग्रन्थ ननिकालौँ पनि भनें तर यति बेला तपाईँजस्ता थुप्रै सर्जक, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार, सामाजिक अगुवा र सर्वसाधारणको यस ग्रन्थप्रतिको उत्साह देख्दा म पनि सकारात्मक भएको छु । यो ग्रन्थ मेरो प्रतिबिम्ब बनोस् । यसमा मेरो गुणगान मात्र नआओस्, समग्रता आओस् । म जस्तो हो त्यस्तै बनोस्, भजनमाला नहोस् । अरूले यो पढेर मलाई छर्लङ्ग चिनुन् अनि म यो पढेर सुध्रन पाऊँ र भाषा–साहित्यका लागि थप योगदान गर्न सकूँ ।
के गर्ने धोको अब ?
नेपालेली भाषासाहित्यको सेवा र विकास गर्ने धोको छ ।
थुप्रै त गरिसक्नु भएन र ?
म अझै गर्नसक्थेँ तर………….।
तर भन्नुभयो त ? घरपरिवारको सहयोग भएन, हो ?
परिवारिक त नभनौँ तर घरवालीको चाहिँ यो भाषा-साहित्यको र मेरा समग्र कामहरूमा पटक्कै सहयोग र समर्थन पाउन सकिनँ । उनले यस्ता कुरा पटक्कै बुझिनन्, पैसाको कुरा मात्र बुझ्छिन् । कहाँसम्म भने सम्मानमा ओढाइएका खदाले झुल टाङ्छिन् । खै के भनौं ?
किन नि त्यस्तो ?
मेरी श्रीमतीजीका मस्तिष्कमा उनी कलिलै हुँदा मप्रति घृणा भर्ने काम गरिएछ, त्यसैले होला ।
कसले किन भरिदिएछ त्यस्तो घृणा ?
मेरो विवाह वि.सं. २०२८ मा पण्डित छविलाल पोख्रेलकी नातिनीसँग भयो । त्यस बेला पंण्डित छविलाल र उनका छोराहरू (मेरा ससुरा खलक ) प्रजातन्त्रवादी तर आमा र सानीमाहरू मण्डले । म पनि मण्डले विरोधी । विवाह हुनसाथ म जेल परिहालेँ अनि त्यस बालमस्तिष्कमा के के भरे होलान् मण्डले गिरोहले ? घृणाबाहेक मप्रति उनका दिमागभरि केही राखेनछन् त्यस बेला ।
बिहे गर्नसाथ तपाईँ के कारणले जेल पर्नुभयो ?
वि.सं. २०२७ सालमा वी.पी. कोइरालाले बनारसबाट सशस्त्र क्रान्तिको आह्वान गर्नुभयो । म त्यस बेला पूर्वको प्रख्यात काङ्ग्रेस थिएँ र बालिका स्कुल धरानमा पढाउँथेँ । वी. पी. को आन्दोलनको समर्थन तथा प्रचारका लागि पर्चा लेख्नुपर्ने भयो । पर्चाको भाषा के लेख्ने भन्ने जिम्मा म र राजेश्वर आचार्य (पूर्व राजदूत)ले पायौं । पछि फार्बेसगन्जमा बस्ने नेता भीमबहादुर तामाङ लगायतले मैले लेखेको पर्चाको बेहोरा मन पराएर छानेछन् र छापेछन् । लगत्तै पर्चा धरान लगायत पूर्वभरि छरियो । प्रशासनले यो पत्ता लगायो र मलाई पक्रियो । राज्यविप्लव सम्बन्धी मुद्दामा दोषी ठहर्यााएर जेलमा हाल्यो ।
सुरुमै जेलमै लगे ? कति बस्नुभयो ?
पहिला एक्काइस दिनसम्म धरानका हिरासतमा राखे । त्यसपछि अञ्चलाधीशका अध्यक्षतामा गठित विशेष अदालतले दुई वर्ष कैद र दुई हजार जरिवाना तोक्यो । पछि यो फैसलाविरुद्ध पार्टीका साथीहरूले सर्वोच्चमा मुद्दा दायर गरे, पार्टीकै अधिवक्ता दमननाथ ढुङ्गानाले वकालत गरिदिए । एक वर्ष एघार महिना जेलमात्र बसे पुग्ने र जरिवाना नलाग्ने भनेर फैसला गरिदियो सर्वाेच्चले । यसैबापत २०४७मा प्रजातन्त्रका पुन:स्थापनापछि मैले राजनैतिक पीडितका रूपमा ३०,०००।– पनि पाएको छु ।
(मित्रहरू, अब एकै छिन एउटा छोटो कथा पढौ ।)
बीचको कथा–१
वि.सं. २००५ को माघ ६ गते धनकुटा जिल्लाको चुङमाङ गा.वि.स. वार्ड नं.–३ को एक न्यौपाने परिवारमा छोरो जन्मिएको ठूलो खुसियाली छायो । श्रीमती हर्कमाया र श्रीमान् हरिप्रसादलाई ठूलै युद्ध जितेको जस्तै भिएर गाउँले बधाइहरूको ओइरो लाग्यो । न्यौपाने खलकमात्र हैन हर्कमायाका माइती धनकुटा डुम्रे सान्नेका बरालहरू पनि दङ्ग परे । हर्कमायालाई कालो पुवा लिएर भेट्न आउनेहरूको लामै लर्को लाग्यो । सिङ्गो चुङमाङ मक्ख पर्यो । त्यस खुसीको डाह गर्यो दैवले र सुत्केरी भएको ६ महिना बित्न नपाउँदै हर्कमाया परलोक गइन् । चुङमाङ थर्काएर एकोहोरो शङ्ख बज्यो र त्यस शङ्खभन्दा चर्का स्वरमा रोयो त्यो अभागी बालक । त्यो अबोध बालक आमाको मृत्यु बुझेर हैन दूधको तिर्सनाले त्यसरी रोएको थियो । त्यसैले छिमेकी मावलपट्टिकी हजुर आमा पर्ने मायादेवी दाहालले आºनो छोरो सूर्यको भाग कटाएर हरिप्रसादका छोरालाई दूध चुसाइन् । बालकको रुवाइ बन्द भयो । गाउँमा गह्रौं शान्ति छायो अनि हरिप्रसादकामा चाहिँ मुर्दा शान्ति । घर ओडारजस्तै लाग्यो होला हरिप्रसादलाई । आइरहिन् होली हर्कमाया झझल्को बनेर । बिचरा हरिप्रसाद सपनीमा हर्कमायालाई देख्थे होला, बिउँझादा टुहुरो बालक । दिनभरि कामले थाकेका हरि यसो झकाउन लाग्दा रुन्थ्यो होला बालक र गाउँथे होला विरहको लोरी ।
हरिप्रसाद चुङमाङकै दह्रा बलिया ब्यक्तिमा गनिन्थे । अंशबण्डामा परेको दुई हल गोरुले जोतिसक्ने बारीमा अन्नपात उब्जाउने, धरानबाट भारी बोकेर कमाउने आदि गरेर सानो परिवारको गर्जो टार्थे । अब सानो नानी हुर्काउँदै बारीको सबै काम भ्याउनुपर्ने समस्याले हरिप्रसादलाई थिच्यो । कहिले ढाडमा नानी बोक्दै कोदोबारी खने भने कहिले पिठ्युँमा गलबन्दीले बाँधेर मकै गोडे हरिप्रसादले । नानी अब अलिक ठूलो भयो र चकचक गर्न थाल्यो । खुसी हुँदा हर्कमायाकै मुस्कानले हाँस्न थाल्यो । एकातिर चकचकले हैरान बनेका हरिप्रसादलाई बालकका मुस्कानले थप सतायो होला तर उनी अझै हेर्न चाहन्थे हर्कमायाको जस्तो मुस्कान, त्यसैले बालकलाई सकेसम्म खुसी राखे ।
हर्कमायाले संसार छाडेका केही महिनापछि छिमेकमा ठूलो विवाह रहेछ । हरिप्रसादलाई अलि अलि ज्वरो आएको थियो । बलिया बाङ्गा हरिप्रसादलाई ज्वरोले के रोक्थ्यो, छिमेकमा गएर खुब काम सघाएछन् । रातभर श्लोक अनि जुहारी चलेछ । रमझममा चिसो रात पत्तै नपाई बितेछ । हरिप्रसादको ज्वरो टाइफाइडमा बदलिएछ । उनी अन्तिम भए । गाउँलेले मिलेर अन्त्येदान समेत गरिदिए । अब हरिप्रसादलाई सबैले माया मारे । टुहुरो बालक अनाथ हुने आशङ्काले सबै दु:खी भए तर हरिप्रसाद क्रमश: जाती भए । उनको पहिलाको शक्ति चाहिँ टाइफाइडले नै लग्यो । शरीर पूरै लुलो र खुट्टाहरू राम्ररी नचल्ने भए । सबैले लङ्गडे न्यौपाने भन्न थाले । न्यौपानेका घरमा अर्को पहिरो गयो । आखिर जीवन त धान्नु नै पथ्र्याे । उनी सकी नसकी लड्दैपड्दै बारी खन्दै गए, कोदो र मकै छर्दै गए, मातृवियुक्त बालकलाई हुकाउादै गए तर कतिन्जेल थाम्नु ? कहिले जेठा दाजु त कहिले कान्छा भाइका शरणमा पुगे खान । अब खेतीपाती र बलका काम कथा भए तर पनि मान्छेले बााच्नु नै पर्ने । यो जिजीविषा सबै प्राणीमा हुादो रहेछ ।
सानो गाउँमा मागेर जीविका चलाउन गाह्रो भयो । अब चुङमाङ बसेर खाने मेलो हरायो । त्यतिन्जेलमा बालकले आºना कुप्रा मावली हजुरबा जसलाई दानाबारी गुरु भनिन्थ्यो, सँग धुलौटोमा घिमिरेका घरमा साँवा अक्षर सिकिसकेका रहेछन् । धरान त झरे तर बस्ने कहाा ? खाने कसरी ? हरिप्रसाद टुहुरा छोराका साथमा आश्रय खोज्दै गाउाकै जमिनदार धरान – ४ मा घर भएका पुष्पलाल घिमिरेका आश्रयमा पुगेछन् । दयालु घिमिरे परिवारका सहयोगमा त्यहीं बस्दै खाादै गर्न थालेछन् तर सधैं त सम्भव भएन नि अर्काको खाएर बस्नु । हरिप्रसाद धरान झरेर आब्रह्मणो… मन्त्रोच्चारणसहित पाती पढेर माग्दै हिंड्न थाले । संयोग यस्तै पर्यो । बालक न्यौपाने पनि बुवासँग साथ लाग्थे रे । न्यौपाने भन्दैछन्, “बुवासँग एउटा कित्ली थियो । मानिसले दिएका अन्न, सागसब्जी त्यसैमा हाल्नुहुन्थ्यो । कित्ली र बुवा दुवै उस्तै लाग्थे मलाई । कित्ली सुरुमा कति राम्रो थियो होला तर यतिखेर अर्धानो थियो, कुच्चिएको र बोकेर हिंड्दा खल्टङ खल्टङ बज्ने । बुवाको पनि त कथा यस्तै हो । मेरा मनमा अझै पनि त्यस कित्लीको फोटो छ । ” (न्यौपाने यो प्रसङ्ग सुनाइरहँदा रोएछन् । म उनको उत्तर टिप्नमै व्यस्त थिएँ । अलिक अड्किएर बोलेको थाहा पाएर यसो उनीतिर हेरेँ । उनका सेतै फुलेका दाह्रीमा मैले कुलो बगेको देखेँ, त्यसैले प्रसङ्ग बदलें हत्तपत्त ।) ।
⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪
सधैं त्यसरी जीविका चलिरह्यो त ?
कहाँ चल्नु ? त्यसपछि बुवा पिण्डेश्वर मन्दिरमा बस्न थाल्नुभयो । त्यस बेला जोगी, लुलालङ्गडालाई सरकारले हण्डी दिन्थ्यो । बुवा त्यही खानुहुन्थ्यो । म चाहिं मन्दिरमा चढाइएको एक बटुको भातको भोग खान्थें । सानो जिउडालको मान्छे, एक बटुकाले पुगिहाल्थ्यो ।
त्यसरी नै खाइरहनुभयो त ? कसैले विरोध गरेनन् ?
अहा, कसैले विरोध गरेनन् । पुजारी पं. दुर्गाप्रसाद पोखरेल ( सान्दाइ) ले दिएपछि कसले हुन्न भन्ने र ? सबैले मायादया गरेकै हुन् ।
(केही महिनापछि त्यहींका छात्र कुलप्रसाद अधिकारी र गुरु बलभद्र आचार्यका दवाबले प्रधानाचार्य पण्डित छविलाल पोख्रेलले गाह्रो मान्दा मान्दै पनि तत्कालीन पिण्डेश्र संस्कृत महाविद्यालयमा भर्ना गरिदिएछन् । त्यति बेलाका तिनै बालक प्रा.डा. टङ्कप्रसाद न्यौपानेको यति बेला अभिनन्दन ग्रन्थ निकाल्ने उद्देश्यले मैले फेरि पनि केही जिज्ञासा राखें ।)
अनि तपाईँलाई दूध चुसाएर जीवन दान दिने आमाको यति बेला के छ हालखबर ?
आमा त मभन्दा पनि तगडा हुनुहुँदो रहेछ एकुजी ! अस्ति भर्खरै पनि भेट्न गएँ । छयासी वर्षकी हुनुभएछ । पेवा भैंसी पालेर, आफैं घाँस काटेर, आफैं दुहुनुहुँदो रहेछ । यसपटक भेट्न जाँदा पनि “ पहिले मेरो दूध खाइस्, अब मैले पालेको भैसीको दूध खा” भन्दै उहाँका परिश्रमले आएको भैंसीको दूध खुवाउनुभयो । उहाँहरू यति बेला झापाको भाइ सूर्यसागै जुरोपानीमा बस्नुहुन्छ ।
(आमाको कुरा आएपछि न्यौपानेका अनुहारमा कार्तिकको बिहान मकालुमा देखिने मुस्कान टल्कियो । एकपटक न्यौपाने धरानको लक्ष्मीचौकभन्दा अलिक तल बाँस्तोलाका घरमा डेरा गरी बस्थे । म मेरो पहिलो कृतिको भूमिका लेखाउने क्रममा उनको वासस्थान गएँ । उनका कोठाका ढोकामा बुद्धको मूर्ति रहेछ । मैले फेसबुकमा राख्ने भनेर बुद्धका छेउमा फोटो खिच्न उनलाई आग्रह गरेँ । उनले खुसी हुँदै फोटो खिचाए र भने “ म बुद्धको शान्ति खोज्ने महादेवको जस्तो बानी भएको मान्छे हुँ । यही लेखिदिनू ।” यति बेला मलाई पनि यिनी आशुतोष नै रहेछन् जस्तो लाग्यो, फेरि कुरा अघि बढाएँ ।)
अनि तपाईग दूध चुस्ने भाइ सूर्यको चाहिँ के रहेछ हल्लीचल्ली ?
ठीकै छ, उनी पनि जुरोपानी झापाका चर्चित काङ्ग्रेसी नेता रहेछन् यति बेला ।
हैन, त्यो बेला मायादेवीका दूधमा नै काङ्ग्रेसी चेतना रहेछ कि क्या हो ?
(धेरैबेर हाँसे न्यौपाने । मैले फेरि सम्झिएँ यी आशुतोष हुन् भन्ने ) त्यो संयोगमात्र हो एकुजी ! म काङ्ग्रेस भएर जेल परेँ, काङ्ग्रेस भएकै कारण जागिर गयो तर यति बेला म स्वतन्त्र हुँ, नेपालेली भाषा –साहित्यको सेवक हुन चाहने मान्छे हुा । त्यही कारण त तपाइँहरू यो अभिनन्दन ग्रन्थ निकाल्न यसरी लाग्नुभएको छ नि, हैन र ? काङ्ग्रेस भएकाले त यसो गर्नुभएको हैन होला ? काङ्ग्रेसलाई त यसकै पार्टीले गर्ने हो नि ।
अनि आमसँग भेट्दा उहाँले के भन्नुभयो नि ?
भेट्न जाँदा खुसी हुनुहुन्छ । आफ्नो स्तनपान गरेर बाँचेको टुहुरो यसरी ठूलो मान्छे भएको देख्दा खुसी लाग्छ रे उहाँलाई । म नाथे ठूलो मान्छे भएँ भन्ने हल्ला आमासम्म कसैले पुर्याइदिएको रहेछ । त्यसैले भन्नु पनि भयो “ ओहो, ठूलो मान्छे भइछस्, खुसी लाग्यो । मेरो दूध पोसिलो नै रहेछ ।”
अनि तपाइँ काङ्ग्रेस भएरै जागिर गयो त ?
गयो नि त । एक वर्ष एघार महिना जेल बसेर फर्किएपछि त्यस जेल अवधिलाई तत्कालीन सञ्चालक समितिका अध्यक्ष जगदीश नेपालीले बेतलबी विदा मिलाइदिनुभएको रहेछ । फेरि म पहिले जस्तै पढाउन थालें । २०३०मा नयाँ शिक्षा सुरु भएपछि अरु सबैलाई नयाा नियुक्ति दिइयो तर मलाई चाहिँ जिल्ला शिक्षा समितिले राज्यविप्लव सम्बन्धी मुद्दामा दोषी ठहरिएकाले पुन: नियुक्ति दिन नमिल्ने निर्णय गर्यो । के अचम्म लाग्यो भने मलाई नियुक्ति दिइनुहुन्न भनेर वकालत गर्ने त मेरै सानीमासासू कमला न्यौपाने र मलाई ज्वाइा भन्ने तत्कालीन जिल्लापञ्चायतका सभापति अम्बिकाप्रसाद श्रेष्ठ पो रहेछन् । अम्बिकाप्रसाद श्रेष्ठले मेरी सासूका हातको टीका सानै उमेरदेखि दिदी मानेर लगाउँदै आएका रहेछन् । अनौठो त के भयो भने आफ्ना भनिएका कमला न्यौपाने र अम्बिकाप्रसाद श्रेष्ठ चाहिं मेरा विरुद्धमा तर कम्युनिस्टका निकट भनिएका सूर्यप्रसाद उपाध्याय चाहिं मेरा पक्षमा । आखिर शक्तिले नै जित्यो । मैले पुन: नियुत्ति: पाइन । यसरी राज्यविप्लव गरेको भन्ने त काङ्ग्रेसको आन्दोलन सफल पार्न लेखेको पर्चा न कारण बन्यो अनि काङ्ग्रेस भएकैले भएन यो सब ?
(न्यौपानेले त्यो बेला लेखेको पर्चा मैले धेरै खोजेँ । त्यो बेला राजनीति गर्ने सकेसम्म धेरैसँग सोधेँ तर फेला परेन । यो भेट्ने प्रयास गर्नु तपाईँ–हामी सबैको एउटा जिम्मेवारी हो भन्ने मलाई लागेको छ । पर्चा नपाएपछि अको भेटमा यसरी कुरा अघि बढाएँ )
हैन, तपाईँलाई जेल हाल्ने पर्चा कहीँ कतै पाइएन त, के थियो त्यसमा, याद छ ?
पर्चामा के थियो भन्ने सबै त याद छैन तर केही अझै सम्झना छ । त्यसको शीर्षक थियो निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सशस्त्र क्रान्ति गर्न सम्पूर्ण जनता एक होऔं । यसका भित्री बेहोराहरू यस्ता थिए :
(न्यौपाने बसेको ठाउँबाट जुरुक्क उठे र क्रन्तिकारी नेताले ठूलो जनसागरलाई सम्बोधन गरेझैँ थर्काएर पर्चाको बेहोरा सुनाउन थाले । न्यौपाने बसेका घरका मानिसहरु पनि न्यौपाने चर्किएर कराएको सुन्न गेटमा आएछन् । बिस्तारै भनेको भए पनि हुने जस्तो लाग्यो तर फेरि सम्झिएँ आशुतोषका मन्दिरमा छु ।)
‘‘ किसानहरू हो, धानका बम फलाऊ
कामीहरू हो, हतियारमा साँध लगाऊ
मजदुरहरू हो आरा र गैंती बोकी हिँड…।”
साथीहरूले त्यो पर्चा दिउँसै बाँडेछन् धरानमा । हरिहर दाहाल र विश्वराज भण्डारीहरू तत्कालै पक्राउ परे । म पन्ध्र दिनसम्म विजयपुरकै डेरामा लुकेँ तर बाहिरका सूचनाबाट म वञ्चित भएँ । पन्ध्र दिन भइसकेको थियो लुकेको । एक दिन स्कुल गएँ । स्कुलबाट घर फर्कने बेला साथीका करले छाताचौक जाने हुँदा म पक्राउ परिहालेँ । त्यसपछि मलाई प्रहरीको गाडी रसियन जिपमा राखेर विजयपुरको डेराघर ल्याए अनि सबै खानतलासी गरे । उनकै कोटेसन लेखिएको वी.पी. कोइरालाको फोटो र ‘महेन्द्र राजाका एक सय आठ गल्ती’ भन्ने पुस्तिका बरामद गरे । त्यही प्रमाण विशेष अदालतलाई काफी भयो ।
जेलमा त्यत्रो लामो समय के गर्नुभयो नि ?
जेलमा मैले एम.ए. को अध्ययन पूरा गर्ने मौका पाएँ । बिहे गरेको तीन महिनामै जेल परेका कारण र घरजग्गा केही नभएकाले श्रीमतीको माया लागिरह्यो कहाा बस्ली अनि के खाली भनेर । त्यसैले ‘प्रेयसीलाई चिठी’ भन्ने खण्डकाव्य पनि लेखेँ तर त्यसमा प्रेमका कुराभन्दा क्रान्तिका कुरा बढी थिए, नेपालको पौराणिक ऐतिहासिक सन्दर्भ थियो । बङ्गलादेश बन्दै थियो । आन्दोलनमा बङ्गाली महिलाहरु पनि हामिएका थिए । यो सन्दर्भ पनि त्यस काव्यमा थियो । अझै केही हरफ आउँछ :
ती बङ्गाली युवतीहरुका शक्ति औ शान हेर
अस्ताएका किरणहरु हे आज लौ फेरि ब्युँझ ।
अनि जेल जीवन कस्तो रह्यो त ?
अञ्चलाधीशका अध्यक्षतामा गठित विशेष अदालतले दुई वर्ष जेल र दुईहजार जरिवाना तोकेपछि मलाई विराटनगर जेलमा राखियो । पछि त्यहाँबाट नेल र हतकडीसहित राति राति बसमा चढाउँदै, दिनमा कतै एकान्त जङ्गलमा राख्दै काठमाडौँ लगियो र केन्दी्रय जेलमा हुलियो । त्यहाँ कृष्णप्रसाद भट्टराई, रामराजाप्रसाद सिंह, अर्जुननरसिंह के.सी.जस्ता नेताहरू पनि रहेछन् । जेलले मेरो राजनीतिमा अझ मलजल हाल्यो । आत्मविश्वास थपियो, देशप्रतिको जिम्मेवारी समेत बोध गरायो । उनीहरूसागका मित्रतामा वृद्धि भयो ।
जेलको रमाइलो घटना केही छ ?
थुप्रै छन् नि, ती सबैभन्दा सम्झना आइरहने एउटा यहाँ सुनाउँछु । मेरा नाममा स्विटजरलैन्डबाट एउटा पत्र आयो । सबैले मानव अधिकारसाग सम्बन्थ राख्ने एम्नेस्टी इन्टनरनेसनलको होला भन्ने अड्कल काट्यौँ । खोलेर हेर्दा अर्कै, त्यहाा एम्नेस्टीको छाप थिएन । कुनै मिस एभेलिन कोनिङ भन्नेको हस्ताक्षर रहेछ । कुनै विदेशी केटीले लेखेकी रहिछन् । सुखदु:खबारे चासो राखेकी रहिछन् । म अङ्ग्रेजी कम जान्ने अनि मैले त्यो पत्र कृष्णप्रसाद भट्राईज्यूलाई पढ्न दिएा । उहााले अथ्र्याइदिनुभयो र अङ्ग्रेजीमा सुधार गर्न द राइजिङ नेपालको एडिटोरियल सधैं पढेर सुनाउन भन्नुभयो । मैले त्यसो गर्दै गएा । यसपछि म न्युजविक भन्ने पत्रिका पनि बुझ्नसक्ने भएको थिएा ।
अनि ?
अनि ती केटीसँग पत्राचार हुँदै गयो । सधैं म किसनजीलाई बेलुका बेलुका मेरा खण्डकाव्यका कविताहरू सुनाउँथें । उहाँको ठट्टा गर्ने बानी । वाह ! वाह !! भनेर हौसला दिनुहुन्थ्यो । म थप्दै जान्थें । यस्ता रमाइला सन्दर्भहरू छन् ।
पछि त्यस केटीले मैले लेखेको ‘प्रेयसीलाई चिठी’ भन्ने खण्डकाव्य अङ्ग्रेजीमा उल्था गरेर छाप्ने भन्ने प्रस्ताव पनि थियो र जेलबाट छुटेपछिको पत्राचार ठेगाना पनि मागिएको थियो । जेलबाट छुटेपछि म आफ्नै व्यवस्थापनमा लागेँ । त्यो पत्र पनि हराएछ । त्यो पत्रलेखन र मित्रता त्यहीँ सकियो तर यति बेला ती मित्र को थिइन् होला ? मैले मित्रतालाई निरंन्तरता दिएको भए के हुन्यो होला आदि प्रश्नहरू उर्लिरहन्छन् ।
तपाईं पक्राउ परेर जेल गएपछि श्रीमतीजी चाहिं कहाा बस्नुभयो ?
कहाँ बस्नु र ? माइत गई तर आमा र दाजुहरुले त्यहाँ पनि आश्रय दिएनछन् । त्यस्तालाई दिने तिनै हजुरबासँग बस्न जा भनेछन् अनि ऊ हजुरबाको खेती भएको ठाउँ दुलारीको फिमरामा गइछ ।
अनि बालिका स्कुलमा पढाउँदा पढाउँदै प्रेम गरेर त्यहीँकी विद्यार्थीसँग विवाह गर्नुभएछ, होइन त ?
हैट ! कहाँ त्यस्तो हुनु ? मैले यसअघि पनि भनेँ नि पंण्डित छविलाल पोख्रेलले मलाई पढाइमा ठूलै सहयोग गर्नुभएको थियो । सहयोगी, त्यसमाथि आफ्नै गुरुप्रति म कृतज्ञ र आज्ञाकारी थिएँ । हरेक वर्ष दशैँमा म उहाँकामा टीका लगाउन जान्थें । बिहे गर्ने बेला मलाई नसोधी नगर्नू भनिरहनुहुन्थ्यो । एकप्रकार दशैंको उनले दिने आशिष नै यही हुन्थ्यो । पछि आफ्नी नातिनीसँग बिहे गर्न प्रस्ताव आएको हो । उनलाई मैले कक्षा नौमा पढाएको त हुँ तर तपाईँले भनेजस्तो प्रेमस्रेम चलेको चाहिँ होइन । मलाई प्रेम भनेकै के हो भन्ने थाहा नै थिएन ।
अनि गुरुले प्रस्ताव गर्नासाथ तपाईँ राजी हुनुभयो त ?
सुरुमा त घरजग्गा केही नजोडेको मान्छे । मैले बिहे अस्वीकार गरें कहाँ राख्ने भनेर तर चार खुट्टा भएपछिमात्र घर बन्छ भन्नुभएपछि मैले बुवालाई सोध्नुपर्छ भनेँ । पिण्डेश्वर मन्दिरमैं बसी खाइरहनुभएका बुवाले त्यो कुरा सुन्नासाथ त्यस्ता उच्च कुलघरानकी छोरी बुहारी बनेर आउने भन्ने कुरा सजिलै स्विकार्नुभएछ । हमीजस्ता तन्नम, मागेर जीविका चलाउने परिवारका केटालाई पंण्डित छविलालले आफ्नी नातिनीको हात दिनुले त्यस बेलाको सानो धरानमा ठूलै हल्ला र चर्चा पाएको थियो ।
अनि बिहे कसरी गर्नुभयो, राम्रै तामझामका साथ कि मन्दिरमा ?
बिहे त ठीकैसँग गरियो तर बिहेखर्चको कुरा चाहिं अचम्मको भयो ।
कसरी अचम्म ?
म सञ्चय गर्न नजान्ने मान्छे परें । त्यसमाथि बिहे गर्ने कुरै थिएन । तसर्थ पैसा पनि थिएन । मेरो लोकेन्द्रप्रसाद आचार्यसँग राम्रै सम्बन्ध थियो । उहाँ क्याम्पसको प्रिन्सिपल भएर पनि सामान्य हुनुहुन्थ्यो । मैले बिहे गर्ने कुरा गरें । उहाँ ले छक्क पर्दै सोध्नुभयो, “ अरे, पण्डित छविलालले तिमीलाई नातिनी कसरी दिएछन् त ?” “ खै, दिनुभयो ? ” मैले भनें, “तर सर पैसै छैन, कसरी गर्ने हो ? ” लोकेन्द्र सरले कमेजका गोजीमा यसो हात हाल्नुभयो र “ लौ, लैजाऊ, पछि तिर्नू ” भन्दै पाँच सयको नोट हातमा थमाइदिनुभयो । त्यस बेला सुन प्रति तोला २८०।– थियो । सुनको समस्या समाधान भयो । कपडा पुरानो बजारका व्यापारी मित्र ध्रुव श्रेष्ठसित उधारोमा मागें । एउटा जीप, बाजा र सानो भोजका लागि बुवासँग रहेछ । यसरी बिहे टर्यो । अचम्म हैन त ?
अनि घर नभएका मान्छेले कहाँ लगेर भित्र्याउनुभयो नि बेहुली ?
म त्यस बेला बालिका स्कुलमा पढाउँथे र अहिलेका आचार्य लाइनका एक घरमा डेरा गरेर बस्दथें । बिहे गर्ने भनेपछि म सान्दाजु भनेर चिनिएका विजयपुरवासीका घरमा सरें र त्यहीँ भित्र्याइयो । अहिले पनि त्यो बूढो थोत्रे घर छँदै छ ।
किन दिएछन् त गुरुले तपाईँजस्ता आर्थिक विचल्ली भएकालाई आफ्नी नातिनी ?
पंण्डित छविलालले मेरो पनि र उनकी नातिनीको पनि भविष्य देखिसक्नुभएको रहेछ । उहाँकी नातिनी दु:ख नदेखेकी फुर्मासी स्वभावकी रहिछन् । म पढाइको तेज । यत्तिका जाँगरिला र मेधावी केटाले मेरी अल्छे नातिनी पाल्छ भनेर दिनुभएछ होला ।
अनि तपाईँकी श्रीमती अल्छे हुनुहुन्छ र ?
हैन, उनले कहिल्यै दु:ख नै देखेकी भोगेकी थिइनन्, छैनन् पनि ! काम नै गर्नुपर्दैनथ्यो उनका माइतीमा किनभने उनीहरू समृद्ध थिए । अभाव नभएपछि र काम पनि गर्नु नपरेपछि मान्छे अल्छी हुँदैन त ?
त्यसो भए तपाइँको बिहे त अलिक दवाबमा पो भएछ , हैन ?
अलिक मात्र हैन, मेरो विवाह पंण्डित छविलाल पोख्रेलको पूरै दवाबमा हो नि ।
धनीमानीकी छोरीसँग बिहे गरेपछि पाउनुभयो होला नि त थुप्रै दाइजो पनि ?
कुरा राम्रै उठाउनुभयो । अब भन्दा रुखो सुनिन्छ होला एकुजी तर उल्टै मैले पो ससुरालीलाई दिनुपरेको उल्टो कथा छ । छोडिदिउँ होला यस्तो कुरा ।
(फेरि रोए न्यौपाने । यसपटक चर्पी जाने निहुँ पारेर मुख नै धोएर आए आँसु लुकाउन । मलाई पनि यो उल्टो कथा तपाईँसमक्ष ल्याउन मन लाग्यो । धेरै कर गरेपछि मात्र न्यौपानेले यसबारे भने । )
भन्नुपर्यो नि, यो त तपाईँको समग्रताको ग्रन्थ पो हो, हैन र ? ल भन्नुहोस् त्यो उल्टो कथा ।
(आशुतोष न हुन्, हाँसे एकपटक रुन्चे हाँसो र थाले उत्तर दिन ।)
त्यसो भए भन्छु । मेरा वुवाले २०२६–२७ तिर पहाडको आफूले अंशमा पाएको जगा आफ्नै दाजु (बडा बा) लाई रु ३००।– मा र पछि २०१५ सालमा किनेको मुक्ते बारी भनिने जग्गा रु १५००।–मा बेच्नुभयो । बुवाले अरु पाँच सय कतैबाट जम्मा गर्नुभएको रहेछ । दुई हजार रकम भएपछि हाम्रो घडेरी किन्ने कुरा भयो । त्यस बेला धरानको दायाँ बायाँ तर मुख्य ठाउँमा एक हजार प्रतिकट्ठा जमिन पाइन्थ्यो । मैले पंण्डित गुरु छविलाललाई घडेरी किन्ने कुरो सुनाएँ र सोधेँ । मैले हेरेको ठाउँ उहाँलाई मन परेन । अन्त्यमा हालको बालिका स्कुलअघि उनकै कान्छा भाइ डक्टर शिवप्रसादको जग्गा किन्न मलाई उहाँले प्रेरित गर्नुभयो । मैले पनि जमिन हेरेँ र हुन्छ भनी उहाँकै हातमा दुई हजार दाम राखिदिएँ । जग्गा नापेर छुट्याइ पनि दिए तर न त तत्काल पास नै गरिदिए, न कागज गरे । त्यसका दुई–चार महिनापछि २०२८ का असार पन्ध्रमा उनकै नातिनीसँग जीवन जोडिदिएपछि म ढुक्क भएँ । त्यसको लगत्तै म जेल परिहालेँ । त्यसबारे कुरै गर्ने अवसर परेन । नातिनीका नाममा म जेलमै हुँदा पास गरिदिनुभयो होला भन्ने आशा थियो । म जेलबाट छुटेर आएका केही महिनापछि एक दिन पंण्डित छविलाल गुरुले बोलाएर भन्नुभयो,‘कान्छोले जमिन नबेच्ने अरे, दुई हजार पैसा फिर्ता लानू ।’ मैले पैसा फिर्ता लिन्न भनिदिएँ र के पनि भनें भने ‘सुनेंथें, हुनेखानेले छोरीज्वाईंलाई घरजग्गा दिन्छन् रे, मैले चाहिं ससुरालीलाई दान गरें ।’ मैले अत्यन्तै श्रद्धा गरेका गुरुलाई कहिल्यै नराम्रो वचन लगाएको थिइनँ र सोचेको पनि थिइनँ । अहिले उहाँ यस धर्तीमा हुनु पनि हुन्न, यसो नभन्नुपर्थ्यो तर सत्य यही हो । यसै कारणले पनि आर्थिक कुरामा पछि परेको हुँ । के गर्ने ? वाध्यता छ ।
अनि जागिर पनि गएको बेला, पैसाको हर्जा नै नभएर नलिनु भएको कि ?
(न्यौपाने रिसले आगो भए । मेरा यस प्रश्नले आशुतोषलाई साह्रै चित्त दुखेछ क्यारे । मलाई पनि झपारे । पैसा फिर्ता नलिनाको कारण यस्तो बताए । )
साह्रै दु:ख लाग्यो । यत्रा समयपछि आफ्नै मान्छेले जमिन जस्ता कुरामा यस्तो धोका दिँदा साह्रै मन रोयो । अभाव त थियो तर त्यसले भन्दा पनि यो कपटतापूर्ण व्यवहारले धेरै घोच्यो । मैले कसै गरे त्यो पैसा फिर्ता लिइनँ ।
(यो उत्तर उनले आँखाबाट आँसु झार्दै अवरुद्ध गला बल्ल बल्ल खोलेर दिन सके । मेरो पनि आँसुु आउला जस्तो भयो । यो प्रसङ्ग फेरि एकछिनमा कोट्याउने विचार आयो । अब त्यस दिनलाई कुरा सकिएछन् जस्तो पनि लाग्यो तर के सकिन्थ्यो, अर्को प्रसङ्ग आएपछि धाराप्रवाह कुराहरू आइहाले । फेरि लाग्यो न्यौपाने त साँच्चै आशुतोष नै हुन् ।)
अनि घरखर्च कसरी चल्यो त्यसपछि ?
त्यो बेला हालको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार क्याम्पस, धरान ) जनपथमा थियो । म त्यहाँको सहायक प्रशासकमा छानिएर (प्रतिद्वन्द्विता गरेर नि, त्यसै होइन) नियुक्त भएँ र जसोतसो घरखर्च त के भन्नु, डेराखर्च चल्न थाल्यो ।
ससुरालीलाई दिएको दुई हजार चाहिँ गएको गयै भयो ?
(यति बेला फेरि अघिकै प्रसङ्ग कोट्याउँदा चाहि म नकचरो नै हुँ जस्तो लाग्यो तर मैले बुझेका न्यौपाने र दिएको नाम आशुतोषलाई पुष्टि गर्दै उनले सहज उत्तर दिए । )
म केन्द्रीय प्रविधि क्याम्पसको सहायक प्रशासक भएर काम गरिरहेकै बेला यो ठाउँमा (हाल धरान–१४ , विजयपुर स्थित तीनधारे पथ, जहाँ अहिले उनका छोराका नाममा रहेको घरजग्गामा बसेर मैले यो अन्तर्वार्ता लिएँ ) बस्नू भनेर छविलाल गुरुले एक दिन देखाइदिनुभयो, म बाँसको टाटीले बारेर घर बनाई बस्न थालेँ । जेठो छोरो मानस त्यसै घरमा जन्मिएको हो ।
अनि यो जग्गा चाहिँ तपाईँकै नाममा पास गरिदिए त ?
यो मेरा ससुरालीहरूले अपुताली पाएका रहेछन् । नाम चाहिं छविलाल भन्ने रहेछ । पछि मेरी श्रीमतीजीका नाममा क्षतिपूर्तिस्वरूप पास गरिदिए । मेरी श्रीमतीजीलाई पहिलाको दुई हजारका कुरामा जति भने पनि पत्यार नै भएन । यो मैरै माइतीको दाइजो हो भन्ने उनका मनमा आजसम्म छ । मैले यसबारे धेरै स्पष्ट पार्न खोजेँ तर उनकी आमाले भनेकै सत्य ठानिरहेकी छिन् । सासू खलक त मेरा विरोधी नै भइगए, किनभने ती सवै मण्डले भएको कुरा यसअघि नै चर्चा भइसक्यो ।
उसो भए पण्डित छविलाल र ससुरालीप्रति तपाईँको श्रद्धा छैन ?
शिक्षाक्षेत्रमा पं. छविलालले लगाएको गुण म बिर्सन्न । उहाँका सामाजिक सुधारका कार्यहरू पनि राम्रा लाग्छन् । उहाँ विद्यार्थी जीवनमा मलाई सायद काङ्ग्रेसी भएकाले माया पनि गर्नुहुन्थ्यो तर उहाँले गरेको यो आर्थिक पक्षको धोकापूर्ण कार्य र वैवाहिक सम्बन्धको हस्तक्षेपपूर्ण कार्यप्रति मेरो घोर घृणा छ । सासूपक्षले गरेको मण्डले राजनीति र मेरी श्रीमतीका बालमस्तिष्कमा मेरा विरुद्ध भरिएको भ्रामक घृणाप्रति मेरो ठूलो आपत्ति छ । यसले मेरा सबै क्षेत्रमा विष छरेको र थुप्रै उर्वर कार्यमा बाधा पुर्याएको छ, पुर्याइरहने पनि निश्चित छ ।
कसरी ?
हेर्नू न, श्रीमतीजीलाई यो सबै मेरा माइतीले मलाई दाइजो दिएका हुन् भन्ने भ्रम र अहम् छ । आफ्नो भने पुर्ख्यौली जग्गा बेचेर आएको पैसा लगानी भएको ठाउँ । यसैले गर्दा श्रीमतीजीसँग कहिल्यै आर्थिक समझदारी हुन सकेन । यति बेला पनि म घरबारविहीन नै छु भने हुन्छ । श्रीमतीजीले कसैका उक्साहटमा लागेर बेङ्कमा यो घर पनि धितो राख्न लागेकी रहिछन् । बल्ल बल्ल बनाएको घर पनि जाने भयो भन्ने डरले श्रीमतीलाई सम्झाएर छोरालाई अंशबण्डा दिइसकेको हो । यो पनि बहुत कष्टले छोराका नाममा पार्न सकेँ नत्र उनले उहिल्यै बेचिसक्ने खतरा थियो ।
अनि तपाईँकी श्रीमतीले बेचेकै भए पनि त्यसबाट आएको रकम त दुवैको हितमा नै खर्च हुने थिएन र ?
कहाँ हितमा खर्च गर्न जान्नु ? राख्न दिएका पैसा त हुँदैनन् । उनका हातमा पैसा नै अडिंदैन एकुजी ! कसलाई किन बाँड्छिन् ? त्यो रहस्यमय छ । डाक्टरसँग पनि यसबारे सल्लाह गरेँ । यो एक प्रकारको डिप्रेसन हो रे । यस्ता रोगलाई चाहिँ मनिफोबिया भन्दछन् अरे । पैसा मात्र ठूलो देख्ने, पाएपछि सकिहाल्ने । चाहिँदो र आफ्नो काममा हैन, नचाहिँदो अनि अर्काका काममा । रोग नै यस्तै छ । (आशुतोषले खुइय गरे, अनुहार मलिन बनाए अनि पहाडका कुवाजस्तै देखिए उनका आँखा ।)
बीचको कथा–२
वि.सं. २०६३ को हिउँदमा म धरान–१५, बरगाछीमा डेरा गरी बस्थेँ । त्यो घर रेडक्रसकर्मी दाजु वासुदेव गौतमको थियो । हाम्रो कोठाभन्दा पूर्वपट्टिका कोठाहरूमा फरवार्ड भन्ने लघुवित्त बैंकको कार्यालय थियो । कुनै शुक्रबारको दिन म छिट्टै विद्यालयबाट फर्किएर कोठामा केही काम गर्दे थिएँ । लघुवित्तका कार्यालयमा निक्कै भनाभन भएको सुनेँ । एउटा परिचित तर कसको हो भनेर ठम्याउन नसकेको पुरुष स्वर चर्को आवाजमा कराउँदै सुनिन्थ्यो । बहस भनाभनमा नै परिणत भएपछि म पनि त्यता गएँ । त्यो चर्किएर कराउने परिचित स्वर त उनै प्रा.डा. टङ्कप्रसाद न्यौपानेको रहेछ । के भएछ भनी सोधेपछि कुरो छर्लङ्ग भयो । श्रीमती न्यौपानेका जमानतमा एउटी नचिनेकी लाहुरेनीले ऋण लिएर चम्पट ठोकिछिन् । अब त्यो ऋण श्रीमती न्यौपानेले तिर्नुपर्ने परिबन्द परेछ । श्रीमती न्यौपानेले कहाँवाट ल्याएर तिर्नु र आफूले नचलाएको र थाहै नभएको पैसा ? पैसा तिर्न तागेता गर्दै डा. न्यौपानेलाई पत्र गएछ । ‘कहिलेकाहीँ यस्तै परिबन्दमा परिन्छ ’ मात्र के भनेको डा. न्यौपाने मेरो सातो जाने गरी कराए, ‘मैले पहिला नै यो बैंक प्रतिनिधि विजयपुर जाँदा ऋण नदिनू, जमानत पनि नलिनू भनेकै थिएँ । अहिले लगानी नउठेपछि चाहिँ मलाई पत्र काट्ने ? दिने बेला सोधेका थियौ ?’ उनका आँखा अकबरे खुर्सानी पाकेजस्तै भएका थिए । अन्त्यमा डा. न्यौपाने एउटा चेक तिरेर फतफताउँदै बाहिरिए । बैंकवाला पनि धोतिसराको पातजस्तै कामे ।
एक दिन उपप्राध्यापक सागरमणि सुवेदी कौशिकी क्याम्पसमा आफ्नो प्राध्यापन सकेर फर्किने बेलामा एकछिन कार्यालयमा छिरेछन् । त्यहाँ अर्का सहकर्मीले तपाईँका छिमेकीको विज्ञप्ति पढ्नुभयो भन्दै धरानबाट प्रकाशित कुनै दैनिक पत्रिका सुबेदीतर्फ सारिदिएछन् । सुबेदीले यसो पढेको त उनै डा. न्यौपानेले आफ्नी श्रीमतीको तीनपुस्तेसहित फोटो राखेर कुनै पनि संघसंस्था तथा व्यक्तिलाई श्रीमती न्यौपानेलाई ऋण नदिन र दिएमा आफू तिर्न बाध्य नहुने बेहोराको बिज्ञप्ति रहेछ । सुबेदीलाई खटपटी लागेछ । उनी विजयपुरको आफ्नो घरतिर नलागी छाताचौकतर्फ गएछन् । त्यहाँ अर्को प्रति त्यही पत्रिका किनेर फेरि पढेछन् । यस्ता विद्वानले यति साना कुरालाई यसरी सार्वजनिक गरेका होलान् भन्ने सुबेदीलाई लागेछ । पत्रिका हातमै बोकेर यसो के हिंड्दैमा डां न्यौपानेसँग भेट भएछ र संवाद सुरु गरेछन्–
सुवेदी :– (पत्रिका देखाउँदै ) यो के हो ?
न्यौपाने :– जे छ, त्यही हो ।
सुवेदी:– अनि किन यस्तो गर्नुभयो त ?
न्यौपाने:– अति भएर गरेको । केही नलागेर गरेको । तपाईँ एकछिन म भएर सोच्नुहोस् त ।
⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪
(मैले कुराकानीलाई निन्तरता दिन थालें । )
पत्रिकामा त्यसरी विज्ञप्ति छापिएपछि त तिर्नुपरेन होला नि त ?
के नपर्नु ? लाठीमुङ्ग्री लिएर कुण्डलेमुण्डलेहरु आउँछन्, प्रमाण पेस गर्छन् अनि नतिरी धर पाइन्छ ? आजसम्म यस्तो अनौठो ऋण करिब दश लाख तिरिसकेँ मैले ।
तपाईं अलिक अव्यावहारिक भएर घरखर्चमै पो चलाउनुपरेको हो कि ?
होइन नि । घरखर्च छुट्टै दिन्छु । चाहिने सबै ल्याइदिन्छु । भएन, पसलमा उधारो पनि चलाउने खाता छ । यति बेला अति भएपछि काठमाडौँ छोरीकामा पठाइदिएको छु । सबै छोराछोरी आमाको यो बानीदेखि आजित छन् । सोध्नुहोस् उनीहरूलाई पनि । श्रीमतीको यही बानीले म अघि बढ्न सकिनँ एकुजी ! यो सम्झ्यो कि सारै निराश बन्छु ।
(आशुतोष त सोफामा नै डङरङ्ग उत्तानो परेर लडे । दिनभरि जोतेर आएको असारे हलीले जस्तै सुस्केरा हाले । चस्मा खोलेर नजिकैको टेबलमा राखे अनि बुकी फूलघारी जस्तो गालामा आएको आँसु पुछे । उत्तानो परेपछि आासु कोशीले बाटो फेरेझैं कानतिरबाट बग्यो । म पनि चर्पी जाने निहुँले न्यौपानेलाई रुन दिएर एकछिन बाहिर निस्किएँ । अब यसरी कुरो अघि बढाउँछु भन्ने योजना गरी भित्र आउँदा उनी त्यही सोफामा बसेर चस्मा लगाइवरी डायरीमा कुन्नि के टिप्दै थिए । मलाई चाहिँ तलको एक हरफ फुर्यो न्यौपानेकै बारेमा )
बानीका आशुतोष, भाषाका शब्दकोश
बने पनि मदहोस, भाषाविज्ञानका जीवित कोश ।
अनि तपाईजस्ता सबैको आशाको दियाले पनि निराश हुन सुहाउँछ त ? तपाईं त आशा पढाउने र जगाउने प्राध्यापक होइन र ?
खै के भन्नु ? यस्तै छ । सामान्य मान्छे भए यस्तो हुँदा विष खाएर आत्महत्या गथ्र्यो होला, म आशावादी भएकाले रक्सिया भएँ क्यार । यही घटनाले मलाई रक्सीका कुलतमा फसायो । म पढेर डाक्टर भएँ, परेर मद्यपानी ।
(यति बेला चाहिँ उनले लगभग डाको नै छाडे । म पनि भोलि आउँछु भनी बाटो लागेँ । साँझ पर्न लागिसकेको थियो । विजयपुरका गाईभैँसी पाल्ने कृषकहरू धरान बजारमा दूध बेचेर फर्किंदै थिए । मलाई बजार पुग्नु थियो । न्यौपानेका घरदेखि तल तीनधारेमा लुगा धुने र केही नुहाउने एवम् पानी थाप्ने देखिन्थे । पर कोशीमा सूर्य आत्महत्या गर्न तत्पर देखिन्थ्यो । )
⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪
(भोलिपल्ट बिहान चार बजे भेट्ने सल्लाह थियो तर न्यौपाने हाम्रा घरतिर अनि म न्यौपानेका घरतिर फरक फरक बाटो गइएछ । करिब एक बजे भेट जुराइदियो फोन बाजाले । म न्यौपानेकै घरमा पुगेँ । कुराकानी सुरु भयो । )
तपाईँका छोराछोरी चाहिँ कतिजना हुन् ? घर त सुनसान छ, कहाँ बस्छन् ?
मानस, मनीषा र मनोज नामका तीन छोराछोरी हुन् मेरा । जेठो मानस अस्ति भर्खरै डी.भी. परेर सपरिवार अमेरिका गयो । उसका तीन छोराहरू छन् । कान्छो मनोज निक्कै अघिदेखि क्यानाडामा छ । उसकी एक छोरी छे, मेरी नातिनी । छोरी मनीषाको घर काठमाडौँ मगर गाउँमा छ । उसका एक छोरा र एक छोरी छन् । यसरी नातिनातिना पनि आधा दर्जन छन् तर बाह्र छोरा तेह्र नाति……………..भन्ने उखानजस्तो घर रित्तो छ, म बूढो एक्लो छु ।
परिवारमा झट्ट सम्झिनुपर्दा कसको याद आउँछ ?
याद त सबैको उत्तिकै आउँछ तर साउँको भन्दा ब्याजको माया भने झैँ नातिहरूको झझल्को धेरै आउँछ । तिनीहरूमध्ये पनि जेठाको माइलो छोरो एरोनले मलाई खुब दङ्ग्याउँथ्यो, उसले भनेको भएन भने रोएर, रिसाएर हैरान पार्थ्यो । त्यसैले त्यो एरोनको याद निकै आउँछ ।
एरोनको कुनै एउटा ढिपी बताइदिनुहोस् न त ।
उसलाई कुकुर खुब मन पर्ने रहेछ । राम्रो परीक्षा गर्नसके एउटा कुकुरको बच्चो ल्याइदिन्छु भनेको थिएँ । पछि पहाडबाट ल्याइदिएँ पनि । त्यो नल्याइदिएसम्म एरोनले गरेको ढिपी र तर्क याद आइरहन्छ ।
बीचको कथा–३
वि.सं. २०७१ को पौष १० गते सङ्खुवासभाको खाँदवारी अनि पौष ११ गते चैनपुर बजारमा भब्य साहित्यिक कार्यक्रम गरी ‘सङ्खुवासभा साहित्यिक महोत्सव–२०७१’ सम्पन्न गरिए । तीे कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती थिए । त्यही कार्यक्रमका विशिष्ट अतिथि बनेर डा. न्यौपाने पनि सङ्खुवासभा पुगेका थिए । म चैनपुरको आयोजक समितिको सदस्य भएकाले खाँदवारी जान भ्याइना र सकिनँ । पौष ११ गते बिहान छ नबजीकन डा. न्यौपानेले फोन गरे र एउटा कुकुरको बच्चो जसरी पनि खोजिदिनू भने । यता आफू कार्यक्रमको उद्घोषक भएकाले अरु नै झमेलामा थिएँ । करिब ११ बजे डा. न्यौपानेसहित अतिथिहरूको टोली चैनपुर आइपुग्यो । कार्यक्रम सञ्चालन गरिरहेका बेला डा. न्यौपानेले खुसुक्क सोधे : ‘बच्चो पाइयो ?’ मैले एक ठाउँ पत्ता लगाएर माग्न पठाएको छु, देलान्, नदेलान् भनेर ढाँटिदिएँ । करिब ५ बजेमात्र कार्यक्रम सकियो । आफूलाई पाहुना व्यवस्थापनमा खट्नु थियो । डा. न्यौपानेले फेरि बच्चाका बारेमा सोधे । मैले फेरि ढाँटिदिएँ:–‘ त्यहाँ दिएनछन् सर, मैले अर्कातिर खोज्न पठाएको छु ।’ त्यही रात साहित्यकार दाजु अनिल पौडेलले आफ्ना संयोजकत्वमा डा. न्यौपानेको अभिनन्दन ग्रन्थ प्रकाशन समिति बनाएर मलाई समेत समितिको सदस्यमा मनोनीत गरियो । मलाई एकदम असहज भयो किनभने मैले जसलाई दिनभरि पटक पटक ढाँटें, उनैको अभिनन्दन ग्रन्थ प्रकाशन समितिमा म झूट पनि चुनिएँ । ठूला मान्छेलाई ढाँटेकामा मलाई पश्चात्ताप भयो र यही ग्रन्थ तयार गर्दा आफ्नो सम्पूर्ण क्षमता खर्च गरी यो गल्तीको प्रयश्चित्त गर्ने प्रण गरेँ ।
पौष १२ गते बिहानैको गाडीमा डा. न्यौपानेको टोली धरान झर्यो । बसमा चढ्न लाग्दा पनि न्यौपाने बच्चो नपाइएको गुनासो गर्दै थिए । नाथे कुकुरका बच्चाका लागि कति धेरै मरिहत्ते गरेका होला भन्ने पनि लागिरह्यो । करिब तीन बजेतिर डा. न्यौपानेको फोन आयो । उनले मलाई बोल्न नदिइकन आफ्नो कुरा खोलाको पानीजस्तो बगाए:–‘ अजिङ्गरको आहारा दैवले पुर्याउँछ भनेजस्तै भयो एकुजी ! मैले बच्चो पाएँ गाडीमा, उसलाई पढाएको हुँ अरे तर मैले बिर्सिसकेको अधबैँसे केटो नमस्कार गर्दै चढ्यो । कुराकानीका सिलसिलामा साहित्यिक कार्यक्रममा गएर आएको तर आफूलाई चाहिएको एउटा कुकुरको बच्चो नपाएको कुरा उसलाई सुनाएपछि कता फोन गरेर एउटा बच्चो मगाइदियो । हिले आइपुग्दा त्यस केटाका आफन्तले बच्चो हातमै राखिदिए । अब नातिले झन्झट नदिने भयो, मेरो वचन पूरा भयो ।’
⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪
भनेछि तपाई बचनको पक्का मान्छे है ?
म सानोठूलो जसलाई पनि वचन दिएपछि पूरा गर्ने गर्छु र सबैले दिएको वचन पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छु । वचन पूरा नगर्ने त फटाहा नेता मात्र हुन् ।
परिवारका सदस्यमध्ये तपाईंलाई कसले बढी माया गरेजस्तो लाग्छ ?
सबैले माया गरेकै छन् तर कान्छी बुहारी शशी ढकाल (न्यौपाने) ले बढी माया गरिन् कि जस्तो लागेको छ । उनले बुवा विजयपुर उकालो चढ्न सक्नुहुन्न, बजारमैं बस्नुहोस् भनेर घर किन्न खोजेकी थिइन् । मैले त्यो घर मेरा शेषपछि काम लाग्दैन, तिमीहरू क्यानाडाबाट फर्किने होइनौ भनेपछि पनि ६ धुर जग्गा किनिदिएकी छिन् ।
त्यसो भए पैसामा किनिने रहेछ माया ?
होइन, एउटा उदाहरण दिएको मात्र हुँ ।
परिवारका सदस्यमध्ये तपाईं चाहिं कसको बढी माया गर्नुहुन्छ ?
सबैको गरेकै छु तर पनि छोरी मनीषाको बढी माया लाग्छ । अर्काका घरमा जानुपर्ने परम्पराले पनि होला । आर्थिक दृष्टिले पनि ऊ कमजोर छे ।
मनपर्ने एउटा गीत गाउनुहोस् त ।
‘सय थरी बाजा एउटै ताल…।’
अर्को पनि गाउनुहोस् त ।
‘ फूलको आँखामा…।’
ककसले लेखेका हुन् यी गीतहरू, थाहा छ ?
दुवै दुर्गालाल श्रेष्ठले लेखेका हुन् ।
कविता के हो ?
कल्पना, भावना, बिम्ब, दर्शन र चिन्तन भएको एउटा खँदिलो रचना नै कविता हो ।
अनि गीत ?
कविता गाए गीत हुन्छ ।
साहित्य नि ?
मनलाई आल्हादित तुल्याउने रचना नै साहित्य हो ।
तपाईले सबैभन्दा धेरैपटक गुनगुनाएको गीत ?
‘न आदमीका कोही भरोसा
न दोस्तीका कोई ठिकाना…।’
(न्यौपानेलाई यो गीतको स्थायी ,अन्तरा सबै याद रहेछ । एक अन्तरा गाएपछि जबरजस्ती रोक्नुपर्यो । द्रुत गतिमा कुदिरहेको ठूलो मालबाहक ट्रकलाई अकस्मात् ब्रेक लगाएर रोक्न कठिन भएजस्तै न्यौपानेको गीत रोक्न गाह्रो भयो । भावनात्मक कुरामा पनि न्युटनको चाल सम्बन्धी पहिलो नियमले काम गरेको देखेर म तीन छक परेँ ।)
हैन, गीतमा त चुर्लुम्मै पो डुब्नुभयो त ? यस्ता गीत र सङ्गीतलाई माध्यम बनाएर भएको कुनै रमाइलो क्षण सुनाइदिनुहोस् त ।
गीत र सङ्गीत भनेकै डुबाउने नै हुन्छन्, हुनुपर्छ पनि भन्छु । पञ्चायत कालको पहिलो दशकमा धरानमा मण्डलेहरूको र बहुदल पक्ष (काङ्ग्रेस र कम्युनिस्ट) का छुट्टाछुट्टै साँस्कृतिक संस्था थिए । म बहुदल पक्षधरहरूको मञ्चको राम्रो नर्तक पनि थिएँ । प्राय: सरिता राई नामकी कलाकारसँग नाचिन्थ्यो र नाच्दै विराटनगरसम्म पनि पुगियो । त्यो बेला नाचेको लोकगीत अझै याद आउँछ :
‘घुमाइामा घुमाइा घुम बन्ने दाजै
लौ लौ हजुर देख्दछु सपनी…..।’
(यहाँ पनि न्युटनको चालसम्बन्धी पहिलो नियमको कडा सामना गर्नुपर्यो न्यौपानेलाई रोक्न । )
ए, डा. न्यौपाने त नर्तक पनि रहेछन् है ?
हे नि । मैले उपेन्द्र पागलसँग मिलेर नृत्य पनि सिकाएँ कुनै बेला इनरुवामा त कुनै बेला धरानमा । कहिले केटीको भेष बदलेर ‘नाकैमा फूली चाहिँदैन….’ भन्ने गीतमा पनि नाचेँ । मित्र चन्द्रमणि अधिकारीसँग तिहारको देउसीमा एक महिना युगल नृत्य गरेँ, त्यो बेला अधिकारी केटीका भेषमा थिए । त्यसबाट संकलित रकमले हामीले पिण्डेश्वरमा संस्कृत छात्र पुस्तकालयमा सिलाइ मेसिन किन्यौं ।
अरु पनि प्रतिभा होलान् नि तपाईँका ?
वि.सं. २०३२ मा मैले भैरहवाबाट क्याम्पस पढाउन सुरु गरेँ । भैरवहामा ‘भीमसेनको अन्त्य’ भन्ने नाटक मञ्चन गरियो । मैले नाटकको मुख्य पात्र भीमसेनको अभिनय गरेँ । सबैको स्याबासी पनि पाएँ ।
तपाईँ होचो मान्छे, भीमसेनको अभिनय गर्न कसरी सुहायो त ?
सुन्नुहोस् एकुजी ! तपाई पनि कवि, गजलकार, साहित्यकार । साहित्यका सबै विधामध्ये नाटक, त्यसमा पनि अभिनेय नाटक विशिष्ट विधा हो । अरु विधामा साहित्यकारले लेखे पुग्छ तर नाटक संगठनमा आश्रित विधा हो । यसमा पाठरचनाभन्दा पनि अरुहरूको सहयोग र कलाको आवश्यकता पर्दछ । ध्वनि, प्रकाश, पहिरन, मञ्चसज्जा अनेक कुराहरूले गर्दा नाटकको सफलता वा राम्रोपन निर्भर हुन्छ । विशेष किसिमको पहिरन र सजावटले गर्दा त्यस बेला मेरो अभिनय राम्रो भएको रहेछ ।
यस्ता गीत, सङ्गीत र अभिनयले के के दिए नि ?
पहिलो कुरा त मानसिक शान्ति दिए, मन आल्हादित बन्यो । स्वस्थ मनोरञ्जनले मस्तिष्कलाई उर्वर बनाउाछ । मेरा मस्तिष्कलाई यस्तो बनाउन विद्यार्थी जीवनका अतिरिक्त क्रियाकलापले निकै भूमिकाको निर्वाह गरेका छन् भन्ने ठान्दछु । यस्ता कार्यक्रमबाट उठेका रकमले राम्रै कामहरू गरिए त्यस बेला । बि. सं २०४३ मा गोर्खा क्याम्पस प्रमुख भएर पुग्दा त्यहाँको भौतिक संरचना जीर्ण देखेपछि म क्याम्पस प्रमुख भए पनि आफै पनि हारमोनियम बजाएर नाचगान गर्दै घर–घर गएर रकम सङ्कलन गरियो र उठेका पैसाले ऊ बेला डोजर मगाएर घडेरी खारीकन भवन बनाउने अभियान सफल पारेँ । यस्ता ठूला ठूला काम गर्ने शक्ति हुन्छ कलामा ।
यी बाहेक अन्य प्रतिभा त छुटेनन् नि तपाईँका ?
म राम्रो फुटबल खेलाडी भएको कुरा त तपाईँले मेरो गरिमाको अन्तर्वार्तामा पनि राख्नुभएकै छ । पिण्डेश्वर क्याम्पसमा पढ्दा म फुटबल खेल्दै धेरै ठाउँ पुगे र क्याम्पसलाई अपेक्षित जीत पनि दिलाएँ । म फुटबलको फरवार्ड खेलाडी हुन्थें र गोलहरू गर्थेँ ।
फुटबल खेल्दा त धेरै गोल गर्नुभएछ, जीवनमा चाहिँ कत्तिको गोल गरेँ भन्ने लाग्छ ?
म तल्लो वर्गको मान्छे । मागेर समेत जीविका चलाएको पहिल्यै कुरा आइसक्यो । सम्पन्न बन्ने मेरो सपना थिएन र छैन पनि तर मैले आफ्नो ठाउँबाट जे जति गर्न सकेँ, म यसलाई गोलको वर्षा नै गरेँ भन्ने ठान्छु एकुजी ! म असफल भएको छैन । पैसा भन्ने कुराको सीमा हुादैन र यसले सन्तुष्टि पनि दिंदैन । म आफ्नो पुरानो धरातल हेर्छु र मास्तिर चढ्न खोज्छु । जहाा पुगिन्छ त्यही हो मेरो ठाउँ ।
यस्ता सफलताका कडी के हुन् ?
ममाथि भएका अन्याय र दुव्र्यवहारलाई मैले गुरु बनाउने गर्नुले यी सफलता प्राप्त भए जस्तो लाग्छ । अन्यायीहरूलाई देखाउन म इखालु बनेर लाग्ने गर्दा मलाई सफलताहरू मिलेका हुन् । म अन्यायमा परेर कहिल्यै लतक्क परेर बसिनँ । अरुले पनि यसबाट सिक्नुपर्छ । भनिन्छ पनि असफलता नै सफलताको कडी हो ।
यसका केही प्रमाण मतलब उदाहरण पाउँ न त ।
जेल हाले, मैले एम. ए. पास गरेँ । खण्डकाव्य लेखेँ । राजनीतिका शिखर पुरुषहरूसँग उठबस गर्न पाएँ । जेलमुक्त भएपछि मण्डलेहरूले स्कुलको जागिरमा पस्न दिएनन्, म केन्द्रीय प्रविधि क्याम्पस ( हाल हात्तीसार क्याम्पस) को प्रशासक भएर देखाइदिएँ । हात्तीसार क्याम्पसमा तत्कालीन डिन परासर नारायण सुवाललाई राष्ट्रपुकार भन्ने पत्रिकामार्फत भ्रष्टाचारको अभियोग लगाएँ भनेर म गहलत्याइएँ, क्याम्पस प्राध्यापनमा प्रवेश गर्न पाएँ । यी प्रमाणले पुष्टि भएन त अघिको मेरो कुरा ?
त्यसपछि पनि अरु केही यस्तै उदाहरण छ कि ?
प्राज्ञिक क्षेत्रमा पनि गोल नै गरेँ । मेरो पिएच.डी. को अनुसन्धान पनि ठूलो विवादपछि मात्र स्वीकृत भएको हो । त्यस बेलासम्म नेपालेली भाषालाई नैपाली नै मान्ने चलन थिएन । भाषाविज्ञान विभाग भरखरै खुलेको थियो । यसले विद्यावारिधि गराउन सुरु गरेकै थिएन । त्यसैले नेपाली विभागबाट गर्नुपर्थ्यो । विभागले राई भाषामा गर्न पाइन्न, नेपालीमै गर्नुपर्छ भन्यो । मैले नेपाली भनेको माध्यम भाषा हो । जुन भाषामा लेखिन्छ त्यो त्यही हुन्छ भनेर म डटेँ, खटेँ र अनुसन्धान पूरा गरेरै छोडेँ । पछि नेपाली ब्याकरणको मनपरी अदलबदलका विरुद्ध म लागेँ । अरु धेरै चूप बसे । मेरो विरोध अभियानमा धेरैले साथ दिइरहेका छन् ।
उसो भए तपाईँको पारिवारिक दृष्टिले चाहिँ गोल नभएको हो ?
पारिवारिक दृष्टिले त झन ह्याट्रिक नै गरेँ जस्तो लाग्छ एकुजी ! म जस्ता निम्न वर्गका सन्तान यति बेला अमेरिका, क्यानाडामा छन् । खान, लाउन, बस्न र डुल्न हर्जा छैन । छोरी पनि काठमाडौँमा सुखसँग जीवनयापन गरिरहेकी छिन् । ज्वाँइ वाल्मीकि क्याम्पसका सहलेखा नियन्त्रक हुनुहुन्छ । दुई बुहारीहरू पनि राम्रा भेट्टिए । आधा दर्जन नातिनातिना सबै लायक छन्, अनि भएन त ह्याट्रिक ?
तपाईँलाई भाषाविद् किन भनेका ?
भाषाका बारेमा चासो राखेर सार्वजनिक ठाउँहरूमा चर्केर आवाज उठाउनेमध्येको एक भएकाले त्यो विशेषण प्रयोग गरेका होलान् । म नेपालका सबै भाषा जान्दिन तर जान्ने चासो चाहिं राख्छु, त्यसैले पनि होला ।
भाषाका बारेमा चर्कनुपर्ने के छ र त्यस्तो चर्कनुपर्ने ?
छन् नि थुप्रै कुराहरू । एकातिर थुप्रै नेपालेली भाषाहरू संरक्षणको अभावमा लोप हुने स्थितिमा पुगिसके, यसबारे राज्यको दीगो सोच छैन । अर्कातिर नेपाली ब्याकरणको मनखुसी र जबर्जस्ती परिवर्तन गराइँदै छ जसले तमाम शिक्षक अनि बिद्यार्थीलाई अन्योल सिर्जना गरेको छ । नेपाली भाषाप्रति वितृष्णा पैदा गराउने खेल भएपछि चर्कनु परेन ?
त्यसो भए नेपालेली भाषा–साहित्यको जगेर्नाको लागि के गर्नुपर्ला त ?
विभिन्न कारणले भाषाको लोप हुनु भाषाविज्ञानका दृष्टिवाट सामान्य नै हो तर तिनीहरूको इतिहास राखिनुपर्छ , अभिलेखीकरण गरिनुपर्छ । त्यसको लागि छुट्टै भाषिक आयोग वा एकेडेमी नै चाहिन्छ । यो त योजना हो, कार्य राज्यले गर्नु, गराउनु पर्छ ।
तपाईंका थुप्रै पुस्तकहरू प्रकाशित रहेछन् तर अब नयाँ कृति चाहिँ आउला कि नआउला ?
मैले अझै धेरै गर्न बाँकी छ । समय लाग्छ । नेपाली र किराँती भाषाको तुलनात्मक अध्ययन गरिरहेको छु । यसको प्रतिवेदनस्वरूप कृति निकाल्ने सोच छ । अर्को मानक व्याकरणलाई पुनर्लेखनको आवश्यकता महसुस गरेको छु ।
यी सबै काम मोफसलबाटै संभव छन् ?
काम गर्ने भनेकै मोफसलबाट हो एकुजी ! राजधानीबाट त हल्लामात्र गर्न सकिन्छ । मैले चाहेको भए जागिर उहिल्यै काठमाडौँ सार्न सक्थेँ तर म काम पर्दामात्र काठमाडौँ जान्छु । अब त जागिरबाट पनि अवकाश भयो । मोफसलमै बसेर नेपालेली भाषा साहित्यको सेवा गर्ने हो अब ।
विभिन्न सिलसिलामा तपाईँ विदेशसम्म पनि पुग्नुभयो हैन, कहाँ कहाँ जानुभयो ?
भारत गएको कुरा यहाँ उल्लेख नगरौँ किनभने त्यहाँ जो पनि सजिलै जान सकिने व्यस्था छ । यसलाई विदेश पनि भनिंदैन । यसबाहेक हङकङ र बङ्गलादेशसम्म पुगेँ ।
के के प्रसङ्गमा कहिले कहिले त्यता जानुभयो ?
वि.सं. २०६६ को फाल्गुनमा हङकङ अनि २०७२ को चैत्रमा वङ्गलादेश गएँ । ती दुवै स्थानमा भाषा, साहित्य र दर्शनका कुरा लिएर, त्यस्तै प्रसङ्गमा गएँ ।
कस्तो दर्शन ?
म धरानका देश सुब्बाले उठान गरेको भयवाद अध्ययन केन्द्रको अध्यक्ष हुँ । त्यही भयवादी दर्शनको कुरा थियो । एउटा नेपालीले उठाएका नवीन चिन्तनलाई सहयोग गर्नु हाम्रो प्राज्ञिक कर्तव्य पनि हो ।
के सिकाए त हङ्कङ र बङ्गलादेशले ?
हङकङमा तीन डब्लु (WWW) महत्वपूर्ण रहेछन् । पहिलो डब्ल्यू भनेको काम (Work) मा एक मिनेट पनि ढिलो नगर्ने, कामलाई पूजा ठान्ने चलन रहेछ । दोस्रो डब्ल्यू भनेको मौसाम (Weather) कति बेला कस्तो हुन्छ अनुमान नै गर्न नसकिने र तेस्रो डब्ल्यू भनेको श्रीमती (Wife) जहाँ कानूनमा एउटाकी तर ब्यवहारमा अर्कैकी श्रीमती हुँदा रहेछन् थुप्रै नेपालीहरूको । त्यस्तो त्यहाँको आई. डी. को कारण सिर्जना भएको समस्या रहेछ । त्यहाँको ओसन पार्क राम्रो छ तर त्यो एकातिर कृत्रिम हो भने अर्कातिर हाम्रा नेपालीको समेत श्रममा सिर्जित र जीवित छ । हाम्रो देशमा त यस्ता प्राकृतिक स्रोत नै कति हो कति छन् । श्रम र सीप यहीँ बगाए यतै हङकङ बन्ने रहेछ भन्ने लाग्यो त्यहाँ घुम्दा । यता बङ्गालीहरूबाट चाहिँ उदारता सिक्नलायक ठानें मैले । यति बेला हामी नेपालीहरू विभिन्न झुण्डहरूमा विभाजित छौँ । एक समूहले अर्को समूहको राम्रै कामको पनि विरोध गर्ने परिपाटी चलेको छ तर त्यहाँ भयवादी देश सुब्बाले विभिन्न पश्चिमी एवार्डहरू पाएको सुनेर मक्ख रहेछन् प्राध्यापक तथा बुद्धिजीवीहरू । उनीहरू पूर्वका मान्छेले पश्चिमी एवार्ड पाएकामा आफैँले पाएको अनुभूत गर्दा रहेछन् । यो ठूलो उदारता लाग्यो । त्यहाँ नजरुल इस्लाम (भानुभक्त जस्तै त्यहाँका जातीय कवि ) र टैगोरको पनि उत्तिकै सम्मान गरेको देखियो । यो उदारता यहाँ पनि छरिए हुन्थ्यो भन्ने लाग्यो । मुख्य बजारमा ध्वनि प्रदूषण नहोस् भनेर हर्न निषेध गरिएको रहेछ । बजारका सबै गाडीहरू ग्याासले चल्ने । धेरै सचेतता छिटै वृद्धि भएको देखें । यी कुरा हामीले कहिले पो सिक्ने ?
⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪⧪
(मैले यो तस्वीर कसको हो ? उहाँको अभिनन्दन ग्रन्थ प्रकाशन गरिने भएकाले चिन्नुहुन्छ भने एक हरफमा आफ्ना कुरा लेखिदिनुहोला भनेर सामाजिक सञ्जालमा पनि न्यौपानेको एउटा फोटो राखेको थिएँ । मलाई मन परेका केही उत्तरहरू राख्दैछु ।)
१ ) उनी आर्टिफिसियल एकेडेमिसियनको कोटिङ नपरेका सिम्पल मान्छे हुन् । नहुँदा नहुँदै ज्ञानी गुणी प्राध्यापक–डाक्टर त हुँदै हुन् । नेपालको पूर्वाञ्चलमा परैबाट देखापर्ने चहकिलो साहित्यिक तारा हुन् उनी । स्पष्टवक्ता, इमानदार चिन्तक, भेदभावरहित सोझा सर्जक र समाजका सवै स्तरका मान्छेसँग हेमखेम राख्ने र आºना विद्वत्तामा घमण्ड नगर्ने खरो भाषा चिन्तक हुन् डा. न्यौपाने ।
–कवि तथा पत्रकार राजा पुनियानी, कालेबुङ, भारत
२ ) छन ता कति छन् अरु काव्य अहो
‘अभिनन्दन ग्रन्थ’ पढाइ भयो
अब टङ्क दयापनका विनयी
दिनुहोस् न त काव्य पढौं सजिलै ।
–इन्द्र अधिकारी, इलाम
३ ) केही मौलिक र पृथक् चिन्तन सहित नेपालेली भाषाविज्ञानका क्षेत्रमा क्रियाशील एउटा सामान्य र शालीन व्यक्ति प्रा. डा. न्यौपाने ।
– कवि निमेष निखिल, हेटौंडा
४ ) होचो कदको उच्च व्यक्तित्व ।
– माधव प्रसाद
५ ) भट्ट हेर्दा सामान्य लाग्ने तर नेपाली भाषाको गहिराइमा पुगेर अध्ययन गर्ने एक खरा भाषाविद् हुन् डा. न्यौपाने ।
–मनोज सुवेदी
६ ) दृढता, धैर्य, लगनशीलता र कर्मठ व्यक्ति जो निरन्तर ताकेका गन्तब्यमा लागिरहन सक्ने नीडर मानिस हुन् उनी ।
–उपप्राध्यापक तथा साहित्यकार सरनकुमार राई, धरान
७ ) दृढ, प्राज्ञिक, उत्साहित, लगनशीलताका प्रेरक र अविराम कर्मका प्रतिविम्ब हुन् टङ्क सर ।
–सीता थापा, धरान
८ ) सरल तर अदुभुत विद्वान् टङ्क सर ।
–सविता खतिवडा, धरान
९ ) यी भाषाका जोगी हुन् । उनको धर्म नै नेपालेली भाषाका झोलीहरू बोकेर हिँड्नु हो । जय होस् भाषा र न्यौपानेको ।
–धनजीत पराजुली, डाँगीहाट, मोरङ
१०) उहाँ मेरा बा हुनुहुन्छ । छोराले बढी भन्न मिल्दैन ।
–मानस न्यौपाने, अमेरिका ( डा. न्यौपानेका जेठा छोरा ।)
११ ) विद्वान्हरू अराजक हुन्छन् । डा. न्यौपाने पनि मानक नेपाली लेखनको राजधानी केन्द्रित दादागिरीका विरुद्ध अनवरत लड्दै मोफसलबाट अराजकता पस्केर कहिल्यै नथाक्ने असन्तुष्ट गार्जियन हुन् ।
– उपप्रध्यापक राजेन्द्रप्रसाद पोखरेल, धरान
१२ ) डा. टङ्क न्यौपानेलाई जसले कम चिन्छन् तिनीहरूले सन्की भन्छन् तर चिनिसकेपछि उसले यतिको मान्छे भेटेको थिइन भन्छ । यिनी राष्ट्रले गर्व गर्नलायक व्यक्ति हुन् । सबैलाई सकारात्मक सोच्ने, स्पष्टवक्ता भाषाविद्लाई राष्ट्रले पनि त्यही रूपमा चिनेर कदर गरोस् ।
–नरेन्द्र बस्नेत, रेडियो बेतना ।
१३ ) आठपरिया राई भाषाका शल्यचिकित्सक डा. न्यौपाने कर्मठ, शालीन र जति उमेर ढल्किए पनि सदाबहार देखिने नेपाली भाषा साहित्यका महासागरलाई कसैले आठपरिया न्यौपानेको उपनाम पनि दिन्छन् ।
– नाम किराँत लिपिमा भएकाले बुझिएन ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )