~प्रभात चिसो राई~
तिम्रा पत्रदलहरू
पुतली भमराहरूले नसुमसुम्याए तापनि
तिम्रा परागहरु
मन्द हावाले सुस्तरी नउड़ाए तापनि
तिम्रो सुन्दरताको प्रशंसामा
उच्छ्वासहरु नउठे तापनि
अनि तिमी हुनुको साक्षी
कसैका आँखाहरू नभए तापनि
………..तिमी फुलिरहन्छौ।
जब सारा सृष्टि रातको घुम्टो ओढ़ेर
निदाएको हुन्छ
जब थकित आँखाहरू
निद्रा को गहिराइमा कतै डुबेका हुन्छन्
तिमी त्यो रातको शून्यतामा, अदृश्यतामा
कुनै अज्ञात अभीष्ट लिएर फुलेको हुन्छौ
अनि उज्यालोले आङ तान्नअघि नै
तिम्रो अल्प आयुले मृत्यु अँगालिसकेको हुन्छ।
किन तिमीले यसरी रातको अन्धकारमा
कसैले थाहा नपाई सुटुक्क फुल्न रूचायौ?
तिम्रो रूप, यौवन, सौन्दर्य
कसैका आँखाहरूमा प्रतिबिम्बित हुने
तिमीलाई प्रशंसाको चाहना हुँदैन पारिजात?
कुनै युवतीको चुल्ठोमा सजिइने
कुनै देवताको चरणमा चढ़िइने
तिमीलाई प्रतिष्ठाको लालसा हुँदैन पारिजात?
तिमी हुनु नहुनुदेखि दुनियाँ अनभिज्ञ रहे तापनि
तिमी, बस् रातको एकलोपनमा चुपचाप फुलिरहन्छौ
कारण फुल्न नै तिम्रो धर्म,उद्देश्य हो
त्यसैकारण निस्पट्ट अँध्यारोमा पनि फुलिरहन्छौ।
तिमी कति निःस्वार्थ रहेछौ
कुनै अपेक्षाबिना अँध्यारोमा पनि फुलिरहन्छौ
काश म पनि तिमीजस्तै अपेक्षाहीन
फुल्नसके हुनेथियो, पारिजात
फुल्नसके हुनेथियो।
प्रभात चिसो राई
दार्जीलिङ्ग।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )