~कनकधारा स्वामी स्वदेशानन्द~
छन्द : शार्दूलविक्रीडित
हलोवाच…
बारी खेत म जोत्छु टार र कुना पाखाहरूमा पसी,
गर्मी शीत हिलो झरी सब कुरा बिर्सी गरें उन्नति।
मेरै सिर्जन फूल बाग बगिचा सम्पूर्ण यी सृष्टि हुन्,
मेरै खानु र पाउ मोल्नु अरुका यी लेखनी दुष्ट हुन्।।०१।।
टारी खेत झुलाउने मन हुँदा बाला सुनौला तल,
सुन्तोला बिमिरो लदाउनगई पारें धरा झल्मल।
कोदालो हँसिया कुटे सब जुटे सन्तान मेरा जति,
बाँचे खान्छु र पाल्छु यो सब जगत् तिम्रो छ के उन्नति!।।०२।।
रच्छौ भिन्न कथा र काव्य कविता साहित्य संसारमा,
मेरो सिर्जन पेट भर्छ अरुको तिम्रा वृथा कल्पना।
कोदो धान मकै र फापरहरू खाद्यान्न सिर्जन्छु म,
सिन्की गुन्द्रुक साग सिस्नु रसिला मेरा सबै उद्यम।।०३।।
तिम्रो काव्य सुधा क्षुधा हरणको बन्दैन रे सिर्जन।
पढ्ने मानिस आज यो मुलुकमा गर्दैन उत्पादन।
बाँझा खेत पढालिखा कलमले जोत्दैन कैले पनि,
मेरै तागतबाट फुर्किनगयौ संसारकी लेखनी।।०४।।
लेखन्युवाच…
मेरा मित्र हलो! भयौ व्यथित हा!लेख्दैन केही भनी
स्वार्थी छन् कति लेखनी मुलुकमा मान्दैछु मैले पनि।
लेख्ने काम कदापि छैन सजिलो चाहिन्छ रे दक्षता,
सत्ता लोलुप भाटले मुलुकमा हाम्रो हट्यो श्रेष्ठता।।०५।।
धैरे पीत छ पत्रकार जगती लेख्दैन साँचो कुरा,
छन् सम्पादक बेचिने विषयका सञ्जालका माकुरा।
कल्ले लेख्छ हलो उपेक्षित भयो भोकै छ होला भनी,
जोत्ने गर्छ हलो उपार्जन गरी ठालू भए लेखनी।।०६।।
ठूला भूपति हुन् भनी कलमले लेख्नेगरे पूर्वमा,
नेता हुन् अति सभ्य सज्जन भनी ऐले छ लेख्ने क्रम।
निष्ठा छैन निरीहको विषयमा सम्पत्ति सर्वस्वभो,
पैसाका अघि राल काड्दछ भने त्यो लेखनी तुच्छ हो।।०७।।
प्यारा मित्र हलो! हलीजन मिली बाली लगाईकन
मान्छे जीव र जन्तुको मुख भरे मान्नेभएको छु म।
गोड़ा हात र पाखुरा वदनको पानी चुहाईकन,
सिर्जे धान मकै गहूँ मुलुकमा हुन् कष्टकै जीवन।।०८।।
तिम्रा निम्ति हलो! म लेख्छु अब यो सङ्ग्रामको लेखनी,
स्वार्थी शोषकका समक्ष कहिल्यै झुक्दैन यो लेखनी।
अन्नोत्पादक जीव पोषक हलो! झुक्दै क्षमा माग्छु म,
जोत्ने काम कदापि छैन सजिलो भन्ने कुरा लेख्छु म।।०९।।
विनीत –
कनकधारा स्वामी स्वदेशानन्द
मिति:१७/०१/२०१८
समयः रात्री – ०२ बजेर ४५ मिनेट जाँदा
स्थान सरुपथार, गोलाघाट,असम
Very good and I’m proude. Feel because I have a interest