~सुरेश हाचेकाली~
ओ मांसाहारी देउता!
कहिलेसम्म मागिबस्छौ तिमी भक्तसँग
मुटुकलेजोको प्रसाद
रगतको पञ्चामृत
र मांशपेशीको अपुंगो?
सृष्टिको मिर्मिरेमा
प्रकृतिको भयप्रदायक भंगिमाबाट
आतंकित भएर आदिम मान्छेले
देउताको मानसिक बिम्ब रचेका थिए।
देउता!
अज्ञानी मानवताले कथेको
धेरै कान्छो कविता हौ तिमी
यद्यपि,
आफूभित्र आमसंहार गरेर
प्रश्नका दर्जनौँ लामपुच्छ्रे तारा
सोझा भक्तहरू रुमल्लिएका छन्
चक्रब्यूह चरित्रधारी
तिम्रो नाउँको शव्दब्रह्ममा।
हतियारधारी देउताको नाममा गरिएको
बलिदानको रातो खुनले
कुन जग्गामा कहिले उमार्यो
बोधिबृक्षको हरियो वन
जहाँ निर्भय निदाऊन्
मिर्गिनीका बालसुलभ–उत्ताउला नानीहरू।
अनन्तकालसम्म बाँच्न सक्दैनन्
ती देउता
जसले जित्दैनन् श्रमिकको मन
जसले माग्छन् महँगो आराधना
र, रगतको अभिषेक
जसले अपेक्षा गर्छन्
भोको भक्तबाट महँगो नैवेद्य
र, चाकरीजस्तो गन्हाउने भक्ति।
देउता!
तिमीलाई मेरो शताब्दीदेखि
मेरो जनातिको शताब्दीसम्म
र, त्यो भन्दा पनि धेरै परसम्म बाँच्नु छ भने
भत्काऊ तिमीभित्र गडेको जडसूत्र
फुकाल तिम्रो दुम्सीकाँडे छाला
र, भाँच कोखाभित्रको हिंस्रक दाह्रा
होइन भने,
हामी स्थापित गर्छौं
हाम्रो आस्थाको हिमानी शिरबिन्दूमा
हुण्डरीले नभाँच्ने लचिलो बृक्षजस्तो देउता
र, तिरस्कार गरिदिन्छौँ
तिम्रा मांसाहारी अर्चनाहरू।
अचाक्ली निर्मम चरित्र बोकेर
बक्ररेखा हुँदै हिड्छ इतिहास
जसले चाह्यो भने
सजिलै मेटिदिन सक्छ
मानव खप्परको रिकापी बोकेर हिँड्ने
अघोरी देउता
मिति गुज्रेको सभ्यता
र, असजिलो धर्म।
हिसाब देऊ देउता
कति युगसम्म पियौ तिमीले
जनावर–चिडियाको अर्ग्यानिक रगत
र, अबोलाहरूको आँसुको सर्बत?