कविता : दागबत्ती जो दिन पाइएन

~दिनार रनादी~

दागबत्ती जो दिन पाइएन
विनातारको टेलिफोनमा
बिहानै खबर आयो
बुबा हिजो बित्नु भो
हामीलाई छाडेर
कतै अन्तरध्यान हुनु भो ।

खबर खबर मात्रै थिएन
बज्रको प्रहार थियो
मृत्युको घात थियो
टारेर नटर्ने
यमराजको वात थियो ।

जीवन अनित्य छ
बुद्धलाई सम्झन खोजेँ
न हन्यते हन्यमाने शरीरे
कृष्णलाई बुझ्न खोजेँ
तर मन अड्ने ठाउँ पाइनँ ।

उड्न पखेँटा थिएन
हिँड्न समुद्रको बाधा थियो
तर समयमा पुग्नैपर्ने
जन्मदिने पिताजीको
अन्त्येष्टिको निम्ता थियो
समयलाई रोक्न सकिएन
काललाई छेक्न सकिएन
गन्तव्यमा आइपुग्दा
खरानी भएर पिताजी
बाग्मतीमा बगी सक्नुभएछ
शरीर अनित्य थियो गयो
तर सम्झना नित्य छ
त्यही नित्यको अर्चनामा
श्रद्धाका यी दुई अक्षर
दागबत्ती चढाउँदै छु ।

यो कविता कविका अनुसार मधुपर्कमा “सीमापारि” शिर्षकमा छपिएको छ

(स्रोत : मधुपर्क २०६८ असोज)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.