~दुर्गा कार्की~
जहिल्यै,
तिम्रो न्यानोको लागि
म बलिरहेँ…जलिरहेँ
आगाका राता लप्काहरूले
धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ,
तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो?
म ती ठोक्काइका पीडा सहेर बलिरहेँ…जलिरहेँ,
तिमीले कहिल्यै पनि ‘दुख्यो कि?’ भनेर सोधेनौ!
तिमीले कहिल्यै पनि ‘पुग्यो कि?’ भनेर सोधेनौ!
अगेनाबाट सोहरेर एक मुट्ठी खरानी
जुन दिन तिमीले उपहार दियौ
त्यसै दिन बुझेँ,
बल्नु र जल्नुको भिन्नता
सल्कनु र दन्कनुको भिन्नता
आगो त म हुँ नै
बल्नु मेरो धर्म!
त्यसैले पोको पारेर त्यो एक मुठ्ठी खरानी
संहालेर आगोका झिल्काहरू
म बल्दैछु
अगेनादेखि धेरै पर
जहाँ तिमीले दाउरा ठोस्नु पर्दैन
जहाँ कसैले दाउरा ठोस्नु पर्दैन
यहाँ म जे पनि जलाउन सक्छु
जे पनि डढाउन सक्छु
चाहेँ भने तिमीलाई पनि।
किनकी,
अब म आगो होइन, डँढेलो हुँ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)