~सरिता तिवारी~
हावासँग पनि छ भाषा
कुनै अल्लारे प्रेमीझै
पातका कान फुस्फुसाउँदै गाउँछ
प्रीतिको गीत
र काउकुती लगाएर भाग्छ!
रुखका हाँगाहरू मच्चाउँदै गर्छ
दिशाहरूसँग भद्र अवज्ञा
र हिंड्छ आफैंले ठम्याएको बाटो
बगरको बालुवा रिंगाएर उठाउँछ
धूलाका कणहरूको भीषण भुमरी
बटुल्छ पत्कर र काँसका फूल
सोहोरेर दगुर्छ
प्रकाशको सारा गति!
पृथ्वीको जम्मै वेग!!
यो धर्तीमा
तिमीले सबभन्दा मौन ठानेको
हावाको ओठमा पनि छ
शक्तिशाली भाषा
यो तीन पाउण्डको गिदीभित्र
चूपचाप बसेको विवेकले
ऐन मौकामा
केही सोच्न, केही भन्न इन्कार गर्यो भने
केही बोल्ने, केही लेख्ने सामर्थ्य गुमायो भने
यही हावाले घचेट्दै घचेट्दै
पृथ्वीपारि पुर्याउने छ मलाई
मसँग त
सिङ्गो मानिसको ओठ छ
इतिहासको बर्बर दोख छ
रगत कट्कटिएको चोट छ
यो मौनताको महासागरमा
नबोल्नु पनि घोर हिंसा हो
म हावाका ओठहरूसँग
आवाजको कला सिकेर आउँदैछु
सुन!!
(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)