~शशिधर भण्डारी~
रातो नानी बोकेर बसन्ती
पहरासँग पौठेजोरी खेल्छे
बसन्तीको पसिनामा खेल्ने ठेकेदार
रातभरि भट्टीमा रमाउँछ
जाँडले भिल्लु भएको ठेकेदार
नृशंस, बसन्तकिो वक्षस्थल समाउँछ
निशाश्रित, बसन्तीको प्रतिरोध
छि के गरेको ? भन्ने मात्र हुन्छ
कठै ¤ बसन्तीहरूले खनेको राजमार्गमा
जोखे ड्राइभरले गाडी कुदाउँछ
मुकुन्दे साहुले पैसा कमाउँछ
हस्ते साहुले ताकेकी
बसन्तीको लोग्ने हो बिर्खे
बिर्खेले गारो लगाउँछ
रातो नानी बोकेकी बसन्ती
बगरमा गिट्टी फोर्छे
बिचरा ¤ बसन्ती र बिर्खेको झुप्रे घर
हावा, पानी र हुरीसित डराउँछ
बिर्खे र बसन्तीको पसिनामा खेलेर
हस्ते साहुले महल ठड्याउँछ
रिखे साहुको तीन पुस्ते असामी हो बिर्खे
त्यसैले, रातो नानी बोकेर बसन्ती
बर्खाभरि रिखे साहुको धान रोप्छे
बिर्खेले हलो जोत्छ
साहुका जोरजबर्जस्तीका पीडाहरू भोग्छ
बिर्खे र बसन्तीको रित्तो घर
भोकले हल्लाउँछ
रिखे साहुले बासमती धान भित्राउँछ
ए प्रजातन्त्र ,
किन बसन्तीको अस्मिता जोगिन्न ?
किन बिर्खेको भोक रोकिन्न ?
किन बसन्ती र बिर्खेको घर बन्दैन ?
किन बिर्खे र बसन्तीको खल्ती भरिन्न ?
निरूत्तर छन् यी प्रश्नहरू ¤
किनभने
दृष्टिविहीन छ हाम्रो संसद
दृष्टिविहीन छ हाम्रो सरकार
त्यसैले
हाम्रो संसद र सरकारले
रातो नानी बोकेकी बसन्ती अनि
पिरको भारी बोकेको बिर्खेलाई देख्दैन
२०७१ फागुन ७, कुइरेपानी, दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १४ – Feb. 25, 2015 – २०७१ फागुन १३ गते, बुधबार )