~मोहन बन्जाडे~
अब सबै खुला छ मेरो निम्ति
मन, मस्तिष्क अनि बाटाहरु
अझ म मेरा लागि
उकालो, ओह्रालो वा तेर्पाहें
जुनसुकै बाटो रोज्न सक्षम छु
अझ त्यसमाथि
म नयाँ बाटोको कल्पना गर्न सक्छु
रेखांकन गर्न सक्छु
आफु हिड्ने बाटो आफै बनाउन सक्छु
पूर्वजले बनाएका कैयौं बाटा मध्ये
कुनै बाटो रोज्न सक्छु
मन्दिर वा गुम्वा जाँदा पुगिने बाटो
पानी पँधेरो गर्ने बाटो
ज्ञान खोज्न हिड्ने बाटो
सभ्यता जोगाउन हिडडुल गर्ने बाटो
कुनै डहर, कुनै गोरेटो
कहिले भीरको बाटो
कहिने घाट तर्दै हिड्ने बाटो
कहिले विचारको बाटो
कहिले वादको बाटो
त्यो सबै मैले चाहे बमोजिम हुनुपर्ने थियो
मेरो गन्तव्य सापेक्ष हुनुपर्ने थियो
तर – मेरो बचपनको
मेरो अज्ञानताको
वा मेरो विश्वासको
गलत फाइदा उठाएर
तिमीले तिमी हिड्ने गरेको
वा तिमी भ्रममा परेको
वा बरोबर तिमीले बिराएको बाटो हिड्न
कहिले मलाई कर गर्यौ
कहिले छल गर्यौ
कहिले लालच देखायौ
कहिले बुद्धी भुट्यौ
कहिले शुद्धी लुट्यौ
अब म समयले बयस्क भएको छु
मनले परिपक्व भएको छु
वरपरका दुईचार कुरा बुझ्ने भएको छु
हो , म अब
आफ्नो बाटो खोज्न सक्षम छु
आफ्नो गन्तव्य रोज्न सक्षम छु
म अब घेरो नाघ्न सक्छु
म अचेल सेरोफेरो चिन्न सक्छु
अब “डर” डराई सक्यो मनभित्र
अब ‘कर’ कराई सक्यो मनभित्र
त्यसैले
तिमी यही तक थियौ
तिमीलाई यहीबाट बिदा गरें
आजै अहिल्यै बिदा गरें –
अब बाटाहरुको बीचमा उभिएर
मेरो गन्तव्य तिरका बाटा नछेक
म अब आफू हिड्न
अनन्त बाटाका प्रस्थान विन्दुबाट
आफैले थाहा पाएको बाटा खोज्दैछु
आफ्नै मनले चाहेको बाटो रोज्दैछु |