~विनीता राई~
न त ज्यानको माया न त मनको माया,
जाँदै छु म त्यो पारि वन
घाँसदाउराको निम्तेरी
हँसिया र नाम्लोसँग
डुल्दै छु म त रानीवन ।
हरियाली वन छ, वनैमा किन
मन हुन्छ उदास
न्याउलीको रुवाइ सुनेर हो कि
मन भयो उराठ
भागेझैँ लाग्छ छेउछाउको चरी
उजाड भो यौवन
घाँसदाउरा खोज्दै बित्ने हो कि जीवन ।।
शिरमा नाम्लो कम्मरमा हँसिया,
ढाडैमा डोको छ
फाटेर गयो एकसरो चोली
ज्यान पाल्न गाह्रो छ
क्यै राम्रो लाउने, क्यै मीठो खाने
सपना नै हुनेभो
वन र पाखा धाउँदाधाउँदै
जिन्दगी बित्नेभो
शब्द : विनीता राई
सङ्गीतः राम थापा
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)